इलाम । नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले देशभरका करिव ४० वटा सिनेमा हलहरूमा शनिवार सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । यो फिल्मले दर्शकको मन जित्दै बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको हो । नेपाली फिल्म क्षेत्रमा ५१ दिन प्रदर्शन हुनुलाई ठूलो सफलता मानिन्छ । विशेष गरी, नेपाली समाजको यथार्थपरक कथावस्तु, सशक्त अभिनय र सुमधुर सङ्गीतका कारण ‘ऊनको स्वीटर’ दर्शकमाझ लोकप्रिय बनेको छ ।
यसका निर्देशक नवीन चौहानले सफलताप्रति खुशी व्यक्त गर्दै दर्शक तथा शुभचिन्तकहरूप्रति आभार प्रकट गरेका छन् । निर्देशक चौहानले यो फिल्मले पाएको मायाले आगामी दिनमा अझ राम्रो काम गर्न प्रेरित गरेको बताए । ‘ऊनको स्वीटर’ ले ग्रामीण तथा सहरी दुवै क्षेत्रका दर्शकहरूलाई आकर्षित गर्न सफल भएको छ ।
हल सञ्चालकहरूका अनुसार, यो फिल्म हेर्न परिवारसहित आउने दर्शकहरूको सङ्ख्या उल्लेख्य रहेको छ । फिल्मले मिडिया समीक्षक तथा स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ, जसले गर्दा यसको चर्चा अझ बढेको छ । चौहानले नै यो फिल्मको स्क्रिप्ट लेखेका हुन् भने आर्टमाण्डूले निर्माण गरेको हो ।
विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । यसका गीत निर्देशक सुजन चापागाईँ हुन् भने सङ्गीत निर्देशक कोविद बज्र हुन् ।