इलाम । साहित्यकार तथा पत्रकार कृष्ण सेन ‘इच्छुक’ लाई इलामका पत्रकारहरुले समेत सम्झिएका छन ।’इच्छुक’ को १७ औ स्मृती दिवसको अवसर पारेर इलाम नगरपालिका–९ मा रहेको राहसल बाल अनाथलयमा आश्रित १५ जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गर्दै प्रेस सेन्टर इलाम र प्रेस चौतारीले सम्झिएका हुन ।
चौतारीका कार्यबाहक अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षता र प्रेस सेन्टर प्रदेश नं १ का सचिव सुजन तिमसिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनाथलयका बालबालिकाहरुलाई कापी र खेलकुदको सामाग्री हस्तान्तरण गरिएको हो । प्रमुख अतिथी तिमसिनाले नेपाली पत्रकारिता क्षेत्रका ‘इच्छुक’ को योगदानको बिषयमा चर्चा गरे ।
अनाथलयका नविन ओलीले पत्रकारहरुले देखाएको सदभावको खुलेर प्रशंसा गरे । प्रेस सेन्टरले हरेक बर्ष जेठ १३ गते इच्छुकलाई सम्झदै आएकोछ । यस बर्ष पहिलो पटक प्रेस सेन्टर र प्रेस चौतारीले संयुक्त रुपमा कार्यक्रम गरेका हुन ।
को हुन ‘इच्छुक’
कृष्ण सेन ‘इच्छुक’को महेन्द्र पुलिस क्लबका तत्कालिन डिआइजी अमरसिंह शाह, तत्कालिन नगर प्रहरी प्रमुख बिक्रम सिंह थापालगायतको टोलीले २०५९ जेठ ६ गते गिरफ्तार गरी हिरासतमै चरम यातना दिएर हत्या गरेका थिए । सेन हत्याको १७ बर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन । हत्यारालाई कार्वाही हुन सकेको छैन ।

वि.सं २०१३ मा भारतको देहरादुनमा जन्मिएका कृष्ण सेन ‘इच्छुक’ जनदिशा दैनिकका प्रधान सम्पादक थिए । सेनको पुर्खयौली घर अर्घाखाँची जिल्लाको जलुकेमा पर्दछ । उनले प्रारम्भिक शिक्षा दिक्षा दाङको लालमटियामा लिएका थिए । सामान्य लाहुरे परिवारमा जन्मिएका ‘इच्छुक’ ले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । उनी पत्रकार र साहित्यकार मात्र होइन शिक्षक, र सचेत राजनीतिकर्मी पनि थिए । उनी एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धा थिए । मूलतः उनी नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो स्थान निर्माण गर्न सफल रहे । उनी आफ्नो व्यक्तित्वको यस प्रमुख पक्षप्रति सधैँ सचेत पनि आफ्नो व्यक्तित्वको विविधता प्रति सधैँ सचेत रहे ।
परिणामतः उनको काव्य व्यक्तित्व खुम्चिएन, त्यो अझ फराकिलो र उर्वर हुँदै गयो । आफ्नो अढाई दशक लामो काव्य यात्रामा इच्छुकले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान गरेका छन् ।