इलाम, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको नेतृत्वमा पानी जहाज र रेल जसरी भएपनि कुदाएर देखाइ छाडने बताए । मंगोलिया र स्विजरल्यान्ड जस्ता भुपरिवेष्ठित देशले प्रशान्त महासागरमा जहाज कुदाएको उल्लेख गर्दै ओलीले एमालेले नेतृत्व गरेर नेपालले पानी जहाज र रेल कुदाएरै छाडने उदघोष गरे ।
प्रदेश नं १ संगठन कमिटीले इलाममा आयोजना गरेको नेकपा एमालेको तर्फबाट १ नम्वर प्रदेशमा निर्वाचित जनप्रतिनिधीहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै ओलीले नेकपा एमालेसँग प्रतिस्पर्धा गर्ने क्षमता अन्य दलसँग नभएको बताए । उनले भने ‘ अरुसँग स्पष्ट धारणा नभएकाले झुटको सहारा र अल्मल्याने बाहेकको नितिगत प्रतिस्पर्धा गर्ने क्षमता छैन’ ।
नितिगत प्रतिस्पर्धा गर्न नसकेपछि प्रतिपक्षीले एमालेले ल्याएका एजेन्डाहरुको कु–प्रचार गर्दै जनतलाई अलमलमा पार्ने भन्दै निर्वाचित जनप्रतिनिधीलाई संयमित रहन आग्रह गरे । उनले सामाजिक पछयौटेपनका कारण मधेशी समुदाय पछि परेको उल्लेख गरे । ‘संविधानले मधेश र पहाडलाई विभेद गरेको छैन मधेश भौगोलिक रुपमा सहज भएपनि सामाजिक पछयौटेपनका कारण अन्धकारमा छ ’ ओलीले भने ‘ मधेशलाई अन्धकारमा राखेर । मधेशी नेता उल्टो बाटो हिडदैछ जनभावमा फुट ल्याउदैछन’ ।
असोज २ गते हुने तेश्रो चरणको निर्वाचनमा प्रदेश नं २ मा एमालेले स्पष्ट बहुमत ल्याउने उल्लेख गर्दै ओलीले एमाले जनप्रतिनिधीले मात्र मधेशको साक्षरता दर र महिला हिसां अन्त्य गरी मुहार फेर्ने बताए । एमाले चेतनाको ज्योती लिएर आउँछ भन्ने डरका कारण प्रतिपक्षीहरुलाई एमालेको कु–प्रचार गरेको ओलीले आरोप लगाए ।
ओलीले जनता तिव्र विकास चाहेपनि नहतारिकन जनविचारको कदर गर्दै विकासमा अघि बढ्न निर्वाचित जनप्रतिनिधीलाई आग्रह गरे । उनले अवको बाटो शान्तिको भएकाले शान्ति नभइ देशले समृद्धीको बाटो लिन नसक्ने उल्लेख गरे । २५ गतेसम्म संचालन हुने कार्यक्रममा एमाले बरिष्ठ नेता झलनाथ खनाल, महासचिव इश्वर पोखरेल लगायतले प्रशिक्षण दिँदैछन । कार्यक्रममा एमालेबाट निर्वाचित प्रदेश नं १ का ३ सय बढी जनप्रतिनिधीहरुको सहभागीता रहेको छ ।