इलाम, ÷ इलामको देउमाई नगरपालिका स्थित मंगलबारेमा सम्पन्न टंकमाया गौतम स्मृति १ नम्बर प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधी झापाका राजन सुवेदीले जितेका छन् ।
उनले पुर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौला लाई पराजित गरेसँगै उपाधि जितेका हुन् । उनले ६ अंक बनाए । त्यस्तै भोजपुरका सुमन राई दोस्रो भए । उनले मोरङ्गका उमेश राईलाई घुँडा टेकाए । जितपछि सुमनको पनि ६ अंक नै भएको थियो । समान अंक भएपनि उनी टाइब्रेकका आधारमा दोस्रो भएका हुन् । राजुसँग पराजित भएका निरौला तेस्रो भए । उनको ५ अंक थियो । त्यस्तै प्रतियोगितामा सुनसरीका हिमाल राई चौथो भए भने समान ५ अंक भएका धनकुटाका सुमन श्रेष्ठ पाँचौं, ४.५ अंक बनाएका मोरङ्गका उमेश राई छैटौं, ४.५ अंक नै बनाएका झापाका प्रकाश नेपाल सातौं,इलामका सुरेन्द्र कुमार राई आठौं, सुनसरीका चुडामणी कुलुङ्ग राई नौ औं तथा भोजपुरका कुबेर राई दश औं भए ।
प्रतियोगितमा बेष्ट देउमाइको उपाधि डा. सुवास अधिकारीले पाए । त्यस्तै बेष्ट इलामको उपाधि याम लिम्बुले हात पारे भने अनरेटेडतर्फको उपाधि ताप्लेजुङ्गका राजकुमार गुरुङ्गले हात पारे । त्यस्तै बेष्ट यु–२० को उपाधि सुनसरीका सुसन आचार्यले जिते । बेष्ट वुमनको उपाधि इलामकी श्रृष्टी पंडितले प्राप्त गर्दा यु–१५ को उपाधी पनि इलामका इमान पंडितले हात पारे ।
उपाधी विजेताले नगद २५ हजार,दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले नगद १० हजार सहित ट्रफी तथा मेडल प्राप्त गरे । त्यस्तै चौथो हुनेले ७ हजार, पाँचौले ५ हजार, छैटौ र सातौंले ३÷३ हजार, आठौ, नौ औं र दश औं ले २÷२ हजार प्राप्त गरे । अन्य विधाका विजेताले जनही २ हजार सहित मेडल प्राप्त गरे ।
विजेताहरुलाई उद्योग बाणिज्य संघ मंगलबारेका अध्यक्ष मात्रिका प्रसाद घिमिरे, नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष विदुर गौतम लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा एक नम्बर प्रदेशका ३२ खेलाडीले सहभागिता जनाएका थिए ।