सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरी प्रवेशद्धार अगाडी रहेका होटलमा आज भएको आगलागिबाट ५ वटा होटल जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मध्ये दिउसो स्थानीय चक्रदिप मुखीयाको भान्सा घरबाट शुरु भएको आगोले ५ वटा होटल र होटलमा भएका सर सामान जलेर पूर्ण रुपमा क्षति भएपछि १ करोड ४० लाख बढीको क्षती भएको हो ।

आगलागिबाट चक्र मुखीयाको घर क्षति हुनका साथै, निमदोर्जे शेर्पा, मिङमालमु शेर्पा, कमल मुखीया, र लाक्पा शेर्पाले संचालन गर्दै आएका काठबाट निर्माण गरिएका होटल र ती होटलमा रहेका सरसामान जलेर पूर्ण रुपमा नष्ट भएको सन्दकपुर गाउँपालिकाका प्रवत्ता गिरिराज खनालले बताउनुभयो ।

आगलागिबाट चक्रदिप मुखीयाले संचालन गरेको सिम्रन होटल जलेर नष्ट हुँदा ४२ लाख बराबरको सरसामान, २० तोला सुन , १० तोला चाँदी र १० लाख नगद जलेर नष्ट भएको जनाईएको छ । यस्तै निमदोर्जे शेर्पाको पेमु होटल जलेर नष्ट हुँदा ४० लाख मुल्य बराबरको सरसामान , नगद ३ लाख र ६ तोला सुन जलेर नष्ट भएको छ । आगलागिबाट कमल मुखीयाले संचालन गरेको १० लाख बराबरको सरसामान, ९ लाख २० हजार नगद , १ तोला सुन र १० तोला चाँदी जलेर नष्ट भएको छ ।

आगलागिबाट स्थानीय लाक्पा शेर्पाले संचालन गरेको होटल जल्दा २९ लाख बढीको क्षती भएका छ भने मिङमादिकी शेर्पाको होटल जलेर नष्ट हुँदा ६ लाखको सरसामान, नगद ५० हजार र २ तोला सुन जलेर नष्ट भएको हो । आगो नियन्त्रणका लागि स्थानीय, नेपाल प्रहरी, नेपाली सेनाले प्रयास गरेका थिए । आगो नियन्त्रण गर्न इलाम नगरपालिकाको दमकल पनि पुगेको थियो ।

इलाम सदरमुकामदेखि १८ किलोमिटर टाढा रहेको रामसार क्षेत्र माइपोखरीमा आगलागि पीडितको बिचल्ली भएको छ भने क्षतीको पूरा विवरण संकलन गर्ने काम भैरहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमसिनाले बताउनुभयो । तिमसिनाका अनुसार पिडितलाई जिल्ला प्रशासन कार्यालय र रेडक्रश सोशाइटीको टोलीले प्रारम्भिक राहात वितरणको काम गर्नेछ ।