इलाम । उद्योगी ब्यावसायीलाई इलाममा लगानीको वातावरण बनाउन इलाम नगरपालिकाले लगानी सम्मेलन गर्ने भएको छ । नगरकार्यपालिका बैठकको निर्णय अनुसार नगरपालिकाले आउदो भदौ अन्तिम साता लगानी सम्मेलन गर्ने भएको हो ।
समग्र जिल्ला र इलाम नगरपालिकामा देशभरका ब्यावसायीलाई उद्योग कलकारखानामा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले लगानी सम्मेलन गर्ने निर्णय नगर कार्यपालिका बैठकले गरेको छ ।
नगरपालिकाले कृषि , उद्योग , स्वास्थ्य, शिक्षा, पर्यटन र औषधीमा देशभरका उद्योगीलाई लगानी मैत्री बनाउन कार्ययोजना तयार पारी काम थालेको छ । बैठकले नगर प्रमुख महेश बस्नेत संयोजक तथा उप–प्रमुख सुशिला नेम्वाङ सह संयोजक रहेको समित निर्माण गरेको छ । समितिको सदस्या सचिवमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र खाम्याङ, सदस्यहरुमा १ नम्बर प्रदेशबाट कृष्णा शाह र संघीय राजधानीबाट अर्जुन भट्टराई रहनु भएको छ । समितिको पहिलो बैठकले उद्योगी ब्यावसायीलाई आर्कषित गर्ने गरी कार्ययोजना तयार गर्न बिभिन्न उपसमिति बनाएर जिम्मेवारी दिईएको छ ।
सम्मेलनमा उद्योगी ब्यावसायीलाई आर्कषित गर्ने गरी कार्यपत्र तयार गर्न नगरपालिकाले प्रदेशतफर्तका कृष्ण शाहलाई जिम्मा दिएको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत खाम्याङको संयोजक्त्वमा बनाईएको समितिले लगानीका श्रोत पहिचान गर्ने छ भने इलाम उद्योग बाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलको संयोजक्त्वमा गठित समितिले उद्योगी ब्यावसायीको पहिचान गर्ने छ । नगर प्रमुख बस्नेतले उद्योगी ब्यावसायीले इलाम आएर लगानी गर्दा उनीहरुलाई के कस्ता सुविधा दिने भन्ने छिट्टै टुंगो लगाउने बताउनु भयो । उहाले भन्नु भयो‘ब्यावसायीलाई आर्कषित गर्न कर देखि जग्गा खरिदमा लाग्ने शुल्क लगायतमा सुविधा दिईने छ’।
इलाममा उद्योगी ब्यावसायीले लगानी गर्ने थुप्रै संभावना रहे पनि उनीहरुलाई लगानी गर्ने वातावरण बनाउन नसक्दा उद्योगी आएर लगानी नगरेको प्रमुख बस्नेतले बताउनु भयो ।
कृषि र पर्यटनको प्रचुर संभावना रहेको इलाममा बाहिरका ब्यावसायीको लगानी भित्रयाउन सके नगर र जिल्लाको बिकासमा थप टेवा पुग्ने नगरपालिकाले अपेक्षा राखेको छ । लगानी सम्मेलन इलाममा या काठ्माण्डौम गर्ने नगरपालिकाले टुंगो लगाएको छैन् । नगर प्रमुख बस्नेतले सम्मेलनमा प्रधानमन्त्री , अर्थ मन्त्री , उद्योगमन्त्री र उद्योगी ब्यावसायी सहभागी हुने भएकाले उहाहरुको समय मिलाएर कार्यक्रमको कार्यतालिका बनाईने जानकारी दिनु भयो । कार्यक्रममा लगानीका लागि उद्योगी ब्यावसायीलाई आवहान गरिने छ ।
नगरका निर्णय सार्जजनिक
इलाम नगरपालिकाको नगरसभाले बिभिन्न निर्णय पारित गरेको छ । नगरसभाले नगरपालिकामा अपुग एक सय कर्मचारीको दरबन्दी थप गर्न संघीय सरकारलाई अनुरोध गरेको छ । हाल नगरपालिकामा १ सय ३० कर्मचारीले काम चलाउदै आएका छन ।
यस्तै नगरपालिकाले शिक्षा नियमावली आगामी नगर सभाले परिमार्जन गर्ने जनाएको छ । नगरपालिकाले इलाम नगरका ६३ वटै सामुदायीक बिद्यालयमा बिद्यालय ब्यावस्थापन समितिको छनौट गरीसकेको जनाएको छ । वडा समितिको सिफारिसमा नगरपालिकाले बिद्यालय ब्यावस्थापन समिति अध्यक्ष छनौट गरेको हो । साथै आगामी बैठकबाट सामाजिक सुरक्षा सम्बन्धि कार्ययोजना बनाउन वडा अध्यक्ष नुतनदेव दुलालको संयोजक्त्वमा समिति बनाएको छ ।
नगर सभाले ३३ बुँदा रहेको नगरपालिका जनप्रतिनिधि आचार संहिता समेत तयार पारेको छ ।
पेट्रोल डिजेलको प्रदुषण शुल्क नहट्ने
इलाम नगरपालिकाले लागु गरेको पेट्रोल डिजेलको प्रदुषण शुल्क नहट्ने भएको छ । नगर प्रमुख बस्नेतले संबिधान कानुन अनुसार प्रदुषण शुल्क लिन थालिएकाले उक्त शुल्क नटहने प्रष्ट पार्नु भएको हो । पछिल्लोपटक नगरपालिकाले नेपाल आयल निगमलाई पत्र लेखेर त्यस्तो कर लिइने जनाएको थियो । इलाम नगरपालिकाको आर्थिक ब्यवस्थापन ऐन, २०७५ मा प्रतिलिटर एक रुपियाँ इन्धनमा कर लिने ब्यवस्था गरिएको भएपनि हाललाई ५० पैसा मात्र उठाउने निर्णय गरिएको नगरपालिकाले सार्वजनिक गरेको पत्रमा जनाइएको छ । नगरपालिकाले डिजेल र पेट्रोलमा लिइने शुल्कलाई प्रदुषण नियन्त्रण शुल्क भनेको छ । प्रदुषण नियन्त्रण शुल्कको नाममा कर लिने कुरा सार्वजनिक भएपछि उक्त निर्णयको चौर्तफी बिरोध भैरहेको छ । स्थानीयले सामाजि संचालमा नगरको निर्णयको चर्को बिरोध गरेका छन् । नगरबासीले संघीयताको उपहार बढेको कर भनेका छन् । तर, नगर प्रमुख बस्नेतले नबुझि करको बिरोध नर्गन अनुरोध गर्नु भयो ।