इलाम । पत्रकार तथा लेखक धर्म गौतमद्वारा लिखित कृति ‘बीपी र विद्रोहका ती दिन’को सूर्योदय नगरपालिकामा विमोचन तथा विमर्श कार्यक्रम आइतबार सम्पन्न भएको छ। सूर्योदय नगरपालिका–१०, फिक्कलस्थित लाप्चा भवनमा आयोजित कार्यक्रममा कृतिमाथि साहित्यकार तथा लेखक दीपक अधिकारीले विवेचना गरेका थिए। कार्यक्रममा लेखक गौतम र पूर्वप्रदेशसभा सदस्य काजीमान कागतेले मन्तव्य राखेका थिए।
कार्यक्रममा ‘बीपी र विद्रोहका ती दिन’लाई लेखक गौतमको व्यक्तिगत राजनीतिक अनुभव, स्मृति र तत्कालीन नेपाली राजनीतिक परिवेशलाई बुझ्न उपयोगी कृतिका रूपमा चर्चा गरेका थिए। प्रत्यक्ष रूपमा राजनीतिक संघर्ष र पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन भोगेका गौतमले आफ्नो अनुभव र दृष्टिकोणमार्फत इतिहासको महत्वपूर्ण कालखण्डलाई पुस्तकमा प्रस्तुत गरेको उनीहरूको भनाइ थियो।
कृतिमा गौतमको इलामबाट सुरु भएको राजनीतिक यात्रा, नक्सलबारी, बिहार र बनारस हुँदै काठमाडौंसम्मको गतिविधि तथा तत्कालीन नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगको निकट सम्बन्धलाई समेटिएको छ। पञ्चायती व्यवस्थाविरुद्धको सशस्त्र संघर्ष, भूमिगत जीवन, पक्राउ तथा कारावासका अनुभवदेखि बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिसम्मका राजनीतिक घटनाक्रम पुस्तकमा समेटिएका छन्।
बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किनुअघि नेपाल पठाएका तीन विश्वासपात्रमध्ये गौतमसमेत रहेको प्रसंगलाई समेत कृतिको महत्वपूर्ण ऐतिहासिक पक्षका रूपमा लिइएको छ। गत साउन ३१ गते काठमाडौंमा पहिलोपटक विमोचन गरिएको कृतिको लेखकको गृहजिल्ला इलाममा इलाम नगरपालिका अन्तर्गतको साहित्य, कला तथा संगीत प्रतिष्ठानको आयोजनामा गृह विमोचन तथा विमर्श गरिएको थियो।
त्यसपछि सूर्योदयमा दोस्रो कार्यक्रम आयोजना गरिएको हो। किताब पब्लिसर्सद्वारा प्रकाशित पुस्तकबाट प्रकाशन खर्च कटाएर लेखकलाई प्राप्त हुने रकमको १० प्रतिशत गाउँमा रहेका विद्यालय तथा सामाजिक कार्यमा खर्च गर्ने गौतमले यसअघि बताएका छन्। गौतमका अनुसार ‘बीपी र विद्रोहका ती दिन’को विमोचन तथा विमर्श कार्यक्रम आइतबार नै विर्तामोडमा समेत आयोजना भएको छ।
आगामी सोमबार विराटनगरमा कार्यक्रम आयोजना हुने उनले जानकारी दिए।