Local Sandesh बुधबार, भाद्र १० २०८३
  • ट्रेण्डिङ :

‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’ माथि इलाममा विमर्श

‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’ माथि इलाममा विमर्श

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र ५ २०८३


‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’ माथि इलाममा विमर्श

इलाम । कवि दीपा राई पुनको कविता कृति ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’ माथि इलाममा विमर्श कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिकाको सहकार्य तथा इलाम साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा शुक्रबार इलामस्थित अरनिको सांस्कृतिक सङ्ग्रहालय, पुरानो दरबारमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा कृतिमाथि कवि विमल वैद्य र डा। मधुराज केरुङले समीक्षात्मक विमर्श गरेका थिए । वक्ताहरूले कृतिमा समेटिएका कविता, कविताभित्रका भाव, प्रकृति, जीवन, समय, अनुभूति तथा सामाजिक पक्षबारे चर्चा गरे । कवि पुनको चौथो कृतिका रूपमा रहेको उक्त कविता सङ्ग्रहमा सङ्ग्रहीत कविताहरूमा मूलतः प्रजातान्त्रिक चेतना, निराशावादी भावबोध तथा जीवनसँगको निकट सम्बन्ध अभिव्यक्त भएको वक्ताहरूले बताएका छन् ।

कार्यक्रममा साहित्यकार, प्राध्यापक, लेखक, कलाकार तथा साहित्यप्रेमीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले नेपाली कविता क्षेत्रमा दीपा राई पुनको कृतिले बोकेको विशिष्टता र समकालीन सन्दर्भबारे समेत विचार व्यक्त गरेका थिए ।कार्यक्रममा इलामका विशिष्ट नागरिक युद्धप्रसाद वैद्य, प्राज्ञ कोमल निरौला, फाल्गुनन्द प्रज्ञा प्रतिष्ठानका कुलपति समदर्शी काइला, प्राध्यापक अरुण बराल र गायक देवी गौतमले कृतिमाथि समीक्षा सहित शुभकामना मन्तव्य राखेका थिए ।

प्राध्यापकद्वय राजेन्द्र बराल र पाँचथरका कवि गजेन्द्र राईले कृतिभित्रको एउटा एउटा कविता वाचन गरेका थिए । कार्यक्रमले इलामको साहित्यिक तथा सिर्जनात्मक गतिविधिलाई थप चलायमान बनाउँदै साहित्यिक कृतिमाथि बहस र विमर्शको संस्कृति विकास गर्न योगदान पुगेको आयोजकले जनाएको छ ।

इलाम साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्राज्ञ प्रकाश थाम्सुहाङको सभादक्षतामा भएको विमर्श कार्यक्रममा सचिव जयनारायण भट्टराईले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार