सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित वडा कार्यलय तालगाँउदेखि घुम्तिडाँडा हुँदै धुवाँखोला जाने सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सुरु भएको छ।
आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारवाट विनियोजित ३ करोड रुपैयाँ बजेट अन्तर्गत स्थानीय पूर्वाधार विकास योजना कार्यालय, इटहरीका प्राविधिक टोलीले डिपिआरको काम अघि बढाएको हो ।

उक्त सडक योजनाका लागि इलाम क्षेत्र नं–१ का सांसद महेश बस्नेतले पहल गरेको वडा सदस्य कुमार गुरुङले जानकारी दिए। योजनाअनुसार वडा कार्यलयदेखि घुम्तिडाँडासम्म करिब १५ सय मिटर सडक ढलान गरिनेछ भने धुवाँखोलासम्म ग्याबिङ बाल ड्रेनवाल निर्माण गरिने सन्दकपुर गाउँपालिकाका प्राविधिक राजकुमार यादवले बताए।

स्थानीयवासीका अनुसार उक्त सडक स्तरोन्नत भएपछि आवतजावत सहज हुने र ग्रामीण क्षेत्रका कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्याउन सहजता हुने अपेक्षा गरिएको छ।
