भद्रपुर। नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपालमा विकास विरोधी गतिविधि गर्ने माथि प्रहरीले निगरानी बढाएको बताएका छन् । विहिबार सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो कार्यक्रमको झापाको बिर्तामोडमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन् ।
नेत्रविक्रम चन्द्र विप्लवले नेतृत्व गरेको नेकपा तर्फ इंगित गर्दै खनालले कतै त्यस्ता गतिविधि गर्नेले लुकेर शन्त समाजमा बसेर आतंकित पार्ने काम गरे निर्धक्क भएर प्रहरीलाई सुचना दिन आग्रह गरे । महानिरीक्षक खनालले नागरिकलाई शान्त र सुरक्षित वातावरणको महसुस दिलाउन प्रहरी तत्पर रहेको बताए । उनले झापा सहित नेपालको सिमावती क्षेत्रमा मदिरा र लागुऔषधको कारोबार हुने गरेको गुनासो बढेकाले यसलाई रोक्न प्रहरीले आक्रमक योजना ल्याउने बताए । खनालले प्रहरी संगठन भित्र पनि केहि कमि कमजोरी रहेको बताउँदै प्रहरी भित्रको बेतिथि रोक्न आफु लागि परेको बताए । उनले प्रहरी संगठन भित्र अझै केहि सुधार गर्न बाँकि रहेकाले आफ्नै कार्यकालमा सुधारेर देखाउने प्रतिबद्धता जनाए ।
उनले कार्यक्रमबाटनै प्रहरी कर्मचारीहरुले जनताको सेवा गर्ने र शान्ति सुरक्षा कायम गर्ने कार्यमा आउने जस्तोसुकै चुनौति र बाधा अडचनसँग नडराई निर्धक्क भई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई अक्षरस पालना गरी नागरिकको सेवामा हरदम तल्लीन हुनुपर्ने उनको भनाई छ । जघन्य अपराध र अपराधीप्रति विवेकसम्मत कठोर हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले गैरकानुनी क्रियाकलाप प्रति कुनै पनि सम्झौता गर्न नहुने बताए ।
महाअभियान समितिको आयोजना तथा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा सुरु सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रमको उद्घाटन झापाको बिर्तामोडमा भएको र अभियान १५ दिन सम्म चल्ने महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।
अभियानको उद्घाटन अघि विहीबार विहान प्रभात फेरीको आयोजना गरिएको थियो । उद्घाटन कार्यक्रममा ट्राफिक प्रहरीलाई ३५ लाखभन्दा बढीका सामग्री पनि हस्तान्तरण गरिएको छ । जसमा १० थान मोटरसाइकल, १० थान ब्रेथ लाइजर, १० थान विल लक र ७०० थान चालकलाई पोशाक प्रदान गरिएको संयोजक गिरीले बताए । त्यस्तै, बिर्तामोड ३ मा रहेको ८ कठ्ठा जमिनमा जिल्ला ट्राफिक प्रहरीको ३ तले भवन निर्माण हुने भएकाले उक्त भवनको समेत महानिरीक्षक सर्वेन्द्र खनालले शिलन्यास गरे । प्रदेश सरकारको २ करोड ५५ लाख रुपैयाँमा कार्यालयसहित सेमिनार हल निर्माण हुने ट्राफिक प्रहरी प्रमुख राईले जानकारी दिए ।