पशुपतिनगर । इलामको फाकफोकथुमका दीपक र पदम तामाङलाई यतिबेला तामाङ समुदायको संस्कृति झल्कने डम्फु र टुङ्ना बनाउन भ्याइनभ्याइ छ । आफ्नो समुदायको संस्कार र संस्कृति झल्कने डम्फु र टुङ्ना बनाउन उनीहरु लागेको निकै भइसक्यो ।
स्थानीय स्रोतसाधनको प्रयोग गरी घरेलु तरिकाबाट डम्फु र टुङ्ना बनाउने काम यतिबेला फाकफोकथुमको कोल्बोटेमा भइरहेको छ । स्थानीय पदम तामाङ भन्छन्, “नयाँ पुस्ताले आफ्नो संस्कार, संस्कृति भुलिसके । उनीहरूलाई आफ्नो संस्कृति सिकाउन हामीले डम्फु र टुङ्ना बनाएका हौँ ।”
अहिले जिल्लाको फाकफोकथुम सहित सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा पनि तामाङ समुदायमा डम्फु र टुङ्ना बनाउने काम भइरहेको छ । यहाँको तामाङ समुदायले इलाम बजारमा माघ १७ गते मनाइने सोनाम ल्होसारमा सांस्कृतिक पुनर्जागरण अभियान प्रारम्भ गर्दै डम्फु र टुङ्नाको प्रदर्शन गर्दै छ ।
यसका लागि जिल्लाभरबाट सय थान डम्फु र १० थान टुङ्ना निर्माण गरिएको नेपाल तामाङ घेदुङ सङ्घ जिल्ला समन्वय समिति इलामका सचिव ईश्वरी तामाङले जानकारी दिए । २८६१ औँ नयाँ वर्ष अर्थात् सर्प वर्ष (सा पख्री) का अवसरमा इलाममा तामाङ समुदायले आफ्नो संस्कार र संस्कृति जोगाउने उद्देश्यले सांस्कृतिक पुनर्जागरण अभियान गर्न थालिएकोे सचिव तामाङले जानकारी दिए ।
आधुनिकताको विकाससँगै तामाङ समुदायले आफ्नो पहिचान नै बिर्सिएको हुँदा त्यसको संरक्षणका लागि अभियान सञ्चालन गरिएको उनले बताए । इलामका १० वटै पालिकाबाट डम्फु र टुङ्नासहित आफ्नो वेशभूषामा सजिएर तामाङ समुदायले नयाँ वर्ष मनाउनुका साथै सांस्कृतिक जागरण अभियान थाल्ने घेदुङ सङ्घ इलामका जिल्ला समन्वय समितिका अध्यक्ष दावा तामाङले जानकारी दिए । गोरखपत्रबाट