Local Sandesh शनिबार, असोज १७ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय क्षेत्र कन्याममा कन्याम वृक्षालय सञ्चालनमा, चिया पर्यटन प्रवर्द्धन गर्दै पर्यटकको बसाइ लम्ब्याउने लक्ष्य

पर्यटकीय क्षेत्र कन्याममा कन्याम वृक्षालय सञ्चालनमा, चिया पर्यटन प्रवर्द्धन गर्दै पर्यटकको बसाइ लम्ब्याउने लक्ष्य

  • सन्देश सम्बाददाता
  • बिहिबार, असोज १५ २०८३


पर्यटकीय क्षेत्र कन्याममा कन्याम वृक्षालय सञ्चालनमा, चिया पर्यटन प्रवर्द्धन गर्दै पर्यटकको बसाइ लम्ब्याउने लक्ष्य

इलाम ।  पहाडकी रानी भनेर चिनिने इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा उच्चस्तरीय सेवा सुविधासहितको कन्याम वृक्षालय होटल तथा रिसोर्ट सञ्चालनमा आएको छ। कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको लागत साझेदारीमा निर्माण भई पूर्ण रूपमा उपयोग हुन नसकेको चिया परीक्षण प्रवर्द्धन तथा अनुसन्धान केन्द्रुको संरचनालाई भाडामा लिएर वृक्षालय सञ्चालनमा ल्याइएको हो। गत २०८१ असार १८ गते सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र मार्फत  उत्तम प्रगति निर्माण सेवाले १० वर्षका लागि उक्त संरचना भाडामा लिएको हो। सम्झौतामा प्राप्त ५ वटा भवनका अतिरिक्त करिब २ करोड रुपैयाँ थप लगानी गरेर संरचना विस्तार गरिएको अध्यक्ष उत्तम कुमार श्रेष्ठले जानकारी दिएका छन्।

यस वृक्षालयको मुख्य उद्देश्य होटल सञ्चालन मात्र नभई कन्यामलाई कोशी प्रदेशकै नमुना आतिथ्यता केन्द्रका रूपमा विकास गर्नु रहेको छ। इलामको मुख्य पहिचान चिया भएकोले चिया बगान, उत्पादन र किसानको मिहेनतलाई पर्यटकको अनुभवसँग जोड्दै चिया पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। साथै, पर्यटकको बसाइलाई इलाममै न्यूनतम ४ रात ५ दिनसम्म लम्ब्याउने र अमेरिका, युरोप लगायत भारत बिहार, बंगाल , भुटान, बंगलादेश तथा बर्माबाट समेत पर्यटक भित्र्याउने योजना रहेको सञ्चालक पक्षले जनाएको छ। विश्व पर्यटन बजारमा लामो अनुभव संगालेर नेपाल फर्किएका ४० वर्षभन्दा कम उमेरका चारजना युवाहरूको सामूहिक लगानी तथा व्यवस्थापनमा यो वृक्षालय सञ्चालन गरिएको हो।

हाल यहाँ २५ जना स्थानीय युवा युवतीले प्रत्यक्ष रोजगारी पाएका छन् भने रोजगारीमा स्थानीयलाई नै प्राथमिकता दिइएको छ। पर्यटकलाई उत्कृष्ट अनुभव प्रदान गर्न वृक्षालयले तीनवटा स अर्थात् सरसफाई, सत्कार र स्वादलाई मूल मन्त्र मानेको छ। यसै भवनमा चिया परीक्षण केन्द्र र चिया सङ्ग्रहालयसमेत सञ्चालनमा रहेको र त्यसको स्वामित्व तथा व्यवस्थापन भने कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाकै रहेको स्पष्ट पारिएको छ। विगत ६ वर्षदेखि सञ्चालनमा रहेको वृक्षालयका हाल काठमाडौँ, चितवन, लमजुङ, बाँके र इलाम गरी ४ वटा प्रदेशमा शाखाहरू रहेका छन्। आगामी दिनमा देशका ७७ वटै जिल्लामा शाखा विस्तार गरी रैथाने खानपान र न्यानो नेपाली आतिथ्यताको प्रवर्द्धन गर्ने संस्थाको योजना रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार