Local Sandesh शनिबार, असोज १७ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीका २०० जनाले लिए पालिकाबाटै भूमि सम्बन्धी सेवा

चुलाचुलीका २०० जनाले लिए पालिकाबाटै भूमि सम्बन्धी सेवा

  • सन्देश सम्बाददाता
  • बिहिबार, असोज ८ २०८३


चुलाचुलीका २०० जनाले लिए पालिकाबाटै भूमि सम्बन्धी सेवा

इलाम : इलामको चुलाचुली गाउँपालिकाबाट भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएपछि एक महिनामा २०० जनाले सेवा लिएका छन् । चुलाचुली गाउँपालिकाले भूमि व्यवस्थापन शाखामार्फत स्थानीयबासीलाई कित्ताकाट तथा धनीपुर्जा वितरणलगायतका सेवा प्रदान गर्दै आएको छ । गत भदौ ३ गतेदेखि भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएको चुलाचुलीबाट असोज २ गतेससम्म ११५ जनाले भूसेवा र घरजग्गा रजिष्ट्रेशन एवम् ८५ जनाले नक्सा प्रिन्ट सेवा लिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले जानकारी दिए ।

‘भूमि व्यवस्थापन शाखामार्फत कित्ताकाट तथा घरजग्गा पाससम्बन्धी कार्य सहज रुपमा भइरहेको छ,’ उनले भने, ‘हालसम्म २०० जनाले सेवा लिएका छन् । कतिपयले भूमि सम्बन्धी, कतिपयले नापी सम्बन्धी र कतिपयले दुवै सेवा लिएका छन् ।’ सो अवधिमा भूमि व्यवस्थापन शाखामार्फत पुँजीगत लाभकरबाहेक छ लाख ८५ हजार ३९४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन शुल्कबाट चार लाख ९० हजार ३६९ रुपैयाँ, भूसेवाबाट एक लाख ८२ हजार २५ रुपैयाँ र नक्सा प्रिन्टबाट १३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको गाउँपालिकाले जनाएको छ ।

घरजग्गासम्बन्धी सेवा लिन सदरमुकाम धाउँदै आएका चुलाचुलीबीहरु आफ्नै पालिकाबाट सेवा लिन पाएपछि दङ्ग भएका छन् । तीन दिनसम्म लाग्ने काम एकैछिनमा हुन थालेको चुलाचुली(३ का सुरेश थुलुङले बताए । ‘विगतमा एउटा कामका लागि इलाम सदरमुकामसम्म पुग्नुपर्दथ्यो । कहिलेकाँही त एकैदिनका काम नहुने भएकाले तीन दिनसम्म होटलमा बस्नुपर्दथ्यो,’ उनले भने, अहिले त्यो बाध्यताबाट मुक्ति पाएका छौं ।’

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले लामो प्रयासपछि भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध गराउन सफल भएको बताए । उनले गाउँपालिकाबाटै सेवा प्रवाह सुरु भएपछि चुलाचुलीका नागरिकले भूमि प्रशासनसम्बन्धी कामका लागि इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालय पुग्नुपर्ने बाध्यता हटेको बताए । उनले यसबाट सेवाग्राहीको समय, खर्च र झन्झट कम हुनुका साथै सेवाग्राहीले सहज, छिटो र पारदर्शी रुपमा सेवा पाउन थालेको बताए ।

चुलाचुली गाउँपालिकाले भूमि प्रशासनसम्बन्धी सेवा प्रवाहका लागि आफैंले व्यवस्थापन गरी ७ जना कर्मचारी खटाएको प्रमुख प्रशासकीय अधिकृत शाक्यले जानकारी दिए । उनका अनुसार भूमि व्यवस्थापन शाखा अन्तर्गत भूमि प्रशासन अधिकृत (छैटौं) को नेतृत्वमा भूमि प्रशासन शाखामा तीन जना, नापी अधिकृत (सातौं) को नेतृत्वमा नापी प्रशासन शाखामा तीन जना र र भूसेवा शाखामा एक जना कर्मचारीको व्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार