रोङ । लोपोन्मुख लेप्चा जातीको बसोबास रहेको इलामको रोङ गाउँपालिकामा एकिकृत घुम्ती शिविरको पहिलो दिन २ सय १२ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन । जिल्ला प्रशासन कार्यालय इलाम, रोङ गाउँपालिका र इलाका प्रहरी कार्यालय पशुपतीनगरको संयुक्त आयोजनामा सुरु भएको शिविरमा नागरिकता सेवाका अतिरिक्त मतदाता नामाबली संकलन,अपाङगता परिचयपत्र, जेष्ठ नागरिक परिचयपत्र, ल्याव टेस्ट, विशेषज्ञ चिकित्सकद्धारा बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण, निशुल्क औषधी वितरण, फिजियोथेरापी र परिचयपत्र प्रमाणिकरण, नाक कान आँखा परिक्षणका साथै ६ वटै वडाबाट प्राप्त हुने सिफारिस सेवा रहेको थियो ।
शिविरमा जनताको गुनासो सम्वोधनका लागी नेपाल प्रहरीले गाउँपालिकाको प्राङगणमा समुदाय प्रहरी साझेदारी कार्यक्रम समेत राखेको छ । चैत्र २१ र २२ गते संचालन हुने शिविरबाट गाउँपालिकाको ग्रामिण क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने अध्यक्ष शम्शेर राईले बताए ।
मेची राजमार्गसंग जोडिएपनि गाउँपालिकाको विकट क्षेत्रका बासिन्दाहरु सरकारले दिने सेवाको पहुँच भन्दा टाढा रहेका छन् । लोपोन्मुख लाप्चा जातीको बसोबास रहेको सो गाउँपालिका सेवाग्राहीहरुले सदरमुकाम र शहरी क्षेत्रबाट पाउने सेवा गाउँपालिकाका कार्यालयबाटै पाइदा सहज भएको बताए । भौगोलिक रुपमा विकट रोङमा गाउँगाउँबाट सयौको संख्यामा सेवाग्राहीहरु गाउँपालिका कार्यालयमा उपस्थित भएका थिए । गाउँमै सरकारी निकायबाट पाउने सेवा एकिकृत रुपमा पाएकोमा स्थानीयबासी हर्षित भएका हुन् ।