Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

काँकडभिट्टासँग क्लब ओएसिस इलाम ४–१ ले पराजित

काँकडभिट्टासँग क्लब ओएसिस इलाम ४–१ ले पराजित

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २१ २०८३


काँकडभिट्टासँग क्लब ओएसिस इलाम ४–१ ले पराजित

इलाम । प्रथम गौरादह महिला फुटबल प्रतियोगिता–२०८३ को क्वार्टरफाइनलमा क्लब ओएसिस इलाम काँकडभिट्टा वुमन्स एफसीसँग ४–१ गोल अन्तरले पराजित भएको छ। इलामको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी ओएसिसले तेश्रो क्वार्टरफाइनलमा काँकडभिट्टासँग प्रतिस्पर्धा गरेको हो। खेलको पहिलो हाफमै चार गोल बेहोरेपछि ओएसिस दबाबमा परेको थियो।

काँकडभिट्टाले खेलको चौथो मिनेटमै अग्रता लिएको थियो। पेनाल्टी एरिया नजिकबाट सरस्वती राजवंशीले गरेको प्रहार ओएसिसकी सेसेना लिम्बुलाई लाग्दै गोलमा परिणत भएको थियो। १७औँ मिनेटमा ओएसिसकी गोलरक्षक सबनम राईले नियन्त्रणमा लिन नसकेको बल पेनाल्टी एरिया नजिकै नयन राईले पाउँदै गोल गरिन्। त्यससँगै काँकडभिट्टाले २–० को अग्रता बनायो।

१९औँ मिनेटमा तनुश्री रोयले गोल गर्दै काँकडभिट्टाको अग्रता ३–० मा पुर्‍याइन्। मध्यभागबाट आएको अवसरमा ओएसिसकी गोलरक्षक अघि बढेको फाइदा उठाउँदै रोयले गोल गरेकी हुन्। २८औँ मिनेटमा ओएसिसले खेलमा फर्किने संकेत देखायो। आयुसा राईको लामो पासलाई कल्पना जिम्बाले गोलमा परिणत गर्दै अन्तर ३–१ मा झारिन्। तर, पहिलो हाफ सकिनुअघि नै काँकडभिट्टाले अर्को गोल थप्यो।

३४औँ मिनेटमा सरस्वती राजवंशीको पासमा तनुश्री रोयले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–१ को अग्रता दिलाइन्। दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन। पहिलो हाफमा कायम गरेको अग्रता जोगाउँदै काँकडभिट्टा वुमन्स एफसीले प्रतियोगिताको सेमिफाइनल यात्रा तय गरेको छ। प्रतियोगिताको क्वार्टरफाइनलमा दुवै टोलीबाट नेपालका विभिन्न उमेर समूहका राष्ट्रिय खेलाडीसमेत सहभागी थिए।

काँकडभिट्टाले फाइनल प्रवेशका लागि भारतको रतखोला एफसीसंग प्रतिस्पर्धा गर्नेछ । रातखोलाले फेयर एफसी धरानलाई हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेकोछ । अन्तिम क्वाटरफाइनल खेलमा घरेलु टिम स्पर्श सामाजिक क्लब र गाइघाट एफसी बिच प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार