विराटनगर । प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले संचारमैत्री प्रदेश निर्माणका लागि प्रदेश सरकार लागी परेको बताएका छन् । विराटनगरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको तीन दिने प्रदेशस्तरीय पत्रकारीता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दैै मुख्यमन्त्री राईले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याएका संचार क्षेत्रको क्षमता विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । जनताका वेदनासँगै राज्यको रुपान्तरणमा महत्वपूर्ण योगदान दिएका संचार क्षेत्रको क्षमता विकास, अग्रज पत्रकारलाई सम्मान र संचारमाध्यमसँगै त्यसमा काम गर्ने पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग गर्ने मुख्यमन्त्री राईको भनाइ छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा नेपाल पत्रकार महासंघ प्रदेश समिति, जिल्लाका शाखाको भौतीक संरचना निमार्ण र अग्रज पत्रकारलाई सम्मान जस्ता कार्यक्रम गरिएको भन्दै मुख्यमन्त्री राईले आगामि आर्थिक वर्षमा थप कार्यक्रम संचालन गर्ने गरि बजेटमा व्यवस्था गर्ने बताए ।
पूर्व संचारमन्त्री समेत भएका मुख्यमन्त्री राईले प्रदेश सरकारका गतिविधि विश्वभर पुर्याउनका लागि राष्ट्रिय समाचार समितिसँग सहकार्यको शुरुवात भएको र आगामि दिनमा अझ बढ्ने बताए । राष्ट्रिय समाचार समितिका प्रदेश प्रमुख मो.सदरुलको अध्यक्षतामा भएको प्रशिक्षणको उद्घाटन सत्रमा मोरङ जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले पत्रकारीता क्षेत्रमा देखिएका नराम्रा कुराहरुलाई कम गर्दै संचार क्षेत्रले जनतालाई सही सुचना दिनुपर्ने बताए ।

प्रशिक्षण कार्यक्रममा बोन्दै नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुइटेलले संचार क्षेत्रको विकासका लागि राज्यले नै साना लगानीका संचारसंस्थालाई लगानी गर्नुपर्ने बताए । ठुला संचार संस्थाले जनताका समस्या उठाउने भन्दापनि नाफामुखि र साना लगानीका संचार संस्थालाई अंकुस लगाउने गरि कानुन निर्माण गर्दै समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गरिएकाले सरकारी पक्षबाट भएका यस्ता गतिविधि तत्काल रोक्नुपर्ने बताए । उनले राष्ट्रिय समाचार समितिले प्रदेश सरकारका गतिवधिलाई पनि प्राथमिकतासाथ स्थान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय समाचार समितिकाका कार्यकारी अध्यक्ष श्यामल रासस सरकारी संस्था भएपनि ऐनको दायरा सानो भएकाले समयअनुकुल ऐन निर्माणको तयारी भइरहेको बताए । राष्ट्रिय समाचार समिति समाचारको विश्वसनियता लागि भएपनि निजि क्षेत्रका ठुला संचार संस्था सेवाग्राही भएकाले अझ प्रभाकारी बनाउन तीनै तहका सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । नेपालका दूई ठुला देश भारत र चीनसँग ठुलो आर्थिक सहकार्य भएपनि राष्ट्रिय समाचार समितिको प्रतिनिधि नभएको अवस्थामा अब चाँडै नेपाली धेरै रोजगारीमा रहेको खाडि मुलुकसँगै भारत र चीनमा पनि सम्माददाता नियुक्ति गरिने अध्यक्ष श्यामलले बताए ।

राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य दयाराम दाहाल ‘सुलभ’ ले प्रशिक्षणको औचित्यमाथि प्रकाश पार्दै राज्य संरचना परिवर्तनसँगै राससले पनि आफ्ना संरचनालाई स्तरउन्नतीसँगै समाचारदातापनि पूर्णरुपमा व्यवसायीक वनाउन तालिमको शुरुवात गरिएको बताए ।
कार्यक्रममा प्रदेश नम्बर एकका आन्तरिक मामिला मन्त्रालयका सचिव गोपाल पराजुली, इन्सेक प्रतिनिधि इन्दिरा भट्टराइले प्रशिक्षण कार्यक्रमका सफलताको कामना गरेका थिए । प्रदेश एकका राससकर्मी सहित ३६ जना सहभागि प्रशिक्षणमा नेपाल पत्रकार महासंघ प्रदेश समितिका महासचिव तथा राससका पूर्व बोर्ड सदस्य विवेक गौतम, कोषाध्यक्ष अम्मिका भण्डारी लगायत उद्घाटन सत्रमा संचारकर्मीको उपस्थिति रहेको थियो ।