Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

कर्मचारी समायोजन सकिएपनि रोङ गाउँपालिका अझै कर्मचारी विहिन

कर्मचारी समायोजन सकिएपनि रोङ गाउँपालिका अझै कर्मचारी विहिन

  • सन्देस सम्बाददाता
  • मंगलबार, बैशाख २४ २०७६


कर्मचारी समायोजन सकिएपनि रोङ गाउँपालिका अझै कर्मचारी विहिन

कुटिडाँडा । इलामको रोङ गाउँपालिकामा कर्मचारीका लागि स्वीकृत दरबन्दी सङ्ख्यामध्येको ७१ प्रतिशत दरबन्दीमा कर्मचारी नभएर रिक्त रहेको छ । वडा कार्यालयहरूसहित गाउँपालिकामा श्रेणीबिहीनबाहेक जम्मा ३१ जना कर्मचारीको दरबन्दी रहेपनि यहाँ हाल नौ जना मात्र कर्मचारी कार्यरत रहेको जनाइएको छ ।

दरबन्दीअनुसार रोङमा आठौँ तहका प्रमुख प्रशासकीय अधिकृत एक जना र सातौँ वा आठौँ तहका अधिकृतहरू तीनजना, छैटौँ तहका अधिकृत दुईजना, पाँचौँ तहका आन्तरिक लेखा परीक्षक, प्रशासनमा सहायक, कम्प्यूटर अपरेटर, लेखा सहायक, प्राविधिक सहायक, हेल्थ असिस्टेण्ट र सब इञ्जिनियर दशजना, चौथो तहका असिस्टेण्ट सब इञ्जिनियर, सहायक महिला विकास निरीक्षक र खानेपानी सहायक टेक्नििसियन तीनजनासहित १९ जना तथा वडा कार्यालयहरूमा पाँचौ तहका सहायक र सब ईञ्जिनियर दुई÷दुई जना र चौथो तहका सहायक र असिष्टेण्ट सब इञ्जिनियर चार÷चार जना तोकिएको छ ।

तर दरबन्दी अनुसारका कर्मचारीमध्ये हाल प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियर एक जना, प्रशासनका अधिकृत दुई जना, सब इञ्जिनियर एक जना, सहायक महिला विकास निरक्षिक एक जना गरि छ जना कर्मचारी मात्र कार्यालयमा रहेका छन् । बाँकी १३ जनाको दरबन्दी खाली नै छ । ती छ जना प्रमुख प्रशासकीय अधिकृत बाहेक दुईजना निजामति सेवाबाट समायोजन भएर आएका हुन् भने तीन जना जिल्ला समन्वय समितिबाट समायोजन भएर रोङ गाउँपालिकामा आएका हुन् ।

रोङ गाउँपालिकामा कर्मचारी थोरै भएका कारण एक जना कर्मचारीले तीनवटासम्म जिम्मेवारी बहन गर्नुपरिरहेको बताइएको छ । यहाँका प्रशासनको जिम्मेवारी सम्हालिरहेका अधिकृत नेत्र पोखरेलका अनुसार उनले कार्यालयभित्र दुईवटा फाँट र दुईवटा वडाको काम गरिरहनु परेको छ । कार्यालयभित्र जिन्सी र प्रशासन फाँट हेर्दैछन् भने दुईवटा वडाको सचिवको काम गर्दैछन् । कर्मचारीलाई कामको बोझ बढी भएर कर्मचारीहरू सार्वजनिक विदाको दिन पनि कार्यालयको काममा नै ब्यस्त हुने गरेको पाइएको छ । स्थानीय पत्रकार गणेश अर्यालका अनुसार शनिबार पनि कार्यालयमा कर्मचारी काम नै गरिरहेका हुन्छन् । त्यस्तै बिहान सबेरैदेखि कार्यालयसमयभन्दा छिटो र बेलुका अबेरसम्म कर्मचारीहरू कार्यालयमा काम गरिरहेको पाइने गरेको पनि अर्यालको भनाइ छ ।
कर्मचारीको अभाव भएका कारण पटकपटक कर्मचारीको विवरण पठाउने र कर्मचारी माग गर्ने काम भइरहेको गाउँपालिका प्रमुख शम्शेर राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार