काठमाडौं । सरकारले तराईका दुईवटा सहर वीरगन्ज र विराटनगरलाई महानगर घोषणा गरेको छ । स्थानीय तह पुन: संरचना आयोगले कायम गरेको सीमामा कुनै फेरबदल नगरिकन दुई शहरलाई महानगर बनाइएको हो । यसअघि सरकारले जेठ ८ मा अन्य गाउँपालिका समेत गाभेर ती दुई उपमहानगरलाई महानगर बनाउने निर्णय गरेको थियो ।
त्यससँगै सरकारले ७४४ स्थानीय तहलाई ७६६ पुर्याउने निर्णय समेत गरेको थियो । तर, सर्वोच्च अदालतले स्थानीय तहको सीमा हेरफेर संख्या थपको विषय कानुन विपरीत रहेको भन्दै खारेज गरेको थियो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले तराईका पूराना तथा ऐतिहासिक दुई शहरलाई महानगरमा स्तरोन्नती गरिएको बताए । मन्त्रालयले महानगर बनाउँदा आवश्यक पर्ने वडा र जनसंख्याको मापदण्डमा पुर्याएको छैन ।