इलाम। इलाममा पहिलो पटक असार ८ गतेदेखि १५ गतेसम्म राष्ट्रिय नाटक महोत्सव हुुने भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको वार्षिक कार्यक्रम अनुसार यस बर्ष इलाममा महोत्सव आयोजना गरिन लागेको हो । दश वटा नाटक प्रदर्शन हुने महोत्सव सम्पन्न गर्न करिब २० लाख रुपैंयाँ खर्च हुुने अनुुमान गरिएको छ । प्रतिष्ठानले करिब दश लाख रकम विनियोजन गर्ने र अन्य रकम सहयोगी संघसंस्था र ब्यक्तिबाट संकलन गरिने भएको छ ।
सदरमुकाममा रहेको गौतमबुद्ध सभागृहमा नाटक महोत्सवको तयारी गरिएको छ । महोत्सव सम्पन्न गर्न इलाम उद्योग वाणिज्य संघको संयोजकत्वमा १४ सदस्यीय तयारी समिति गठन गरिएको छ । संयोजन समिति सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय इलाम, शसस्त्र प्रहरी वल इलाम,जिल्ला समन्वय समिति, इलाम नगरपालिका, मेची पर्यटन प्रवद्र्धन विकास समिति, होटल एशोसिएसन, चेतना नाट्य समूह, पर्यटन प्रवद्र्धन सरोकार समिति, इलाम साहित्य संस्कृति कला संघ रहेका छन् । साथै युुद्धप्रसाद वैद्य, धर्म गौतम र प्राज्ञ कोमल निरौलालाई सल्लाहकार समितिमा चयन गरिएको छ ।