Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

‘दी ब्याक बोन अफ नेपाली फुटबल’ अनन्त तामाङ

‘दी ब्याक बोन अफ नेपाली फुटबल’ अनन्त तामाङ

  • नमीन ढकाल
  • आइतबार, चैत्र १ २०८२


‘दी ब्याक बोन अफ नेपाली फुटबल’ अनन्त तामाङ

इलाम । नेपाली फुटबलमा केही यस्ता खेलाडी पनि जन्मिए जसको नाम मात्रैले पनि टिममेटमा भरोसा दिलाउँछ त्यही मध्ये एक हुन् अनन्त तामाङ । झापाका शिवसताक्षी नगरपालिका झिलझिलेका स्थायी बासिन्दा अनन्त मैदानमा उभिएर खासै बोल्दैनन् । तर उनको उपस्थितीले राष्ट्रिय टिममा होस वा क्लबमा छुट्टै भरोसा दिलाउँछ ।

झापाको साधारण परिवेशबाट सुरु भएको उनको फुटबल यात्रा आज नेपाली राष्ट्रिय फुटबल टिमको आधारस्तम्भ बनेको छ । १४ जनवरी १९९८ मा जन्मिएका अनन्त सानैदेखि फुटबलप्रति आकर्षित थिए । सीमित श्रोत साधन, पूर्वाधारको अभाव र कडा प्रतिस्पर्धाबीच पनि उनले अभ्यास र अनुशासनलाई कहिल्यै त्यागेनन् । यही निरन्तरताले उनी एक दशक भन्दा लामो समय देखि नेपालको सिनियर राष्ट्रिय टिममा अविछिन्न रुपमा डिफेन्स लाइन सम्हालिरहेका छन् ।

एन्फा एकाडेमी पाँचौ ब्याचका उत्पादन अनन्त नेपालको यु–१६, यु–१९, यु–२३ हुँदै सिनियर टिमबाट खेल्दा नेतृत्व क्षमता र डिफेन्सको परिपक्वता प्रदर्शन गरे । विशेष गरी नेपाल यु–१९ टोलीका उपकप्तान रहँदा घरेलु मैदान दशरथ रंगशालामा साफ यु–१९ च्याम्पियनसिप २०१५ जित्ने टोलीका प्रमुख सदस्य बनेर उनले आफूलाई राष्ट्रिय स्तरमा चिनाए । त्यही टिमका अधिकाँश खेलाडीहरु अहिले नेपाली फुटबलबाट पलायन भइसकेका छन् । तर अनन्त अविछिन्न रुपमा नेपालको प्रतिनिधित्व गरिरहेका छन् । त्यसको केही समयपछि, सन् २०१५ मै भारतविरुद्धको मैत्रीपूर्ण खेलबाट उनले सीनियर राष्ट्रिय टिममा डेब्यु गरे ।

भारतविरुद्ध अगस्ट ३१ मा पुनेमा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा उनले पहिलो पटक नेपालका लागि खेल्ने अवसर पाए र प्रशिक्षक थिए, ध्रुव केसी । त्यस खेलमा एकैपल्ट पाँच खेलाडीले डेब्युको अवसर पाएका थिए । त्यसमध्ये अनन्तले स्टार्टिङ लाइन अपमै खेल्ने मौका पाएका थिए । त्यसयता अनन्त नेपाली राष्ट्रिय फुटबल टिमका नियमित र अनुभवी डिफेन्डरका रूपमा स्थापित छन् । विपक्षीको तीव्र आक्रमण, दबाबपूर्ण क्षण र निर्णायक खेलहरूमा संयमितता उनलाई चिनाउने अर्को आधार पनि हो ।

जनवरी २०१७ मा स्पेनी क्लब मार्बेला युनाइटेडको २०१५–१६ सिजनको प्रि–सिजन प्रशिक्षण तथा गतिविधिमा सहभागी हुने अवसर प्राप्त गरेका थिए । पछि उनी २०१८ मा उक्त क्लबमा आबद्ध भए तर डेब्यु गर्न नपाई केही समयमै घाइते हुन पुगे । त्यसपछि उनी नेपाल फर्किए र सहिद स्मारक ए–डिभिजन लिगको टोली थ्री स्टार क्लबसँग सम्झौता गरे । सन् २०२२ सम्म अनन्तले थ्रीस्टारमा नै विताए । घरेलु फुटबलमा अनन्तले विभिन्न नेपाली क्लबबाट खेल्दै आफ्नो क्षमता प्रमाणित गरे ।

सहिद स्मारक ‘ए’ डिभिजन लिग र नेपाल सुपर लिगमा देखाएको निरन्तर प्रदर्शनले उनलाई लिगका उत्कृष्ट डिफेन्डरको उपमा दिलाउन सफल रहयो । नेपाली राष्ट्रिय टिम र थ्रीस्टारमा पाएको सफलताका कारण इन्डियन सुपर लिगको क्लब इस्ट बंगालमा अनुबन्ध हुने अवसर पाए । यससँगै उनी इन्डियन सुपर लिग (आइएसएल) मा खेल्ने पहिलो नेपाली फुटबल खेलाडी बन्न पुगे । भारतीय राष्ट्रिय टिमका कप्तान सुनील क्षेत्रीको कप्तानीमा उत्रिएको बेङग्लरु एफसी विरुद्ध आइएसएलमा डेव्यु गरेका थिए ।

\उनी अष्ट्रेलियन डिफेन्डर टोमिस्लाभ मर्सेलाको स्थानमा क्लबको एकमात्र एएफसी कोटाका खेलाडीका रूपमा क्लबमा आबद्ध भएका थिए । दोश्रो नेपाल सुपर लिग (एनएसएल) मा मार्की प्लेयरको रुपमा ललितपुर सिटीसंग आवद्ध भएका थिए । यो संगै क्ल्बले उनलाई कप्तानको जिम्मेवारी सुम्पिएको थियो । लिग चरणमा ८ मध्ये २ जित र ४ बराबरी नतिजाका साथ चौथो रहँदै ललितपुरलाई प्लेअफमा प्रवेश गराए ।

क्वालिफायर चरणमा ललितपुरलाई सुझवुझपूर्ण कप्तानको रुपमा प्रस्तुत गर्दै डिफेन्डिङ च्याम्पियन काठमाण्डौ रेजर्स र पोखरा एभेन्जर्सलाई हराउँदै फाइनलमा पु¥याउन सफल रहे । फाइनलमा अर्का झापाली खेलाडी देवेन्द्र तामाङको कप्तानीमा रहेको धनगढी एफसीलाई हराउँदै उपाधि दिलाए ।

तेश्रो संस्करणमा चितवन एफसीमा मार्की प्लेयर र कप्तानको रुपमा देखापरेपनि फाइनलसम्म पु¥याउन असफल रहे । त्यती मात्र हैन् भरखरै बी डिभिजनबाट ए मा बढुवा भएको चर्च बोइज युनाइटेडको कप्तानको रुपमा सहिद स्मारक ए डिभिजन लिगको उपाधि दिलाउन कप्तानी भुमिका पनि खेले । लिग च्याम्पियनहरुले खेल्ने एएफसी च्यालेन्ज लिगमा भुटानको पारो विरुद्ध कप्तानको भुमिका निर्वाह गरे । जहाँ विश्वकप खेलिसकेका जापानी स्टार काइसुकी होन्डा विरुद्ध प्रतिस्पर्धा गर्ने अवसर समेत पाए ।

व्यक्तिगत उपलब्धिको हिसाबले पनि अनन्त तामाङको यात्रा प्रभावशाली छ । चर्चलाई सहिद स्मारक ‘ए’ डिभिजन लिग २०८० दिलाएपछि मस्ट भ्यालुएबल प्लेयर बन्न सफल रहे । बंगलादेशी क्लबमा जानु अघि त्रिभुवन आर्मीबाट भारतको प्रतिष्ठित डुरान्ड कपमा समेत सहभागी भए । गृह जिल्लामा नै भएको चौथो एनएसजेएफ झापा स्र्पोटर्स अवार्ड २०७६ को उत्कृष्ट पुरुष बर्ष खेलाडीको रुपमा फुटबलकै छिरिङ गुरुङ र सेसेहाङ आङदाम्बेलाई पछि पार्दै बाइक समेत प्राप्त गरे । अनन्तको एनएसजेएफको यात्रा त्यतीमा मात्र सिमित भएन् । थ्रीस्टार, चर्च बोइज, त्रिभुवन आर्मीका अतिरिक्त विभिन्न क्लबहरुबाट गोल्डकपमा सहभागिता जनाए ।

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्र्पोटर्स अवार्डको २० औ संस्करण–२०८० मा पिपल च्वाइस विधामा मनोनयनमा पर्नाले उनको योगदानलाई थप मान्यता दिएको छ । पछिल्लो समय अनन्तले बंगलादेशको शीर्ष डिभिजन फुटबल लिगमा फोर्टिस एफसीबाट सहभागिता जनाइरहेका छन् । नेपाली राष्ट्रिय टिमबाट उपाधि जित्ने कम खेलाडी मध्येमा अनन्त पनि पर्छन् ।

सन् २०१३ मा साफ यु–१७ च्याम्पियनसिप उपविजेता टिममा रहेका अनन्तले २०१४ को एएफसी यु–१६ च्याम्पियनसिपमा एउटा खेलमा कप्तान नै सम्हाले । क्वालिफायर खेलमा बहराइन, इरान र तुर्केमिनिस्तान जस्तो बरियतामा माथि रहेको टोलीलाई पछि पार्दै छनौट भएको नेपालका लागि नियमित कप्तान विमल घर्ती मगर अनुपस्थित रहेका बेला उज्बेकिस्तानविरुद्धको पहिलो खेलमा उनले टोलीको कप्तानी गर्दै नेतृत्व क्षमता देखाए । सोही प्रतियोगितामा उनले उत्तर कोरियाविरुद्ध हेडिरमार्फत गोल गरे पनि नेपाल ४–१ ले पराजित भएसंगै तेश्रो स्थान रहँदै प्रतियोगिता अन्त्य गरेको थियो । सन् २०१५ मा साफ यु–१९ जित्दा उपकप्तान बने ।

१२ औ दक्षिण एसियाली खेलकुद (साग) मा भारतलाई हराउँदै स्वर्ण पदक जित्दाका सदस्य अनन्तले १३ औ दक्षिण एसियाली खेलकुदमा भुटानलाई हराउँदा समेत स्वर्ण पदक लगाउने अवसर पाए । नेपाली राष्ट्रिय टिमले २३ बर्षपछि उपाधिको खडेरी अन्त्य गरेको बर्ष २०१६ मा बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी बिजेता टिमको सदस्य बन्ने ऐतिहासिक अवसर समेत पाए । सन् २०२१ मा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनल पुगेको टिममा समेत अनन्त थिए ।

डिफेन्डर भएर पनि अनन्त केवल गोल रोक्ने भूमिकामा सीमित छैनन् । निर्णायक खेलहरूमा उनले गोल गर्दै राष्ट्रिय टिमलाई जित दिलाएका क्षणहरू छन् । सोलिडारिटी कपमा सेमिफाइनल खेलमा लाओस विरुद्ध १०४ औ मिनेटमा गोल गर्दै नेपाललाई फाइलनसम्म पुग्न योगदान गरे । सन् २०१८ को साफ च्याम्पियनसिपमा भुटान विरुद्ध टिमको लागि पहिलो गोल गरे । सन् २०२१ मा ओमन विरुद्ध मैत्रीपूर्ण खेलमा समेत टिमका लागि गोल गरे । सन् २०२३ मा लाओस विरुद्ध उनको गोलसहित नेपालले २–० को महत्वपूर्ण जीत हात पारेको थियो ।

जेनजी आन्दोलन अघि घरेलु मैदानमा बंगलादेश विरुद्ध अतिरिक्त समयमा गोल गर्दै नेपाललाई हारबाट जोगाउनु उनको बहुआयामिक खेलको उदाहरण हो । मैदानबाहिर अनन्त नेपाली फुटबलप्रति सचेत आवाजका रूपमा पनि चिनिन्छन् । उनले अखिल नेपाल फुटबल संघ (एन्फा) र घरेलु फुटबल संरचनाबारे सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै आएका छन् ।

घरेलु लिगको अव्यवस्था, नियमित प्रतियोगिताको अभाव र त्यसले खेलाडीको करियरमा पार्ने प्रभावबारे उनले स्पष्ट चेतावनी दिँदै आएका छन । उनका विचारहरू आलोचनाभन्दा बढी सुधारको अपेक्षाबाट प्रेरित देखिन्छन् । अनन्त तामाङको कथा स्टारडमको कथा मात्र हैन् । लगाव, निरन्तरता, अनुशासन र जिम्मेवारीको कथा हो । झापाबाट सुरु भएको यो यात्रा आज अन्तर्राष्ट्रिय लिगसम्म पुगे पनि उनी अझै राष्ट्रिय जर्सीलाई पहिलो प्राथमिकता दिन्छन् । नेपालबाट हालसम्म ७१ क्याप जितेका उनले आधिकारिक रुपमा फिफाको मान्यतामा ४ गोल गरेका छन् ।

अनन्त तामाङलाई परम्परागत सेन्टर ब्याक शैलीका डिफेन्डरका रूपमा लिइन्छ । उनी वान भर्सेस प्रतिस्पर्धामा बलिया छन् र ट्याकल, अन्तिम क्षणको चुनौती तथा इन्टरसेप्सन मार्फत विपक्षीको आक्रमण विफल पार्न दक्ष मानिन्छन् । विपक्षीसँग अन्तिम समयसम्म ट्रयाक गर्दै सही क्षणमा हस्तक्षेप गर्न सक्ने क्षमता नै उनको सबैभन्दा ठूलो बलियो पक्ष हो । शान्त, अनुशासित र क्विक क्लियरेन्स गर्न सक्ने क्षमताका कारण उनी प्रशिक्षकहरूको भरोसाको पात्र बन्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार