इलाम । विर्तामोडबाट ताप्लेजुङ्गतर्फ जाँदै गरेको सडक डिभिजन कार्यालय ताप्लेजुङको गाडि दुर्घटना हुँदा ५ जना गम्भिर घाइते भएका छन् । बा १ झ ९८९८ नम्बरको गाडी इलाम नगरपालिका–४ स्थित सिम्लेमा दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।
दुर्घटनामा परेर ताप्लेजुङ्ग स्थित फुङलिङ नगरपालिका–५ का ७४ वर्षिया धनमाया लिम्बु र तेह्थुम निवासी ५० वर्षिय जानुका लिम्बु, फकताङलुङ गाउँपालिका–५ का पेम्बा शेर्पा, नुवाकोट ककनी गाउँपालिका–५ का १८ वर्षिय जंग तामाङ, नुवाकोट ककनी गाउँपालिका–४ का २६ वर्षिय रितिक लामा रहेका छन् ।
घाइते मध्ये तीन जनाको इलाम अस्पतालमा उपचार भइरहेको छ । शख्त घाइते भएका धनमाया लिङदेन र जानुका लिम्बुलाई थप उपचारको लागि झापाका अस्पतालमा रिफर गरिएको छ । मेची राजमार्गको पुवाखोला नजिकै सिम्ले भन्ने स्थानमा ब्रेक फेल भएर दुर्घटना भएको घाइतेहरुको भनाइ रहेको जिल्ला ट्राफिक कार्यालय इलामका जवान रिद्धि खनालले बताउनुभयो । अपराहन्न ४ बजे भएको दूर्घटनामा परेको गाडी सडकभन्दा दुईसय मिटर तल खसेको थियो ।