Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

प्रदेश सरकारका सार्वजनिक बिदा संघीय सरकार मातहतका कार्यालयद्वारा अवज्ञा

प्रदेश सरकारका सार्वजनिक बिदा संघीय सरकार मातहतका कार्यालयद्वारा अवज्ञा

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र ७ २०७५


प्रदेश सरकारका सार्वजनिक बिदा संघीय सरकार मातहतका कार्यालयद्वारा अवज्ञा

इलाम । प्रदेश १ को सरकारले गरेको निर्णयलाई सोही प्रदेशका जिल्ला प्रशासन कार्यालयहरुले नै अवज्ञा गरेका छन् । मुस्लिम समुदायको बकर–इद (इदुल जोहा) पर्वको अवसरमा प्रदेश सरकारले बुधबार प्रदेशभर सार्वजनिक दिने निर्णय गरेपनि यहाँका सम्पूर्ण विषयगत कार्यालयहरु खुल्ला नै रहेका छन । प्रदेश सरकारको निर्णयलाई अवज्ञा गर्दै इलाम जिल्लामा रहेका संघीय सरकार मातहतका विषयगत कार्यालयहरुले बुधवार नियमित कार्यसम्पादन गरे ।

प्रदेश सरकारले मंगलबार एक सूचना जारी गर्दै बकर–इद (इदुल जोहा)को अवसरमा बुधबार सार्वजनिक बिदा दिन सबै जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएको थियो । प्रदेश सरकारले प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै २९ चैत २०७४ को मन्त्री परिषदको बैठकले निर्णय गरी राजपत्रमा समेत प्रकाशित भएको जानकारी सहित बकर–इद (इदुल जोहा) पर्वमा बुधबार सार्वजनिक विदा दिन जानकारी गराएको थियो ।

यता जिल्ला प्रशासन कार्यालयहरुले भने संघीय सरकारबाट आधिकारिक रुपमा केही जानकारी नआएको भन्दै सार्वजनिक विदा दिएनन् । स्थानीय तह र शैक्षिक संस्थाहरुमा भने विदा भए । इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सीनाले गृह मन्त्रालयबाट बिदा सम्बन्धी आधिकारिक पत्र नआएकोले संघीय सरकार मातहत रहेका सम्पूर्ण विषयगत कार्यालयहरुमा विदा नगरिएको बताए ।

बुधबार जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, मालपोत कार्यालय, नापी नापी कार्यालय, जिल्ला हुलाक कार्यालय लगायतले बिदा कार्यान्वयन गरेनन् । यस अघी पनि साउन २४ गते विश्व आदिवासी दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेपनि प्रदेश भरका विषयगत कार्यालयहरु खुल्ला नै रहेका थिए । यस्ले गर्दा देशमा संघियता लागू भएपनि आवश्यक समन्वयको अभाव देखिएको छ ।

त्यसैगरी प्रदेश १ अन्तर्गत पर्ने झापा जिल्लाका संघीय सरकार मातहत रहेका कार्यालयहरूले पनि प्रदेश सरकारले दिएको बिदाको अवज्ञा गर्दै कार्यालय खुलाएका छन्। जिल्ला प्रशासन कार्यालय झापा, मालपोत, नापी, भूमि सुधार, आन्तरिक राजश्व, कोष तथा लेखा नियन्त्रक, शिक्षा, कृषि, वन, विद्युत, खानेपानीलगायत विषयगत कार्यालय खुला रहेका थिए।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अहिलेसम्म विषयगत कार्यालयहरू संघीय सरकारको मातहात रहेकाले गृह मन्त्रालयबाट पत्र नआएसम्म प्रदेश सरकारको सार्वजनिक बिदा मान्न नसकिने बताए। ‘गृह मन्त्रालयबाट बिदाको पत्र आए सबै कार्यालयहरू बिदा दिन सकिन्थ्यो’, उनले भने, ‘तर हामीले संघीय सरकारको निर्णय मान्नुपर्ने हुन्छ।ु बुधबार अन्य कार्यालय खुला रहे पनि जिल्ला अदालत भने बन्द रहेको थियो। प्रदेश सरकारको बिदाको दिन संघीय सरकार मातहत कार्यालयहरू खुला रहे पनि सेवाग्राहीको उपस्थिति भने ज्यादै न्यून रह्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार