इलाम । नेपाल पत्रकार महासंघ इलामले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरू अविलम्ब फिर्ता लिन माग गर्दै संकलन गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ। महासंघको तेस्रो चरणको आन्दोलनका क्रममा प्रेस स्वतन्त्रताको पक्षमा असार ३ गतेदेखि शुरु गरेको देशव्यापी हस्ताक्षर संकलन अभियानअन्तर्गत संकलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत शुक्रबार प्रधानमन्त्रीलाई बुझाइएको हो।

महासंघ प्रदेश नं १ का उपाध्यक्ष सोम सुसेली र जिल्ला उपाध्यक्ष सुजन तिमसिनाको नेतृत्वमा गएको टोलीले इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना मार्फत बुझाएको हो । आन्दोलनको औचित्यको बिषयमा सचिव ख्याम भुजेलले स्पष्ट पारको थिए । महासंघको ७७ वटै शाखाहरूले संकलित २० हजारभन्दा बढी हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई आज नै बुझाइएको छ । पत्रकार महासंघ सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै महासंघ चरणबद्ध आन्दोलनमा छ।