इलाम । भारतको पश्चिम बंगाल स्थित दार्जिलिङ्गमा रोजगारी गर्दै आएका नेपाली घर फर्कन समस्या भएको छ । एक सय दिन अघिदेखि चलेको गोर्खाल्याण्ड आन्दोलनका कारण पश्चिम बंगालको दार्जिलिङ्ग, कसार्ङ क्षेत्रमा काम गर्दै आएका ५० हजार बढी नेपाली दशैँमा घर फर्कन नपाएका हुन् । आन्दोलनका कारण रोजगार विहिन भएका नेपाली यातायातका साधन नचलेपछि दशैमा घर फर्कन नसकेका हुन् ।
दशैँको सोह्रसरदा शुरु भएदेखि दार्जिलिङ्ग क्षेत्रमा काम गर्दै आएका नेपाली घर फर्किन शुरु गर्ने भएपनि अहिले पूर्वी नेपालको पशुपतिनगर नाकाबाट आवतजावत पूर्ण बन्द रहेको छ । अघिल्लो वर्ष दशैँ मनाउन पशुपतिनगर नाकाबाट २० हजार बढी नेपाली घर फर्किएपनि दार्जिलिङको बन्दले घर फर्किने नेपाली नभेटिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख सिव कुमार बुडाथोकीले बताउनुभयो ।
नेपालको दोलखा, रामेछाप र नुवाकोट जिल्लाबाट रोजगारीका लागि आएका नेपालीहरु दार्जिलिङका अतिरिक्त, कालेम्पोङ, खरसाङ, मिरिक, रिम्बिक, मानेभञ्ज्याङ, पोखे्रवुङ, डुवर्स, घूम, जोरबंगालोमा भारी बोक्ने, पानी बोक्ने जस्ता काम गर्दै आएका छन् । आन्दोलनका कारण पशुपतिनगर नाका ठप्प भएपछि सीमा क्षेत्रबाट चल्ने लामो दुरीका यातायातका साधन थक्किएका छन् ।