इलाम यतिखेर चुनावमय भएको छ । करिव २० वर्ष पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा जनता सहि अनि विकासप्रेमीे उम्मेदवार छान्नका लागि लागिपरेका छन् । दलका उम्मेदवार पनि जनताका घरघरमा मत माग्दै हिँडिरहेका छन् । इलाम नगरपालिकामा नेकपा माओवादी केन्द्रले युवा तथा जुझारु उम्मेदवारलाई अघि सारेको छ । केन्द्रले मेयर पदमा छविलाल आचार्य (प्रवास शर्मा) लाई उठाएपछि उनी पनि मत माग्दै जनताको घरघरमा जान थालेका छन् । आगामी असार १४ गते हुन लागेको स्थानिय तहको चुवानकै पेरीफेरीमा रहेर उनै उम्मेदवार शर्मासँग कुराकानी गरेको छ । अबको क्रममा उनै इलाम नगरपालिका माओवादी केन्द्रका उम्मेदवार शर्मासँग गरिएको कुराकानी
प्रश्न नं १ ः इलाम नगरपालिकामा तपाईंको उम्मेदवारी किन ?
प्रवाश ः सिंहदरबारको अधिकार संस्थागत र कार्यान्वयन गर्न इलाम नगरपालिकालाई समृद्ध नगरपालिका बनाउने । विकासका दृष्टिले अब्बल बनाउने अनि सयौ वर्षदेखी पछि परेका क्षेत्रमा अधिकार स्थापना गर्ने । सामुदायिक विद्यालयहरुमा गुणस्तरिय शिक्षा छैन, प्राविधिक साथै आवश्यक्ता अनुसारको शिक्षामा जोड दिइने छ । अस्पताल छ तर विषेशज्ञ डाक्टर छैनन् । विकास निर्माणमा पैसा आउँछ पारदर्शी ढङ्गले कार्यान्वयन छैन । यिनै समस्या समाधान गर्ने मेरो लक्ष छ । इलाम नगरपालिकालाई जसरी बाहिरी मानिसहरुले हेर्छन् त्यसै गरी यसको मुहार फेर्न, साविक इलाम नगरपालिकाको खानेपानी समस्या समाधानमा पहल गर्न र शिक्षा, स्वास्थ्य, सञ्चार र
विद्युत समस्या समाधान गर्दै राज्यबाट उपलब्ध सेवा सुविधा योजनावद्ध ढङ्गले अघि बढाउनु नैं मेरो उम्मेदवारी हो ।
प्रश्न नं २ ः इलाम नगरपालिकामा अन्य दलका उम्मेदवार पनि बलिया मानिन्छन्, के
छन् त तपाईंका जित्ने आधारहरु ?
प्रवास ः वि.सं.२००७ साल वरिपरिबाट नेपाली जनताले परिवर्तन चाहेका थिए तर नेपाली कांग्रेस र एमालेको नेतृत्वले दिन सकेनन् त्यसैले वि.सं.२०५२ सालबाट जनयुद्ध सुरु भयो त्यसपछि श्रमजिवी, सर्वहारा वर्गको अधिकार स्थापित गर्नको लागि आफ्नो भौतिक शरीरको कुनै प्रवाह नगरिकन काँधमा बन्दुक बोकेर लडेको योद्धा हुँ म । संघीयता, गणतन्त्र, धर्म निरपेक्षता लगायत सिंहदरबामा केन्द्रीत २२ वटा अधिकार स्थानिय तहमा ल्याउने क्रममा सयौं योद्धाहरुको बलिदानी भएको छ, सयौं घाईते अपांग बेपत्ता भएका छन् त्यसैले माथि उल्लेखित अधिकारहरु रगतसँग
साटिएका छन् । यसको जन्मदाता, जननी तथा, माता भनेकै नेकपा माओवादी केन्द्र हो । इलाम नगरपालिकाको मेयरको उम्मेदवारको रुपमा म आएको छु । युवा उम्मेदवार भएको नाताले अनि समाज र युवाहरुले परिवर्तन चाहेको जुन परिवर्तन दिन सक्ने साहस म सँग छ । यहाँको सापेक्षता अनुसारकै विचार र योजना मसँग छ । जुन ठुला दलका उम्मेदवारहरु समेत हुनुहुन्छ उहाँहरुलाई जनताले चिनिसकेका छन् । र जुन चिज आम नागरिकहरुले मागिरहेका छन् अन्य दलका उम्मेदवारहरुले दिन सक्नुहुन्न । जनताले नयाँ मान्छेको खोजी गरिरहनुभएको छ । उहाँहरुले अहिले
नेकपा माओवादी केन्द्रको खोजी गरिरहनुभएको छ र पुर्ण रुपमा जित्ने आशा छ ।
प्रश्न नं ३ ः इलाम नगर पर्यटकिय नगरी हो, विद्युतका तार अनि खानेपानीका पाइपले समेत यहाँको सुन्दरतालाई घटाएको छ कसरी ब्यवस्थित गर्नुहुन्छ ?
प्रवास ः पक्कै पनि विद्युतका तार अनि अब्यवस्थित पानी वितरण गरिएका पाइपका कारण इलामको सुन्दरता घटाएको छ । हालसम्म पहुँचका आधारमा पोल सार्ने काम भयो । इलाम नगरपालिका पर्यटकिय नगरीका रुपमा अघि बढ्दै गरिहेका बेलामा यसलाई ब्यवस्थित गर्न अत्यन्तै आवश्यक छ । तार र पोल ब्यवस्थित ढङ्गले अघि बढाइनु छु । खानेपानीका पाइप ब्यवस्थित गर्नेछु । त्यस्तै यहाँ रहेको चियाबगान नेपालकै पुरानो बगान समेत हो । यस चियाबगान सांघाई ग्रुपलाई हस्तान्तरण गरिएको छ । जुन इलाम नगरपालिका र जिल्लाकै शान घटाउने काम भएको छ । जुन सम्झौता तोडेर इलाम नगरपालिकाले नै यसलाई सञ्चालन गर्ने अनि यस चिया बगानलाई पर्यटकिय क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले अघि वढाइने छ ।
प्रश्न नं ४ ः इलाम नगरपालिकामा सवारी पार्किङ समस्या छ नि यसको निराकरण कसरी होला ?
प्रवास ः यहाँ सवारी पार्किङ समस्या एकदमै जटिल छ । यसलाई वैज्ञानिक ढङ्गले ब्यवस्थित गरिने छ । जस्तै मोटरसाइकल, ट्याक्सी, मालबाहक र बसलाई छुट्टछुट्टै स्थानमा पार्किङको ब्यवस्था गरिने छ । यहाँ साँगुरा सडक छन्, तिनलाई फराकिलो बनाउन पहल गरिने छ ।
प्रश्न नं ५ ः किन दिन्छन् त तपाईलाई इलाम नगरपालिकाका जनताले भोट ?
प्रवास ः यिनै सारा एजेन्डा संस्थागत गर्न, सर्यौ वर्षदेखि पछाडि परेका वर्ग, क्षेत्रका अधिकार सुनिश्चित गर्न नेकपा माओवादी केन्द्रले जुन अभियान सञ्चालन गरिरहेको छ । ठुला भनिएका दलहरुले त्यही एजेन्डा लिएर हिडिरहेका छन् जुन माओवादी केन्द्रले पहिला देखि नै उठाएका एजेन्डाहरु हुन् । यी सारा अधिकारको जन्मदाता भनेकै माओवादी केन्द्र हो । नेपालको इतिहासमा पहिलो पटक स्थानिय तहको निर्वाचन हुँदैछ । यसले स्थानिय स्तरमा नै हरेक निर्णय हुने गरिएको स्थानिय सत्ता सञ्चालन गर्नका लागि माओवादी केन्द्रलाई मतदान गरी अवसर दिनका लागि मलाई इलाम नगरबासीले मतदान गर्नेछन् ।
प्रश्न् नं ६ ः अन्त्यमा इलाम नगरपालिकाका मतदातालाई केहि भन्नु छ ?
प्रवास ः इलाम नगरपालिकाबासी मतदाता आमाबुबा, दाजुभाई तथा दिदीबहिनी जो संघीयता, गणतन्त्र, धर्मनिरेपेक्षता र परिवर्तनका पक्षमा हुनुहुन्छ उहाँहरुलाई मेरो अपिल, म आधारभुत किसान परिवारबाट आएको हुँ । मेरो जीत भनेकै महिला, दलित, आदिवासी जनजाती, मजदुर, किसानको जीत हुनेछ । राजनीति भनेको जनताको सेवा गर्नु हो । यहाँ मेरो एउटा प्रश्न यसरी नै जनताको सेवा गर्ने भन्ने अन्य पार्टीका नेताहरुले कसरी पैसा कमाइरहेका छन् ? अन्य दलहरुले निर्वाचन आचारसंहित विपरित टिसर्ट, टोपी र झण्डा बाँडेर र भोज भतेर गरेर पनि लागि परेका छन् यो भ्रम हो । अब हुन लागेको असार १४ गतेको स्थानिय तहको चुनावमा परिवर्तनको सम्वाहक शक्ति र जनताको प्रतिनिधि नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हँसिया हतौडा चिन्हमा आफ्नो अमुल्य मत दिएर विजय गराउन हुन अनुरोध गर्दछु ।