रोङ । जग्गाको लालपुर्जा बोकेर पनि स्वामित्व लिन नसकेका रोङ ६ पाटापुरका सुकुम्वासीहरुले भारी छुटका साथ मालपोत बुझाउन पाउने भएका छन् । बिगत २३ बर्ष देखी आफ््नो नाममा जग्गा दर्ता भएपनि धनीपुर्जा पाउन नसक्दा निरास बनेका नागरिकहरुलाई रोङ गाउपालिकाले टंक थापाको संयोजकत्वमा ब्यवस्थित बसोबास समिति बनाएर समस्या समाधान गरेका हुन । बिगतदेखी बर्तमान सम्मको कार्यहरुको अध्ययन गरि भएका प्रकृयाहरु, बास्तबिक अवस्थाको अध्ययन र आवश्यक निर्णयहरु सहित अगाडी बढेको छ ।
प्रक्रिया अगाडी बढेसंगै ८६ परिवारका करिब १८ सय रोपनी जग्गाको फिल्डबुक उतार गरि मालपोत कार्यलयले दर्ता भएको मितिबाट पाटापुरको समस्या समाधान उन्मुख बनेको बताइएको छ । यसैगरि बिगत २३ बर्षदेखीको एकमुस्ट मालपोत रकम र हर्जना तिनुपर्दा नागरिकहरुलाइ ठूलो आर्थिकभार पर्ने भएपछि रोङ गाउपालिकाको कार्यपालिकाको बुधबार बसेको बैठकले हर्जना र मालपोत छुट दिने भएको छ । गाँउपालिकाका प्रवक्ता सुवास तामाङका अनुसार प्रतिरोपनी ५ रुपैयाका दरले लिने निर्णय गरेको छ ।
यता रोङ गाउपालिकाले गत बर्ष सम्म जग्गाको मालपोत रकम ५ देखी ८ रुपैयासम्म लिने गरेको वडा नं ६ का कर्मचारी फुर्वाछिरिङ्ग लाप्चाले बताए । जग्गाको मालपोत बुझाएपछि जग्गा धनीको स्वामित्व हुने र नामसारी, अंशबण्ड सम्म गर्न सकिने भएको छ । तर केही समय बेचबिखन भने गर्न नपाइने ब्यवस्थित बसोबास समिति रोङका संयोजक टंक थापाले बताए । यता आफुहरुले अनेक प्रयास गर्दापनि जग्गा भोगको करसमेत तिर्न नपाउदा जग्गा मेरो हो की हैन भनेर दुबिधा रहेकोमा अहिले मालपोत तिरेर स्वामित्व लिन सकिने गाउपालिकाको निर्णयले खुशी तुल्याएको स्थानिय संगिता राईले बताइन ।