Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

काँग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछ : प्रदीप पौडेल

काँग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछ : प्रदीप पौडेल

  • सन्देश सम्बाददाता
  • शनिबार, माघ २५ २०८२


काँग्रेस सच्चिएर आएको छ, मन र मत दुवै जित्नेछ : प्रदीप पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षानुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने अपेक्षा गरेका छन्। काठमाडौँ ५ मा क्षेत्रीय कार्य समितिले आयोजना गरेको सदस्य भेलामा बोल्दै सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका उनले भदौ २३ को आन्दोलनले आफूहरूलाई नै खबरदारी गरेको भन्दै कमजोरी स्विकारेर नागरिकले चाहेजस्तै परिमार्जन र रूपान्तरण गरेर पार्टी निर्वाचनमा होमिएको बताए।

‘हामीले सबैलाई तपाईंले भने जस्तो कांग्रेस बन्यो। तपाईंले खोजेजस्तो काँग्रेसले नै देश रूपान्तरण गर्छ मत दिएर सघाउनुस् भनेर भन्न जरुरी छ’, महामन्त्री पौडेलले भने। ‘भदौ २३ मा काँग्रेसलाई नै खबरदारी गर्ने गरी नेपालमा क्रान्ति भयो’‚ उनले भने, ‘हामीले गगन थापाको नेतृत्वमा कमजोरी स्विकार्न ढिला गरेनौँ। भित्रबाटै सच्चिनुपर्छ भनेका थियौँ। अन्ततः नागरिकले चाहेजस्तो परिमार्जन र रूपान्तरण गरेर निर्वाचनमा होमिएका छौँ।’ नेतृत्व र विचार प्रष्टबाट परिवर्तन गरेर आएको भन्दै उनले नागरिकले सच्चिएर रूपान्तरित भएर आउ भनेकाले तदनुसार सच्चिएको बताए।

जन्मको आधारमा पुराानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरू हुन नसक्ने भन्दै उनले कसैबाट विचार आयात गरेर जबरजस्त राजनीति नगरेको बताए। कसैलाई गाली गरेर मात्र आफू योग्य नभइने भन्दै महामन्त्री पौडेलले दृष्टिकोण र एजेण्डाका आधारमा अरूभन्दा राम्रो बन्न सकिने बताए। ‘मतदाताले पनि एजेण्डा र दृष्टिकोणका आधारमा छनोट गर्नुपर्छ। हामीले मर्यादित ढंगले मतदातामाझ गएर मत माग्न जरुरी छ’, उनले भने।

आफूले विगतमा पनि सांसदका रूपमा नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको प्रसंग कोट्याउँदै पूर्व सांसद तथा मन्त्रीसमेत रहेका पौडेलले यसले क्षेत्रका मतदाताको छाती गर्वले फुल्ने बताए। सांसद रहँदा ठूलो समस्या रहेको रिङ रोड निर्माणमा दबाब दिन सार्वजनिक महत्वको प्रस्ताव लगेकोदेखि मेलम्चीको पानी क्षेत्रभित्र विस्तारका लागि पनि संसद्‌मार्फत दबाब दिएको उनले बताए। ‘विष्णुमती करिडोरको विषय होस् वा खोलाको मापदण्ड, कुनै विषयमा पनि पैरवी गर्न छाडेनौं’, उनले भने।

महामन्त्री पौडेलले स्वास्थ्य मन्त्रीका रुपमा आफ्नो कामबाट क्षेत्रका मतदाता कसैले शिर निहुरिउनुपर्ने अवस्था नरहेको बताए। सभापति गगन थापाबाट प्रभावित भएको भन्दै राजनीति लामो गरिरहने नभई छोटो समय गर्ने तर देखिने गरी गर्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार