फिक्कल । इलामको रोङ गाउँपालिका –३ मा सडक सौन्दर्यकरण कार्य गरिएको छ । कुटीडाँडा प्रतिक्षालय ब्यूटी फिकेसन स्पट लगायतका अन्य पूर्वाधारका कामहरु गरिएको हो । पाथीभरा मन्दिरको फेदीमा रहेको कुँटिडाँडा बजारमा आउने धार्मिक पर्यटकहरुलाई लक्षित गरेर सौन्दर्यकरणको कार्य गरेको वडाध्यक्ष मात्रिका बरालले बताए ।
कुटीडाँडासम्मको सडकलाई आकर्षक र व्यवस्थित बनाउन स्थानीय उपभोक्ता समिति र गाउँपालिका मिलेर योजना अघि बढाइएको उनले बताए । स्पटमा रात्रीकालिन दृश्यका लागि लाइट जडान गरिने उनले बताए । कुटिडाँडा लेखिएको लेटर र बस्ने प्रतिक्षालय निर्माण भएको छ । उपभोक्ता समिति मार्फत ६ लाख ९४ हजार ६ सय ५७ रुपैयाको लागतमा निर्माण भएको संरचनामा गाउँपालिकाले ६ लाख २० हजार ८ सय, समितिले ५४ हजार ६ सय ६७ रुपैया र कन्टेन्जेन्सी बापत १९ हजार २ सय लगानी भएको छ ।

बल बहादुर राउत नेतृत्वको समितिले गत जेठ २२ गते सम्झौता गरेर असार १५ गते कार्य सम्पन्न गरेको छ । सडक वरपर सौन्दर्यकरण, लेटर पेन्टिङ, रङ रोगन तथा सरसफाइका काम भएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोले बताए । भौतिक संरचना निर्माणपछि अहिले सो स्थानमा आन्तरिक एवम बाह्रय पर्यटकहरुले तस्बिर लिँदै विश्राम गर्न सक्ने छन् । मेची राजमार्गको किनारमा भएको कारण धार्मिक पर्यटकहरु उल्लेख्य मात्रामा देख्न सकिन्छ ।