इलाम । इलाम नगरपालिकाले ‘जनतासंग मेयर’ कार्यक्रम सुरुवात गरेको छ । नगरप्रमुख महेश बस्नेत विभिन्न वडामा गएर जनताहरुसंग प्रत्यक्ष सरोकारका बिषयमा अन्तरक्रिया गर्दै आएका छन । सोही अनुसार शुक्रवार वडा नं १२ साङरुम्बामा नगर प्रमुख बस्नेतले अन्तरक्रिया गरे । कार्यक्रममा वडाबासीहरुले खानेपानी, सडक, विद्युत र कृषि क्षेत्रका समस्याहरुको बारेमा गुनासो राखेका थिए । उनीहरुले ४ वटा बिषयबस्तुलाई प्राथमिकतामा राखेर अघि बढन नगर प्रमुखलाई सुझाव दिए ।
जनताको गुनासोपछि जवाफ दिँदै नगर प्रमुख बस्नेतले जनतामाझबाट आएका गुनासो र सुझावलाई क्रमश कार्यान्वय गर्दै अघि बढने प्रतिवद्धता जाहेर गरे । उनले इलाम नगरपालिका–१२ साङरुम्बाको दमाइ इन्टेक हुँदै देउमाइ नगरपालिका–३ को गाग्रेभञ्ज्याङसम्मको सडकलाई साँसद विकास कोषबाट प्रत्येक बर्ष ८० लाखको दरले ३ बर्षसम्म २ करोड ४० लाख लगानी गरि १२ महिना चल्न सक्ने बनाउने प्रतिवद्धता जाहेर गरे ।
कार्यक्रममा कार्यपालिका सदस्य गितराम रसाइली, वडा नं ५ का अध्यक्ष ठाकुरनारायण श्रेष्ठ, वडा नं ११ का अध्यक्ष रविन एक्तेन लगायतको उपस्थिती रहेको थियो । वडाध्यक्ष लाखमान लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा १५० भन्दा बढी स्थानियको सहभागीता रहेको थियो । वडा सदस्य भानुभक्त घिमिरेको स्वागत रहेको कार्यक्रम वडा सचिव केशरबहादुर राईले संचालन गरेका थिए ।