इलाम । स्वास्थ्य बर्धक साथै पोषिलो र सहज रुपमा उत्पादन गर्न सकिने सिताके च्याउ इलाममा व्यवसायीक खेती फस्टाउँदै गएको छ । एक पटक खेती गरेपछि ५ वर्षसम्म उत्पादन हुने भएपछि किसानहहरुको सिताके च्याउलाई भरपर्दो श्रोत बनाएका हुन् । इलामको सुलुबुङ्गमा पहिलोपटक परिक्षणका रुपमा खेती गरिएको सिताके च्याउ अहिले इलामका दूई हजार किसानले व्यवसायीक खेती गर्दै आएका छन् । उत्पादन राम्रो र श्रम कम भएपछि धेरैजसो किसानहरुले ब्यवसायिक रुपमा नै खेती शुरु गरेका हुन् । सरकारी स्तरबाट सिताके च्याउखेतीमा लगानी नगरेपनि जडिबुटीको क्षेत्रमा काम गर्दै आएको होलिस्टिक नेपालले इलाममा सिताके च्याउ खेती बिस्तारमा किसानहरुलाइ सहयोग गर्दै आएको छ ।
इलामका १० वटै स्थानिय तहमा यसको खेती गरिने गरेको र हाल इलाममा २७ हजार सात सय २१ जना किसानहरुको घरमा आफ्नो प्रयोगको लागि भएपनि च्याउ खेती गरिरहेको होलिस्टिक इलामका कर्मचारी भिम कुलुङ्गले बताए। अरबियन मुलकमा औषधिय गुण बोकेको रातो च्याउ ब्राण्डका औषधीहरुको लोकप्रियता रहेसगैँ रातो च्याउकै जस्तो औषधिय गुण सिताके च्याउमा पाइने भएकाले किसानहरुले व्यवायीक र आफ्नै प्रयोगको लागि पनि खेती शुरु गरेका हुन् ।
इलामको माईजोगमाई गाउँपालिका २ किसान दावादोर्जे शेर्पाका अनुसार सिताके च्याउको खेती ब्यवसायिक रुपमा गर्न थालेपछि आम्दानी पनि राम्रो भएको छ । असी हजारको लगानीमा तीन सय वटा मुडामा लगाएको च्याउ गत बर्ष पचास किलो बिक्रि गरेको शेर्पाले बताए। प्रतिकिलो ६ रुपैयाँमा बिक्रि हुने च्याउ यो बर्ष एक सय पचास किलो बिक्रि गरेको र अझै ३ सय किलो उत्पादन हुने शेर्पाले बताए।
एक पटक मुडा काटेर आधा इन्चको प्वाल बनाएर मैनले टालेपछि लगातार पाँच महिना उत्पादन हुने र सोही मुडामा चार बर्ष सम्म उत्पादन हुने गरेको छ । एकपटक रोपेपछि चार बर्ष सम्म ढुक्कको साथ आम्दानी हुने गरेकोले पनि यो खेती फाइदाजनक भएको शेर्पाको भनाइ रहेको छ ।
अहिले आफुले उत्पादन गरेको च्यााउ काठमाण्डौमा काचो प्रतिकिलो ६ सय र सुकेको धुलो एक सय ग्रामको पाँच सय रुपैँयामा बेच्ने गरेको शेर्पाले बताए। एउटा च्याउनै तीनसय ग्राम सम्मको हुने यसको प्रयोग तरकारी, झोल, फ्राइ, सुप, मः मः र डस्टको रुपमा पनि प्रयोग गरि मानिसले उपयोग गर्ने गरेका छन् ।