फिक्कल । इलामको नेपाल भारत सीमा क्षेत्रका सीमा पिल्लर र सीमा सुरक्षा अवस्थाको बारेमा अध्ययनको काम सम्पन्न भएको छ । इलामको सन्दकपुर गाउँपालिका ४ स्थित सन्दकपुरदेखि रोङ गाउँपालिका ६ स्थित जिर्मलेसम्म भारतसँग ४८ किलोमिटर सिमा जोडिएको छ ।
सीमा सुरक्षाको जिम्मा पाएको शसस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामले नेपाल भारत सीमा छुट्टयाउने सीमा पिल्लरको अध्ययन सम्पन्न गरेको हो । शसस्त्र प्रहरीका निरिक्षक हरि रिमालको नेतृत्वमा खटिएको ३१ जना प्रहरी टोलीले पहिलो चरणमा सूर्योदय नगरपालिका १ स्थित मानेभञ्ज्याङ्गदेखि रोङ गाउँपालिका ६ स्थित जिर्मलेसम्मको सीमा क्षेत्रको निरक्षण र अध्ययन सम्पन्न गरेको छ । ।
भाद्र २७ गतेबाट खटिएको शसस्त्र प्रहरीको टोलीले सीमा क्षेत्रको सुरक्षा र सीमा पिल्लरको बस्तुस्थितको अध्ययन गरेर सदरमुकाम फर्किएको शसस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर नम्बर १ इलामका एसपी विदुर खड्काले बताए । सीमा पिल्लरको अध्ययनमा खटिएका शसस्त्र प्रहरी निरिक्षक रिमालका अनुसार नेपाल भारत सीमा क्षेत्रका धेरैजसो सीमा पिल्लर वरिपरि बाल्लो झाडी फैलिएका कारण भत्किदै गएको र बाक्लो लेउले ढाकेका छन् ।