Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुलाचुलीका किसानमा पिँडालु खेतीप्रति आकर्षण बढ्दै

चुलाचुलीका किसानमा पिँडालु खेतीप्रति आकर्षण बढ्दै

  • देवेन्द्र पौडेल
  • शुक्रबार, साउन २२ २०८३


चुलाचुलीका किसानमा पिँडालु खेतीप्रति आकर्षण बढ्दै

चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाका किसानहरू पछिल्लो समय पिँडालु खेतीतर्फ आकर्षित हुन थालेका छन् । धान खेतीका लागि पर्याप्त सिँचाइको अभाव र उत्पादन लागत बढ्दै गएपछि धेरै किसानले धानको विकल्पका रूपमा पिँडालु खेतीलाई रोज्न थालेका हुन् । चुलाचुली गाउँपालिका-३ का कृषक आसबहादुर राईले विगत केही वर्षदेखि प्रत्येक वर्ष दुईदेखि तीन कट्ठा क्षेत्रफलमा पिँडालु खेती गर्दै आएका छन् ।

धान खेतीमा लागत र श्रम बढी लाग्ने भएकाले प्रत्येक वर्ष धानको क्षेत्रफल घटाउँदै पिँडालु खेती विस्तार गरिरहेको उनी बताउँछन् । उनका अनुसार प्रतिकट्ठा पिँडालुबाट वार्षिक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ । धान खेतीमा धेरै जोताइ, रोपाइ, सिँचाइ तथा श्रम आवश्यक पर्ने भए पनि पिँडालु खेतीमा तुलनात्मक रूपमा कम लागत, कम श्रम र न्यून सिँचाइमै राम्रो उत्पादन लिन सकिने भएकाले किसानको आकर्षण बढ्दै गएको उनको भनाइ छ।

चुलाचुली–४ पालिका टोलका कृषक राजमान राई पनि नियमित रूपमा पिँडालु खेती गर्दै आएका छन् । राम्रो उत्पादनका लागि उनले हरेक वर्ष फरक–फरक खेतमा पिँडालु रोप्ने गरेका छन । फागुनमा रोपिएको पिँडालु असोजदेखि कात्तिकभित्र उत्पादन हुने र सामान्य गोडमेलबाहेक धेरै मेहनत आवश्यक नपर्ने उनको अनुभव छ।

चुलाचुली–४ कै कृषक वीरबहादुर मगरले पनि पिँडालुसँगै घरतरुलको खेती गर्दै आएका छन् । सुख्खा जमिनमा धानको उत्पादन न्यून हुने भएकाले विगतमा सिमलतरुल खेती गर्दै आए पनि उचित मूल्य नपाएपछि पाँच वर्षअघि पिँडालु खेती सुरु गरेको उनी बताउँछन् । उनका अनुसार दुई कट्ठा पिँडालु खेतीबाट हुने आम्दानीले दशैं–तिहारजस्ता ठूला चाडपर्वको खर्च सहज रूपमा धान्ने गरेको छ ।

दमकका एक तरकारी व्यवसायी टापनको सल्लाह र सहयोगमा चुलाचुलीमा व्यावसायिक रूपमा पिँडालु खेती विस्तार भएको स्थानीय किसानहरू बताउँछन् । चुलाचुली–३ की कृषक विमला राईका अनुसार तरकारी खरिद गर्न आउने टापनले पिँडालु खेतीबाट राम्रो आम्दानी हुने सुझाव दिएपछि धेरै किसान यसतर्फ आकर्षित भएका हुन् । उनका अनुसार बिउ अभाव हुँदा पनि टापनले नै किसानलाई बिउ उपलब्ध गराउने गरेका छन् भने चुलाचुलीमा उत्पादित अधिकांश पिँडालु पनि उनैले खरिद गर्ने गरेका छन् ।

नेपालका तराई, पहाड तथा मध्यपहाडी क्षेत्रमा पिँडालुका २४ भन्दा बढी स्थानीय जातको खेती गरिन्छ । कर्मो, हाते, जलेलगायत विभिन्न जातका पिँडालु उत्पादन हुने भए पनि चुलाचुली क्षेत्रमा स्थानीय जातको कालो पिँडालुको उत्पादन राम्रो हुने गरेको किसानहरूको भनाइ छ । पिँडालु स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायक मानिन्छ । यसले पाचन प्रणाली सुधार गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा मधुमेहका बिरामीलाई समेत लाभ पुग्ने चिकित्सकहरूको सुझाव छ ।

पिँडालुमा कार्बोहाइड्रेट, फाइबर, म्याग्नेसियम, पोटासियम र क्याल्सियमजस्ता पोषक तत्त्व प्रशस्त मात्रामा पाइने भएकाले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको छ । कम लागतमा राम्रो आम्दानी दिन सक्ने तथा स्वास्थ्यका दृष्टिले समेत उपयोगी बालीका रूपमा स्थापित हुँदै गएको पिँडालु खेतीको विस्तार र प्रवर्द्धनका लागि सम्बन्धित निकायले किसानलाई प्राविधिक सहयोग, गुणस्तरीय बिउ, बजार व्यवस्थापन तथा आवश्यक अनुदान कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार