इलाम । इलामको सूर्योदय नगरपालिका–२ पशुपतिनगरबाट १० ग्राम १६० मिलिग्राम ब्राउन सुगरसहित दापेम्बा शेर्पा पक्राउ परेका छन्। सुनसरी, झापा र इलामका विभिन्न स्थानबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गर्ने क्रममा शेर्पा पनि पक्राउ परेका हुन्।
मंसिर ८ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले सूर्योदय नगरपालिका–२ का शेर्पालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार सुनसरी जिल्लाका विभिन्न स्थानबाट ५९ ग्राम ८८४ मिलिग्राम ब्राउन सुगरसहित बिक्रीवितरणमा संलग्न १० जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा धरान–५ का आशिष विश्वकर्मा, इटहरी–५ का सुरेश राई र थाम्पुहाङ राई, धरान–११ का प्रकाश तामाङ, धरान–८ का रविन तामाङ, विराटनगर–४ का सुधिर प्रसाद खनाल, इटहरी–१६ का अनिराज चौधरी, इटहरी–६ का राम थापा, पथरी शनिश्चरे–७ का अनिमिश शिवा र फर्वा गुरुङ रहेका छन्।
त्यस्तै, झापाको कनकाई नगरपालिका–३ बाट इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाई–४ का अनिल चौधरीलाई २ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले मेचीनगर नगरपालिका–६ बाट २ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–११ का अबिन उराव, मेचीनगर–७ का सयन मण्डल र राजिव राजवंशी रहेका छन्। ्तीनवटै जिल्लाबाट पक्राउ परेका १५ जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।