इलाम : नेपालको फुटबलको इतिहास राणाकालसँग जोडिन्छ। राणाहरूले नै नेपालमा फुटबल भित्र्याएका हुन्। भारतमा इस्ट इन्डिया कम्पनीले राज्य गरेपछि नेपालमा पनि त्यसकै प्रभावले फुटबल भित्रिएको हो। नेपाली फुटबल जन्मदाता नरशम्शेर राणालाई लिइँदै आएको छ।
वि.स १९७० पछि नेपालमा फुटबल खेलिएको इतिहास पाइन्छ। सन् १९३४ मा महावीर एघार, एनआरटी एघार, जावलखेल एघार र जनपक्षीय इन्स्टीच्युट एघारजस्ता टिमको स्थापना भएका छन्। महाविर, एनआरटी, जावलाखेलले नेपालको डिभिजन फुटबल खेल्छन्।
करिब ९० वर्ष लामो इतिहास बोकेका क्लबहरूसँगै अझै पनि आफ्नै स्थायी मैदान छैन। नेपालका ए डिभिजन क्लबमध्ये नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ र जावलाखेल बाहेक अन्य सबै क्लबले दशरथ रंगशाला वा च्यासल मैदानलाई होमग्राउन्डको रुपमा प्रयोग गर्दै आएका छन्। सन् १९५१ मा स्थापना भएको अखिल नेपाल फुटबल संघ ९एन्फा० भन्दा पनि पुराना क्लबहरूले आफ्नै मैदान नभएकाले क्लब फुटबललाई व्यवसायिक रुपमा अघि बढाउन सकेका छैनन्।
कतिपय क्लबहरूले सार्वजनिक जग्गामा फुटबल प्रशिक्षण गर्छन् जसमा उनीहरूको स्वामित्व छैन्। यसले व्यवसायिक फुटबलमा चुनौती थप्दै आएको छ। जसका कारण नेपालका शीर्ष क्लबहरूले एएफसी क्लब लाइसेन्स पाउन सकेका छैनन्। दुई वर्षअघि मात्र मच्छिन्द्र क्लबले दशरथ रंगशाला होम ग्राउन्ड देखाएर एएफसी क्लब च्याम्पियनसिप खेलेको थियो। तर त्यसपछि मापदण्ड पुरा गर्न नसक्दा नेपालका क्लबहरू एएफसी लाइसेन्सबाट बञ्चित छन्।
धेरैजसो क्लबहरूले आवश्यक मापदण्ड पूरा गर्न नसक्दा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खेल्न पाएका छैनन्। २०१९ मा एएफसीले एन्फालाई आवश्यक मापदण्ड पूरा नगरेको भन्दै ३५ हजार अमेरिकी डलर जरिवाना समेत लगाएको थियो।
इलामकै हिसाबले हेर्ने हो भने वि.स १९९० को दशकमा फुटबल खेलहरू आयोजना भएको इतिहास पाइन्छ। तत्कालीन बडाहाकिम महावीर शमशेरका नाममा स्थापित महावीर शिल्ड, गजराज बुढाथोकीका नामको गजराज कप, ज्ञानी भक्तराजका नाममा सुरु गरिएको ज्ञानी मेमोरियल शिल्ड र कमल गजमेरका नाममा राखिएको कमल शिल्ड, भूकम्पपीडित कप, माईभ्याली गोल्डकपसम्म भए।
अहिले इलाम गोल्डकप र महिला गोल्डकप अस्तित्वमा रहेका प्रतियोगिता हुन्। तर ति सबै प्रतियोगिता आयोजना आफ्नो मैदानमा भएन्। नेपाली सेनाको स्वामित्व रहेको ठुलो टुडिखेलमा प्रतियोगिताहरू भए। सेनाको स्वामित्व भएकाले क्लबहरूले सहज रुपमा उपयोग गर्न पाउँदैनन्।
अहिले नेपाली सेनासँगको सहकार्यमा रेडहर्स एफसी र क्लब ओएसिसबाट मैदान स्तरोन्नतीको काम हुँदै गरेको छ। तर गाउँका फुटबल क्लब र स्थानीय आयोजकहरूले आफ्नै पहलमा मैदान निर्माणको अभियान सुरु गरेका छन्। इलामको सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा रहेको टारी फुटबल क्लब पछिल्लो उदाहरण हो। क्लब २०७८ सालमा आधिकारिक रूपमा स्थापना भएको थियो।
अध्यक्ष महेन्द्र साउदेनका अनुसार क्लबले स्थापना भएसँगै आफ्नै स्थायी मैदान निर्माण गर्ने योजना बनाएको थियो। ‘हाम्रो मुख्य चुनौती थियो मैदानको अभाव। बारम्बार प्रतियोगिता आयोजना गर्दा मैदान लिजमा लिनुपर्थ्यो र पछि फिर्ता दिनुपर्ने बाध्यता थियो।यसले प्रशिक्षण र खेलकुदको स्तरमा अस्थिरता ल्याउँथ्यो,’ साउदेनले भने, ‘खेतका गरा र बारीमा हालसम्म प्रतियोगिता आयोजना गरिएको छ। हरेक वर्ष मैदान परिर्वतन भइरहन्थ्यो। बारीलाई खेल्न मिल्ने बनाउन हरेक वर्ष खर्च गरिरहेका थियौ।’
क्लब सचिव रुपेन्द्रराज नेम्वाङले थपे, ‘हामीले गाउँ, क्षेत्रीय सहयोगी र विदेशमा रहेका समर्थकहरूको सहयोगमा ४० लाख रुपैयाँ खर्चेर ११ रोपनी ५ आना जमिनमा सेभेन साइडको स्थायी मैदान निर्माण गर्यौं। अब हामी आफ्नै मैदानमा प्रतियोगिता सञ्चालन गर्न सक्छौं।’
सन्दकपुर क्षेत्रमा वर्षेनी १४ वटा फुटबल प्रतियोगिता आयोजना हुन्छ। तर हालसम्म देउराली स्पोर्टिङ क्लब बाहेक अन्यसँग आफ्नो मैदान थिएन्। देउराली स्पोर्टिङ क्लबका अध्यक्ष आइन्द्र राई आफ्नै मैदान भएका आयोजक मध्येमा आफ्नो क्लब हुनु गर्वको बिषय भएको महसुस गर्छन्। ‘क्लबको आफ्नै मैदान भएकाले चाहेको समयमा प्रतियोगिता गर्न सक्षम भएका छौँ’, उनले भने।
इलाम जिल्ला फुटबल संघमा आवद्ध रहेको क्लबले हरेक वर्ष वैशाख १ गते फाइनल गर्ने गरि प्रदेश स्तरिय आमन्त्रित फुटबल प्रतियोगिता गर्दै आएको छ। रेफ्री समेत रहेका क्लबका उपाध्यक्ष सुरेश थापा मगर प्रतियोगिताले खेलकुद पर्यटनलाई टेवा पुर्याएको बताउँछन्। ‘फुटबल प्रतियोगिता मात्र हैन् रामसार सुचीमा सुचिकृत भएको माइपोखरी, सातखाल्डे सहिद पार्क, डम्बरसिंह सुनुवार सांस्कृतिक सँग्राहलयसँगै सन्दकपुर क्षेत्रको समेत प्रचारपसार हुँदै आएको छ। फुटबलको माध्यमबाट पर्यटन प्रचार गर्दैछौ। ’
क्लबले सहिदहरूको सम्मानका लागि मैदानको नाम सातखाल्डे खेलमैदान समेत नामाकरण गरेको छ। धेरै जसो आयोजनाहरू विद्यालयको खेलमैदान हुन्छन्। प्रतियोगिता आयोजनाका लागि विद्यालयको बिदाको अवसर पर्खनुपर्ने हुन्छ। छिन्तापु स्पोर्टिङ क्लबले हरेक वर्ष दशैको अवसर पारेर प्रतियोगिता आयोजना गर्छ।
श्यामबल माविको मैदान भएको कारण पठनपाठनलाई असर नपर्ने गरि दशैको विदाको समयमा प्रतियोगिता आयोजना हुन्छ। कतिपय विद्यालय परिसर भन्दा टाढा रहेका मैदानमा समेत विद्यालयसँगको समन्वयमा प्रतियोगिता गरिदै आएको छ। सन्दकपुर–४ माबुको सन्दकपुर खेल संघले प्रवोध माविको खेलमैदानमा प्रतियोगिता आयोजन गर्छ। जुन मैदान विद्यालय भन्दा करिब १ किलोमिटरको दुरीमा छ। विद्यालयसँगको समन्वयमा असारमा प्रतियोगिता आयोजना गरिदै आएको क्लबका अध्यक्ष रेखा गुरुङ बताउँछन्।
छाँगे स्पोर्टिङ क्लब सन्दकपुर–१ ले समेत आदरर्णीय माविको मैदानमा हरेक वर्ष शिवरात्रीमा फुटबल प्रतियोगिता गर्दै आएको छ। टोड्के झर्ना स्पोर्टिङ क्लब र नालिफुङवा स्पोर्टिङ क्लबले समेत विद्यालयको स्वामित्वमा रहेको मैदानमा प्रतियोगिता आयोजना गर्छन्।
टोड्के झर्ना स्पोर्टिङ क्लबका अध्यक्ष कर्ण राई आफ्नै मैदान बनाउने प्रयास भइरहेको बताउँछन्। ‘हाल प्रतियोगिता संचालन गरेको मैदान राराहाङ परिवारले सरस्वती आधारभुत विद्यालयलाई ९ रोपनी १० आना जग्गा दिनुभएको रहेछ। तर हदबन्दीका कारण अहिलेसम्म पास भएको छैनु, उनले भने, ‘क्लब स्थापना नभएकाले स्कुललाई दिइएको रहेछ अहिले स्कुललाई दिने की क्लबलाई भन्ने बिषयमा छलफल भइरहेको छ। अहिले मैदान क्लबले नै संरक्षण गरिरहेको छ। सहकार्यबाट नै निर्णय हुनेछ।’
इलामको व्यवस्थित मैदानको रुपमा रहेको सन्दकपुर–५ जमुनाको गजाधर–धनमाया रंगशाला समेत कागे फुटबल प्रतियोगिता आयोजक जमुना फुटबल क्लबको नाममा छैन्। स्थानीय भट्टराई परिवार र अन्य दाताहरूबाट प्राप्त २६ रोपनी जग्गामा बनाइएको मैदान वडा नं ५ को नाममा दर्ता रहेको वडा सदस्य कुमार गुरुङले बताए।
स्टेज सहितको मैदानलाई हाल जमुना फुटबल क्लबले प्रयोग गर्दै आएको छ। क्लबका सदस्य एवम पूर्व राष्ट्रिय खेलाडी छिरिङ गुरुङको सहयोगमा अहिले मैदानमा उमेर समुहका खेलाडीहरू नियमित रुपमा प्रशिक्षण गर्छन्।
कोशी प्रदेश फुटबल संघका उपमहासचिव पुर्ण फत्र गाउँगाउँमा मैदान बन्दा फुटबल लगायत अन्य खेलहरू चलायनमान बनाउन सहज हुने बताउँछन्। ‘आफ्नै खेलमैदान भएपछि जति बेला पनि प्रयोग गर्न पाइयो। इलामको टुडिखेल आर्मी स्वामित्व भएकाले गतिविध गर्न असहज छ। खेलाडीलाई १२ महिना ट्रेनिङ गराउँदै पाइन्छ।’ उनले भने ‘मैदान स्तरोन्नती गरेर बढाएपछि जिल्लाबाट क्लबहरू छान्दै गर्दा गाउँ गाउँमा पनि जिल्ला लिग र एन्फाका अन्य प्रतियोगिताहरू गर्न पनि सहज हुन्छ।’
सूर्योदय नगरपालिकालाई बसपार्क बनाउन भनेर उत्तम कुमार श्रेष्ठ लगायतले मेची राजमार्गबाट करिब २ सय मिटर तल केही वर्ष अघि जग्गा दिएका थिए। तर पार्किङ बन्न नसकेपछि निर्माण व्यवसायी प्रेम कार्कीले करिब १ लाख ५० हजार लागतमा मैदान निर्माण गरिदिएपछि छिपिटार टोल विकास संस्था र पम्पसिटी युथ क्लबले इलाम, झापा र मोरङका ८ टिमलाई आमन्त्रण गरेर प्रथम आमन्त्रित स्व। मैया कार्की स्मृति फुटबल प्रतियोगिता सम्पन्न गरेको छ।
हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने लक्ष्य राखिएको क्लबको सल्लाहकार समेत रहेका सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन पौडेलले बताए। गाउँका क्लबहरूको मैदानले गाउँका खेलाडीलाई स्थिर प्रशिक्षणको अवसर दिनुका साथै स्थानीय समुदायमा फुटबलप्रति उत्साह र आकर्षण पनि बढाएको छ। टारी फुटबल क्लबका सचिव नेम्वाङ भन्छन्, ‘जब खेलाडीहरूले आफ्नै मैदानमा अभ्यास गर्छन् र आफ्नै मैदानमा प्रतिस्पर्धा गर्छन्, उनीहरूको आत्मविश्वास र खेल कौशल दुवै बढ्छ। गाउँका युवा यसबाट धेरै प्रेरित भएका छन्।’
स्थानीय खेलकुद आयोजकहरूले भने मैदान निर्माणमा विदेशी सहयोगी र दाताबाट आर्थिक सहयोग संकलन गरेका छन्। यसले क्लबलाई आर्थिक स्थिरता र दीर्घकालीन योजना निर्माणमा सहयोग गरेको छ। जमुनाको मैदानका लागि बेलायतमा रहेका इलामेहरूले १४ लाख रुपैया भन्दा बढि सहयोग प्रदान गरेका छन्।
२ वर्ष अघि बेलायतबाट इलाम समाज युके भेट्रान्सको टिम कागे फुटबल खेल्न जमुना आएको थियो। बेलायत लाहुरे चोक गुरुङको नेतृत्वमा नेपाली राष्ट्रिय टिमका पूर्व डिफेन्डर लोकबन्धु गुरुङ सहित आएको टिमले मैदान बनाउन १४ लाख सहयोग दिएको थियो। अहिले मैदानलाई स्तरोन्नतीको कामहरू चरणबद्ध रुपमा अघि बढाइँदैछ।
टारी फुटबल क्लबले यस वर्ष पुष २३ देखि माघ १ सम्म प्रतियोगिता आयोजना गर्ने तयारी गरिरहेको छ। क्लबले पहिलो पटक आफ्नै मैदानमा फुटबल गर्दैछ। क्लबका अध्यक्ष साउदेनले भने, ‘यो हाम्रो लागि मात्र होइन, गाउँका फुटबलप्रेमीका लागि पनि ठूलो उपलब्धि हो। हाम्रो सपना आफ्नै मैदानमा प्रतियोगिता संचालन गर्ने थियो पुरा गरेका छौ।’ टारीले यस वर्ष खुल्ला, भेट्रान्स र यु–१४ को खेलहरू संचालन गर्दैछ।