Local Sandesh बिहिबार, मंसिर ११ २०८३
  • ट्रेण्डिङ :

जीवन कार्की बने इलामका उत्कृष्ट प्रहरी

जीवन कार्की बने इलामका उत्कृष्ट प्रहरी

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर ११ २०८३


जीवन कार्की बने इलामका उत्कृष्ट प्रहरी

इलाम : अपराध अनुसन्धान, फरार अभियुक्त पक्राउ र अवैध उत्खनन नियन्त्रणमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै प्रहरी नायब निरीक्षक जीवनकुमार कार्की इलामको कात्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामले प्रहरी चौकी पोल्टमारीमा कार्यरत कार्कीलाई कात्तिक महिनाको ‘पुलिस अफ द मन्थ’ छनोट गरेको हो।

जिम्मेवारीप्रतिको लगनशीलता, अनुसन्धानमा देखाएको व्यावसायिक दक्षता, सक्रियता र कार्यसम्पादनका आधारमा उनलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्कीको नेतृत्वमा रहेको प्रहरी टोलीले लामो समयदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका एक अभियुक्तलाई पक्राउ गर्न सफल भएको थियो।

पाँच वर्ष कैद सजाय तोकिएका चुलाचुली गाउँपालिका–२ निवासी ३८ वर्षीय प्रेमकुमार श्रेष्ठलाई २०६१ सालदेखि फरार रहेको अवस्थामा पक्राउ गरिएको थियो। श्रेष्ठलाई २०८३ कात्तिक ४ गते पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। लामो समयदेखि फरार रहेका सजाय तोकिएका अभियुक्तलाई पक्राउ गर्न कार्कीले निर्वाह गरेको भूमिका उनको छनोटको एउटा प्रमुख आधार बनेको छ।

त्यस्तै, चुलाचुली गाउँपालिका–५ स्थित आमपोखरा क्षेत्रमा निषेधित स्थानबाट गिटी तथा बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा कार्की नेतृत्वको प्रहरी टोलीले कारबाही अघि बढाएको थियो। सो क्रममा प्रदेश १–०२–००१ ख १३८८ नम्बरको टिपर नियन्त्रणमा लिइएको थियो।

प्राकृतिक स्रोतसाधनको अवैध दोहन रोक्न तथा निषेधित क्षेत्रमा भइरहेको उत्खनन नियन्त्रण गर्न प्रहरीले गरेको सक्रियतालाई पनि जिल्ला प्रहरी कार्यालयले उनको कार्यसम्पादनको महत्त्वपूर्ण पक्षका रूपमा लिएको छ। प्रहरी चौकी पोल्टमारीमा रहेर कार्यक्षेत्रमा शान्तिसुरक्षा कायम गर्नेदेखि अपराध नियन्त्रण र अनुसन्धानसम्म सक्रिय भूमिका निर्वाह गर्दै आएका कार्कीले व्यावसायिक जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गरेको प्रहरीको मूल्याङ्कन छ।

प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले प्रदान गरिने ‘पुलिस अफ द मन्थ’ ले प्रहरी कर्मचारीलाई थप जिम्मेवार र उत्तरदायी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। अपराध अनुसन्धान, कानुन कार्यान्वयन र प्राकृतिक स्रोतसाधनको संरक्षणमा देखाएको सक्रियताका कारण कार्कीले प्राप्त गरेको यो सम्मानले कार्यक्षेत्रमा खटिने प्रहरी कर्मचारीको जिम्मेवारी र योगदानलाई समेत उजागर गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार