फिक्कल । सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको बिरोध गर्दै देशभरका पत्रकार एवम संचारकर्मीहरु आन्दोलित भएका छन । सोही क्रममा सुर्योदय नगरपालिकामा रहेर पत्रकारिता गरिरहेका पत्रकार एवम संचारकर्मीहरुले फिक्कल चोकबजारमा सञ्चारसामाग्री सहित प्रर्दशन गरेका छन । विधेयकको बिरोधमा देशभर आन्दोलन गर्ने नेपाल पत्रकार महासंघकोे कार्यक्रमअनुसार आज सञ्चारसामग्री सहित धर्ना दिएका हुन ।

बिधेयक फिर्ता नभएको खण्डमा महासंघले थप संघर्षका कार्यक्रम तय गर्नेछ । फिक्कल चोकबजारमा गरिएको विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष सुजन तिमसिना, सदस्य नमीन ढकाल, पुर्व उपाध्यक्ष राजकुमार दहाल, पत्रकार प्रेम अधिकारी, मनोज अधिकारी, विनु खड्का लगायत १० भन्दा बढी पत्रकार एवम संचारकर्मीहरुको सहभागीता रहेको थियो । यसअघि जेठ १ गते देशभरका सञ्चारकर्मीहरुले कार्यक्षेत्रमा कालो पट्टी बाँधेर काम गरेका थिए भने सोही दिन सरोकारवालासँग अन्तरक्रिया गरिएको थियो ।

त्यसैगरी इलाम बजारमा समेत २० भन्दा बढी पत्रकारहरुले मिडिया काउन्सिल विधेयकको विरोध गरेका छन । विरोध कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जवेगु, प्रदेश उपाध्यक्ष सोमनाथ सुसेली, जिल्ला सचिव ख्याम भुजेल लगायतको सहभागी थियो । संसदमा दर्ता भएको बिधेयकले स्वतन्त्र पत्रकारिता, अभिब्यक्ति तथा प्रेस स्वतन्त्रता जस्ता कुराहरुलाई कुण्ठित पार्नेगरि ब्यवस्था गर्न खोजेकोले आन्दोलन गर्नुपरेको पत्रकार महासंघले जनाएको छ ।