Local Sandesh बिहिबार, मंसिर ११ २०८३
  • ट्रेण्डिङ :

रोङ गाउँपालिकामा पूर्ण अपांगता भएका व्यक्ति र विपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

रोङ गाउँपालिकामा पूर्ण अपांगता भएका व्यक्ति र विपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर ११ २०८३


रोङ गाउँपालिकामा पूर्ण अपांगता भएका व्यक्ति र विपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

इलाम : ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने उद्देश्यले इलामको रोङ गाउँपालिकाले पूर्ण अपांगता भएका व्यक्ति र विपन्न सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। गाउँपालिकाले गैरआवासीय सलकपुर समाज रोङ–६ ले उपलब्ध गराएको एम्बुलेन्स सञ्चालनमा ल्याएर पहिलो चरणमा लक्षित समुदायलाई निःशुल्क सेवा दिने तयारी गरेको हो।

गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोका अनुसार समाजले एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिकालाई हस्तान्तरण गरेपछि सेवा सुरु गर्ने प्रक्रिया अघि बढाइएको छ। त्यसका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने र सेवा सञ्चालनसम्बन्धी कार्यविधि तयार गर्ने काम भइरहेको छ।

‘हामी केही कानुनी प्रक्रिया मिलाउँदै छौँ। आवश्यक मापदण्ड पूरा गरेर पहिलो चरणमा पूर्ण अपांगता भएका व्यक्ति र विपन्न सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारीमा छौँ,’ अध्यक्ष स्याङ्बोले भने। निःशुल्क सेवा लिन सम्बन्धित टोल विकास संस्थाको सिफारिस अनिवार्य गर्ने गाउँपालिकाको योजना छ।

टोल विकास संस्थाले आयोजना गर्ने श्रमदानमा नागरिकको सहभागितालाई समेत आधार मानेर निःशुल्क एम्बुलेन्स प्रयोगका लागि सिफारिस गर्ने व्यवस्था मिलाउन लागिएको अध्यक्ष स्याङ्बोले बताए। गाउँपालिकाले एउटा एम्बुलेन्सबाट मात्रै सबै नागरिकलाई सेवा दिन कठिन हुने निष्कर्षसहित थप अर्को एम्बुलेन्स खरिद गर्ने योजना पनि अघि सारेको छ।

दुईवटा एम्बुलेन्स सञ्चालनमा आएपछि गाउँपालिकाका सबै क्षेत्रका नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ। नयाँ एम्बुलेन्स खरिदका लागि विभिन्न संघसंस्था, व्यवसायी तथा दातासँग आर्थिक सहयोग जुटाउने योजना बनाइएको गाउँपालिकाले जनाएको छ।

यसैबीच, गाउँपालिकाले प्रत्येक वर्ष स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ। पालिकाका छवटै वडामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

भौगोलिक विकटता र आर्थिक अभावका कारण समयमै उपचारका लागि स्वास्थ्य संस्था पुग्न नसक्ने नागरिकलाई लक्षित गरी ल्याउन लागिएको एम्बुलेन्स सेवाले विशेषगरी विपन्न परिवार, अपांगता भएका व्यक्ति र सुत्केरी महिलालाई राहत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार