Local Sandesh शनिबार, असोज १७ २०८३
  • ट्रेण्डिङ :

फिक्कल बजारका खाद्य उद्योग तथा मिठाइ पसलमा अनुगमन, अखाद्य तेल नष्ट

फिक्कल बजारका खाद्य उद्योग तथा मिठाइ पसलमा अनुगमन, अखाद्य तेल नष्ट

  • सन्देश सम्बाददाता
  • बिहिबार, असोज १५ २०८३


फिक्कल बजारका खाद्य उद्योग तथा मिठाइ पसलमा अनुगमन, अखाद्य तेल नष्ट

फिक्कल । सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा खाद्य उद्योग तथा मिठाइ पसलको बजार अनुगमन गरिएको छ। सूर्योदय नगरपालिका बजार अनुगमन कार्यविधि, २०८० बमोजिम गठित बजार अनुगमन समिति तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भद्रपुर झापाका प्राविधिक कर्मचारीको सहभागितामा अनुगमन गरिएको हो।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाका प्रमुख सुवासचन्द्र ओस्ती, प्राविधिक कर्मचारी नुमराज ढकाल, सूर्योदय नगरपालिका बजार अनुगमन समिति संयोजक निविन ढकाललगायतको सहभागिता थियो। अनुगमनमा नेपाल प्रहरी र नगर प्रहरीको टोलीसमेत सहभागी थियो।

अनुगमनका क्रममा फिक्कल बजारका ९ वटा खाद्य उद्योग तथा मिठाइ पसलको निरीक्षण गरिएको थियो। तीमध्ये २ वटा खाद्य उद्योगमा प्रयोग हुँदै आएको खाने तेल खराब अवस्थामा रहेको पाइएको र उक्त तेल नष्ट गरिएको अनुगमन समितिले जनाएको छ। खाद्य उद्योगमा प्रयोग भइरहेको तेल खान योग्य भए–नभएको परीक्षण गर्न टेस्टोमिटरलगायत प्रविधिको प्रयोग गरी स्थलगत अनुगमन गरिएको थियो।

त्यसैगरी केही उद्योगको नवीकरण प्रक्रिया नियमित नभएको तथा खाद्य अनुज्ञापत्र नलिएको पाइएको छ। अनुगमन समितिले सम्बन्धित उद्योग सञ्चालकलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्न ७ दिनको समयसीमा दिएको जनाएको छ। बजार अनुगमनका क्रममा फिक्कल बजारको बिहिबारे हटियाबाट उपभोक्तालाई खान अयोग्य आँटा बिक्रि भएको पाइएको छ । खराब आँटा बिक्रि भएको भनि उपुरी परेपछि नगर प्रहरी सहितको टोलीले आँटा जफत गरि जफत गरिएको छ ।
उपभोक्ताले दैनिक उपभोग गर्ने खाद्य वस्तुको गुणस्तर कायम गराउने, खाद्य उद्योग तथा व्यवसायीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गराउने र बजारमा अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको बिक्री–वितरण रोक्ने उद्देश्यले अनुगमन गरिएको नगरपालिकाले जनाएको छ। अनुगमन टोलीले खाद्य उद्योग तथा मिठाइ पसल सञ्चालकलाई खाद्य स्वच्छता, गुणस्तर, उत्पादन तथा भण्डारण प्रक्रियामा विशेष ध्यान दिन र आवश्यक कानुनी मापदण्ड तथा अनुमति अनिवार्य रूपमा पूरा गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार