इलाम– तयारी चिया उत्पादनको यो मुख्य सिजनमा इलाम जस्बिरेका सरद सुब्बालाई फरक बासना र फरक स्वादको चिया कसरी बनाउने भन्ने कुराले व्यस्त बनाएको छ । बिहान सबेरै घरभन्दा माथि रहेको चिया कारखानामा पुग्ने सरद राति अबेरसम्म पनि घर झर्न भ्याउँदैनन् अचेल । कस्तो बासना र स्वादको चियाले चियापारखीको मन तान्न सकिन्छ, सरदको एक दिन–दुई दिन होइन, वर्षौं त्यही कर्ममा बितेको छ । पछिल्लो पटक काठमाडौंमा आयोजित ‘नेपाल टि च्यालेन्ज २०२४’ मा ‘बेस्ट टी मेकर’ घोषित भएका सरदलाई त्यो अवार्डले थप व्यस्त बनाएको छ ।
जो कोही पुगेपनि स्वादिलो चिया पिउन सकिने जस्बिरे चिया प्रशोधन कारखानामा सरदले बनाएको चियाको माग पनि उच्च छ । ‘यो वर्ष पनि माग भएजति चिया तयार गर्न त सकिन्न, दुई हजार किलो स्पेसल टीको माग छ, त्यति परिमाणमा बनाउन सकिन्न, एक हजारदेखि १५ सय किलो बनाउन सकिन्छ कि भन्ने छ,’ सुब्बाले भने, ‘हामी वार्षिक रूपमा पाँचदेखि छ हजार किलोमात्र स्पेसल टी बनाउँछौं ।’ स्पेसल चियाबाहेकको अर्थोडक्स चियाको माग पनि थेग्न मुस्किल भएको सुब्बा बताउँछन् । ‘हाम्रोमा ५० हजार किलो चियाको डिमान्ड छ तर हाम्रो कारखानाको क्षमता नै कम भएकाले २० देखि ३० हजार किलो दिन सक्छौं,’ सुब्बाले भने ।
सुनकेसरी, कोठीडाँडा ब्युटी, ऐंसेलु खर्क, रेडपान्डा आदि नाम दिएर राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पठाइने यहाँको चियाका विभिन्न ३५ भन्दा बढी प्रकारका नाम दिइएका छन् । ह्वाइट टी, ओलाङ, ग्रिन, गोल्डन, गोल्डेन पललगायत चिया सरदले तयार गर्ने गरेका छन् । ‘चियाको मुना टिपाइ, त्यसलाई जोगाएर टिप्नुपर्ने, सुइरोमात्र पनि टिप्नुपर्ने, बोटबाट कारखानासम्म ल्याउने समय, ट्रफमा राख्ने र सुकाउने समय, मेसिनमा हालेर रोलिङ गर्ने, वेदरिङ गर्नेलगायत प्रत्येक प्रोसेसमा एक–एक सेकेन्डको महत्व हुन्छ,’ सरद भन्छन्, ‘गुणस्तरीय तयारी चियाका लागि सबैभन्दा बढी कुन समयमा के गर्ने भन्ने कुरा र समयकै ख्याल गर्नुपर्ने हुन्छ ।’
चिया क्षेत्रमै सिपालु कहलिएका सरदले तयारी गरेको चिया विदेशीले पनि धेरै मन पराउने गरेको इलामको सुन्दरपानीस्थित गोर्खा टि स्टेटका सञ्चालक उदय चापागाईं बताउँछन् । ‘सरद त चियाको गहना हो, उनले पढेरभन्दा बढी आफूले प्रयोग गरेरै त्यति राम्रो र मीठो चिया बनाएका छन्, जुन स्वाद हरेक विदेशी वायरको जिब्रोमा झुन्डिन्छ,’ चापागाईंले भने, ‘मसँग आएका कतिपय वायर सरदकामा जान रुचाउँछन् र मैले त्यहाँसम्म लैजाने पनि गरेको छु ।’ साँच्चै चियाको क्षेत्रमा सरदजस्तो चिया बनाउने अर्को व्यक्ति खासै नभएको चापागाईंको बुझाइ छ ।
सरदले बनाउने उच्च गुणस्तरको चियाको अमेरिका, डेनमार्क, चीन, रुस, फ्रान्स र नेदरल्यान्डमा धान्न नसक्ने माग छ । ‘चीनका व्यापारीले यो वर्ष पनि चिया माग गरेका छन् । तर, मेरोमा त्यति परिमाणमा चिया हुँदैन,’ सरद भन्छन्, ‘कोभिड पछि यो वर्ष नेपाली चियाको अन्तर्राष्ट्रिय बजार निकै उत्साह जनक छ । यो वर्ष मेरोमा रसियाका एक नागरिकले आफै आएर बसेर चिया बनाएको हेर्नुभयो र आफैं पनि चिया बनाएर लानुभयो ।’ सानैदेखि बुबा–आमाले चिया बनाएको खुब मन पराउने सरदको मुख्य आकर्षण जवानीमा पनि चिया नै बन्यो । करिब ४० वर्ष उमेर पार गरिसकेका सरदलाई यति राम्रो चिया बनाउँदा पनि वैदेशिक रोजगारीले कहिल्यै तानेन । आफैं गाउँघरमा परिश्रम गरेर उदारण बनेका उनी चिया बनाउन सिकाउने प्राविधिकका रूपमा भने धेरै ठाउँ जाने गरेका छन् ।
सानै हुँदा पनि बुबा सूर्य सुब्बाले जस्बिरेमा खेती गरेको चिया टिप्ने, भट्टी बनाएर ओइलाउने, कपडामा पोको पार्ने र फुकाएर घाममा सुकाएर मगमग बासना आउने बनाउन खुबै रुचि राख्ने सरदलाई अन्ततः आफैं चिया कारखाना खोल्न परिवारले पनि साथ दियो । ‘कहिलेकाँही जिल्लाभित्रै हुने तालिममा चिया प्रशोधन सिकाउन जाने गरेको छु,’ सरदले भने, ‘एक पटक चियाकै १० दिने तालिम दिन म्यानमार पनि गएको थिएँ ।’ स्थानीय माई गुराँसे चिया प्रशोधन उद्योगमा चिया प्राविधिक भएर नौ वर्ष र त्यसपछि आफूसहितको लगानीमा घरछेउमा खुलेको सन्दफु चिया उद्योगमा चार वर्ष सरदले काम गरे ।
त्यसो त जिल्लामा रहेका दर्जनौं ठूला चिया प्रशोधन उद्योगका प्राविधिक भारतीय नागरिक छन् । नेपाली दक्ष जनशक्ति नहुँदा धेरै उद्योगहरुलाई भारतीय प्राविधिक राख्नु उनीहरूको बाध्यता पनि छ । तर, सरदले भने धेरै युवालाई चिया प्रशोधनको सीप सिकाइरहेका छन् । वृद्ध भएका बुबा सूर्य सुब्बा पनि सरदको कामबाट सन्तुष्ट छन् । लौरोकै सहारामा हिँड्ने सूर्यलाई दिनमा एक पटक चिया कारखाना नपुगी चित्त बुझ्दैन । ‘प्रयास गर्दा चाहिँ हुँदोरहेछ, रोजगारी गर्न विदेशी भूमिमै जानुनपर्ने रहेछ,’ सूर्यले भने, ‘यहाँ पनि सुख त छैन तर हाम्रो आँखा अगाडि पनि सरदले यति धेरै दुःख गरेको छ । उसको मेहनत देखेर खुसी लाग्छ ।’
दाजु गृष्म र भाइ निविकल्पले पनि सरदलाई साथ दिएका छन् । इलामको ब्ल्यिाँटेमा सरदले उत्पादन गरेको चियाको स्वाद चखाउन उनीहरूले ‘चिया घर’ नै निर्माण गरेर निःशुल्क चिया चखाउने गरेका छन् । ‘सरदले गरेको कामलाई सहयोग गर्न र इलाम आउने पाहुनालाई चियाको बारेमा जानकारी दिन पनि यहाँ चिया घर सुरु गरेका छौं,’ दाजु गृष्मले भने, ‘यहाँ आउने जो कोही पाहुनालाई निःशुल्क चिया चखाउने र चियाको बारेमा जानकारी गराउने गरेका छौं । कसैले चिया बगान र कारखाना घुम्न खोज्नुभयो भने घुमाउने व्यवस्था पनि गरेका छौं ।’
सरदले आफूले मात्र सफलता हात पारेका छैनन् । उनले आफ्नो बगानभन्दा बाहिरका किसानको चियासमेत प्रशोधन गरेर सहयोग गरेका छन् । विगतमा विदेशी संस्था नासा र आइओएमबाट अर्गानिक प्रमाणीकरण गरिएको हरियो चियाको मूल्य पनि सरदले किसानलाई राम्रै दिएका छन् । हरियो चियाको प्रतिकिलो ६५ रुपैयाँदेखि प्रतिकिलो एक हजार छ सयसम्म किसानलाई दिने गरेको सरद बताउँछन् । मुना हेरेर मूल्य निर्धारण हुने चियाको एक सुइरोको मात्र मूल्य प्रतिकिलो एक हजार छ सय रुपैयाँ छ ।
‘नेपालको सबै चिया अर्गानिक र उच्च गुणस्तरको बनाउन किसान–निजीस्तरबाट जति प्रयास भएको छ, त्यति प्रयास सरकारीस्तरबाटै भयो भने नेपाली चियाले विश्व बजारमा तहल्का मच्चाउन सक्छ,’ सरदले भने, ‘दुई वर्षअघि चीनमा भएको चिया प्रदर्शनीमा ग्रान्ड गोल्ड मेडल पाएको नेपाली चियालाई सरकारले खास चासोको विषय बनाएन, अर्गानिक चियाका लागि सरकारीस्तरबाट खास काम भएकै छैन ।’
कोकिला ढकाल/पालिका पेज