इलाम । श्रम, सहकार्य र सामूहिक उत्पादनको अभ्यासलाई प्रोत्साहन गर्दै श्रम संस्कृति पार्टीले इलामको चुलाचुलीमा सामूहिक खेतीलाई अघि बढाएको छ। गत असार २७ गते सामूहिक रूपमा रोपाइँ गरिएको धान मंगलबार कात्तिक २८ गते पार्टीले सामूहिक रूपमै कटाइ गरेको थियो ।
श्रम संस्कृति, आत्मनिर्भरता र सामूहिक उत्पादनको सन्देश प्रवाह गर्ने उद्देश्यले गरिएको यस अभ्यासले कृषि उत्पादनसँगै श्रमको महत्व, रैथाने सीप र परम्परागत कृषि प्रविधिलाई समेत जोड दिएको छ। कृषि क्षेत्रमा बढ्दो श्रमिक अभाव, उत्पादन लागत वृद्धि र कृषिप्रति घट्दो आकर्षणका बीच चुलाचुली–३ चाँजु खोला बगरस्थित स्थानीय थुलुङ परिवारको दुई बिघा जमिनमा गरिएको सामूहिक खेतीलाई वैकल्पिक कृषि अभ्यासका रूपमा हेरिएको छ।
व्यक्तिगत स्वामित्व र नाफामुखी उत्पादनभन्दा माथि उठेर सामूहिक श्रम, साझा जिम्मेवारी र समान सहभागिताको अवधारणामा खेती गरिएको पार्टीले जनाएको छ। उत्पादित अन्न स्थानीय गरिब तथा विपन्न समुदायको सहयोगमा समेत प्रयोग गर्ने उद्देश्य राखिएको छ। आगामी दिनमा मकै, लसुनलगायत अन्य कृषि उत्पादनमा पनि सामूहिक खेती विस्तार गर्ने योजना रहेको श्रम संस्कृति पार्टी चुलाचुली गाउँ कार्यसमितिका सचिव जीवन लिम्बूले बताए।
सामूहिक खेतीबाट उत्पादित अन्नको पाँच प्रतिशत जग्गाधनीलाई भाडाबापत उपलब्ध गराइने, ३५ प्रतिशत स्थानीय गरिब तथा विपन्न समुदायको सहयोगमा खर्च गरिने र बाँकी ६० प्रतिशत पार्टीको आन्तरिक स्रोत व्यवस्थापनमा प्रयोग गरिने जनाइएको छ। सामूहिक खेती धेरै मानिस मिलेर खेतमा काम गर्ने अभ्यास मात्र नभई स्रोत, सीप, श्रम, समय र उत्पादनलाई साझा उद्देश्यका लागि परिचालन गर्ने सामाजिक तथा आर्थिक अवधारणाको रुपमा हेरिएको छ ।
यसले कृषि उत्पादनमा लागत घटाउन, श्रमशक्तिको उचित उपयोग गर्न र समुदायबीच आपसी सहयोग तथा एकता बढाउन योगदान पुर्याउने पार्टीका युवा नेता नयन राईले बताए । “सामूहिक खेती केवल अन्न उत्पादन गर्ने काम मात्रै होइन, श्रमको सम्मान गर्ने, एकअर्कासँग सहकार्य गर्ने र समाजलाई आत्मनिर्भर बनाउने अभियान पनि हो। युवाहरू कृषि उत्पादनमा जोडिएर श्रमलाई संस्कृतिका रूपमा विकास गर्न सके कृषि क्षेत्रलाई नयाँ ढंगले अघि बढाउन सकिन्छ।’
उनले भने ‘हामीले उत्पादन गरेको अन्न समाजका विपन्न तथा असहाय समुदायसँग जोड्ने प्रयास गरेका छौँ। आगामी दिनमा पनि उत्पादनमूलक गतिविधिलाई विस्तार गर्दै सामूहिक श्रम र आत्मनिर्भरताको अभ्यासलाई निरन्तरता दिने हाम्रो लक्ष्य छ।” पछिल्लो समय कृषि क्षेत्रमा बढ्दै गएको श्रमिक अभाव र खेतीयोग्य जमिन बाँझो रहने प्रवृत्तिका बीच सामूहिक खेतीले उपलब्ध जमिन तथा जनशक्तिको अधिकतम उपयोग गरिएको छ।
राजनीतिक दलहरू पनि आन्तरिक स्रोत व्यवस्थापनका लागि चन्दा र सहयोगमा मात्र निर्भर नभई उत्पादनमूलक गतिविधिमार्फत आर्थिक आत्मनिर्भरता हासिल गर्न सक्ने सम्भावना यस अभ्यासले देखाएको छ। कृषि उत्पादनसँग सामाजिक उत्तरदायित्व र संगठनको आर्थिक व्यवस्थापन जोड्ने श्रम संस्कृति पार्टीको चुलाचुलीस्थित सामूहिक खेती अभियान त्यसैको एउटा उदाहरण बनेको छ।