इलाम । नेपाल पत्रकार महासंघ इलामका उपाध्यक्ष एवम लोकल सन्देश अनलाइनका प्रधान सम्पादक सुजन तिमसिनालाई समाचारको बिषयमा सुर्योदय नगरपालिका–३ का वडाध्यक्ष होम कार्कीले दिएको धम्कीको पत्रकार महासंघ केन्द्रीय समितिले भत्सर्ना गरेको छ । महासंघका महासचिव रमेश विष्टले एक विज्ञप्ती जारी गर्दै घटना नदोर्होयाउन सम्वन्धित निकायसंग माग गरेका छन । विज्ञप्तीमा भनिएको छ ‘समाचारप्रति चित्त नबुझेमा अपनाउनुपर्ने उपचारका अन्य विकल्पलाई छाडेर सार्वजनिक पदमा बसेको जिम्मेवार व्यक्तीबाट पत्रकारलाई धम्की दिनु आफैमा निन्दनीय र खेदजनक कार्य हो । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता घटना नदोहोर्याउन सम्वन्धित निकायसंग माग गर्दछौ । ’ वडाध्यक्ष कार्कीले लोकल सन्देश डट कममा प्रकाशित ‘सूर्योदय नगरपालिकाका ३ वडाध्यक्षद्धारा सरकारी सवारीसाधनको दुरुपयोग’ समाचारको बिषयमा लिएर आइतबार तिमसिनालाई धम्की दिएका थिए ।