इलाम । प्रेस स्वतन्त्रतामा संकुचन ल्याउने गरी सरकारले कानुन बनाउन लागेको भन्दै देशभरका पत्रकारहरू आन्दोलित बनेका छन् । नेपाल पत्रकार महासङ्घले देशभर आन्दोलनका कार्यक्रम घोषणा गरेपछि पत्रकार महासङ्घ इलामले पनि कालो पट्टि बाँधेर सरकारको उक्त कदमको साङ्केतिक विरोध गरेको छ । सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका केही प्रावधानले संविधानमा प्रदत्त भएको सुचनाको हकलाई सङ्कुचित गर्ने भन्दै सम्पुर्ण पत्रकारहरू आन्दोलित बनेका हुन् ।
महाङ्घले पत्रकारहरुलाई पक्राउ गरी निर्बाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने काम बढेको भन्दै देशभर चरणबद्ध संर्घषको कार्यक्रमहरु गरिरहेको छ । झापाको विर्तामोडमा आयोजित एक अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले सरकारले संविधानमा भएको पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धि प्रावधान विपरित विभिन्न ऐनमा प्रेस स्वतन्त्रताविरोधी प्रावधान राखेर लोकतान्त्रिक ब्यवस्थाको खिल्ली उडाएको धारणा राखेका छन् ।
नेपाल प्रेस युनियन झापाको आयोजना तथा डेमोक्रेटिक लयर्स एसोसिएसन झापाको सहआयोजनामा सम्पन्न विद्युतीय कारोवार ऐन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले यस्तो धारणा राखेका हुन् । लोकतान्त्रिक शासन ब्यवस्थामा स्वतः प्रेस स्वतन्त्रतालाई स्वीकार गर्नुको सट्टा विद्युतीय कारोबार ऐन, वैयक्तिक गोपनियतासम्बन्धि ऐन, फौजदारी तथा देवानी संहिता लगायतका ऐनमा प्रेस विरोधी प्रावधान राखिएकोप्रति आपत्ति जनाएका हुन् ।