इलाम । इतिहास हेर्दा होस् वा वर्तमान नियाल्दा, इलामको खेलकुद रौनकमा कहिलै कमी आएन । प्राकृतिक छटाले भरिपूणर् इलामका लागि खेलकुद अर्को गौरवको बनेको थियो, बनिरहनेछ । केन्द्रमा मात्र लगानी गर्नु नेपाली खेलकुदको कमजोरी हो । खेलकुदमा भएको लगानी हेर्दा अवस्था छर्लङ्ग हुन्छ । राजधानीबाहिर छिटपुट प्रतियोगिता आयोजना हुन्छन्, त्यसै कारणले होला, लगानी पनि न्यून छ । यस्तो अवस्थामा मोफसलका जिल्लालाई खेलकुदमा टिक्नै चुनौती छ ।
जसोतसो प्रतियोगिता धान्ने, जिल्लास्तरका टिम बनाउने, खेलकुदका सामान्य गतिविधि गर्नेबाहेक जिल्लास्तरमा नौला गतिविधि देख्न बिरलै पाइन्छन् । काठमाडौं र मोफसलमा सुविधा र अवसरमा धेरै फरक छ । तथापि, मोफसलको गुण काठमाडौंले तिर्न सक्दैन । तर, मोफसललाई स्टारडम र परिपक्वतापछि मात्रै केन्द्रको सुविधा, प्रशिक्षण र अवसर प्राप्त हुन्छ । इलामको हकमा भने यो लागु हुँदैन । अभावका बीच पनि इलामले खेलकुद गरिमालाई उँचो राखेको छ ।
गोल्डकप र इलाम
२०१० अघि नै इलाममा फुटबल विस्तार भएकाले धेरै ठूला प्रतियोगिता हुनथाले । तत्कालीन बडाहाकिम महावीर समशेरका नाममा स्थापित महावीर सिल्ड, गजराज बुढाथोकीका नामको गजराज कप, ज्ञानी भक्तराजका नाममा सुरु गरिएको ज्ञानी मेमोरियल सिल्ड र कमल गजमेरका नाममा राखिएको कमल सिल्ड हुँदै भूकम्पपीडित कप फुटबल प्रतियोगितासम्मको इतिहास छ इलाममा । नेपालको राजनीतिक र सामाजिक परिवर्तनबाट इलाम पनि अछूतो रहेन । ०१६ पछि यो खेल बिस्तारै छायामा पर्न थाल्यो । सुरुआतमै नेपाली खेलकुदको मूलधारमा आउन लागेको इलामे फुटबल फेरि छायामा पर्यो ।
इलाममा आयोजना हुने माईभ्याली गोल्डकपको चार्म देखेर सबै लोभिन्थे । फुटबलको अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्व स्वयम् पनि लोभिन्छ । हरेक वर्ष हुने माईभ्याली गोल्डकप हेर्न एन्फा पदाधिकारी लर्को हुन्थ्यो । माईभ्याली गोल्डकपमा एकैदिन दर्शकबाट १४ लाख ५० हजार रुपैया भन्दा बढी संकलन भएको छ । १० हजार भन्दा बढी स्थानिय दर्शकले एकै दिन खेल हेरेका छन् । ‘आफ्नै घरको छतमा बसेर फुटबल हेरेको टिकट शुल्क तिर्छन् इलामे,’ नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्वअध्यक्ष उमेश गुरुङ भन्छन् ।
माईभ्याली गोल्डकप अहिले किस्सामात्र बनेको छ । कोभिड संक्रमणपछि आयोजना हुन छाडेको माईभ्याली गोल्डकप र इलामको चार्मलाई रेडहर्स फुटबल क्लबले धान्ने प्रयास गरेको छ । इलामका ग्रामीण क्षेत्रमा रहेका खेलाडी एकीकृत गर्दै नेपाल र भारतका विभिन्न प्रतियोगितामा सहभागिता जनाएको रेडहर्सले जिल्ला लिग फुटबलमा समेत एकछत्र राज गर्दैछ ।
खेल पूर्वाधार अभावको सम्बोधन गर्न कर्माछिरिङ शेर्पा एन्फा नेतृत्वमा रहँदा सूर्योदय नगरपालिकाको करफोकमा एकाडेमीको काम अघि बढाएपनि स्वामित्व विवादले सम्झौता अवधिमा काम भएन । बेलायत, अमेरिका लगायतका देशबाटमात्र होइन, गाँस कटाएरै भएपनि खाडी मुलुकमा हुने इलामेको पनि अपार माया छ इलामको फुटबलमा । इलाममा करिब डेढ सय हाराहारी फुटबल प्रतियोगिता हुन्छन् । जसका लागि, आवश्यक बजेटको धेरैजसो हिस्सा विदेशमा रहेका इलामेले संकलन गरेर पठाउँछन् । इलाममा गोल्डकपदेखि टोलकपसम्म कति प्रतियोगिता हुन्छन् भन्ने रेकर्ड छैन ।
अभावका बीच पनि फुटबल, भलिबल, कराते, चेसलगायत खेल इलाममा आयोजना भइरहेका छन् । त्यसो त, यी खेल इलामबाहिर आयोजना गर्न पनि सहज छ । तर, इलाम भनेपछि खेलाडीको जोस बेग्लै हुन्छ । ‘आयोजकको व्यवस्थापन र दर्शकको माया नै इलामको सम्पत्ति हो,’ राष्ट्रिय टोलीका पूर्वकप्तान विराज मर्हजन सधै अनुभूत गर्छन्, ‘इलाममा फुटबल खेल्ने भनेपछि बेग्लै उत्साह हुन्छ ।’ भरिभराउ दर्शकबाट आउने हुटिङ र आयोजकको व्यवहारले सधैं इलाम आइरहन मन लाग्ने धेरै राष्ट्रिय खेलाडी सुनाउँछन् ।
कराते र इलाम
हरेक वर्ष इलामको पूर्वी भेगमा अन्तर्राष्ट्रियस्तरको कराते आयोजना गरिन्छ । नेपाल, भारत, भुटान, बंगलादेशका खेलाडी सहभागी हुन्छन् । तर विडम्बना, आयोजनाका लागि गतिलो पूर्वाधार छैन । २०७५ चैतमा सातौं संस्करणको अन्तर्राष्ट्रिय प्रतियोगिता पर्यटकीय ‘श्रीअन्तु’ स्थित खुला मैदानमा आयोजना गरियो । त्यहीबेला पानी पर्यो । खेलाडी रुझेरै सहभागी भए । छैटौ संस्करणमा सहभागी एक सयभन्दा बढी खेलाडी र तिनका अभिभावकलाई समेत आयोजकले व्यवस्थापन गरेर राख्यो ।
२०४५ सालमा योगेश चाम्लिङको पहलमा इलाममा कराते भित्रिएको हो । उनकै प्रशिक्षणमा अहिले इलामका दुई सयभन्दा धेरै खेलाडीले दक्षिण एसियाका विभिन्न प्रतियोगितामा सहभागिता जनाएर मेडल ल्याएका छन् । गतिलो पूर्वाधार नहुँदा पनि इलामले कराते छोडेको छैन । झन्-झन् ऊर्जावान् खेलाडी उत्पादन गर्दैछ । योगेशकै उत्पादन सुस्मिता निरौला, विमोचना गुरुङ, सरोज निरौला, सुनिता श्रेष्ठ, सविन मगर, प्रीति बस्नेतजस्ता खेलाडी अहिले दुबईमा प्रशिक्षक छन् ।
महिला फुटबल
देशको महिला फुटलमा पनि इलामको योगदान मूल्यवान् छ । इलामको पूर्वी भेगको फिक्कल-पशुपतिनगर क्षेत्रबाट महिला फुटबल उदय भयो । यो क्षेत्रमा तत्कालीन समयमा महिलालाई फुटबल खेल्न सामाजिक परिवेश अनुकूल थियो । त्यसको फाइदा धेरै महिलाले लिए । कतिजना राष्ट्रियस्तरका खेलाडी बने । कतिपयले चाहिँ लामो समय फुटबललाई साथ दिन सकेनन् । रमा सिंहको नेतृत्वमा रहेको पहिलो नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा इलामका जुनु खड्का, संगीता राउत, जमुना पाण्डे समावेश थिए । उनीहरूबाट अन्य खेलाडीलाई पनि प्रेरणा मिल्यो ।
२०४० साल आसपास महिला फुटबलका लागि इलाम खेलाडीको हब नै थियो । २०४३ सालमा तेस्रो राष्ट्रिय महिला फुटबल जितेको मेचीको फुटबल टोलीमा १२ खेलाडी इलामका थिए । त्यही क्रमलाई पछयाउँदै रञ्जना दर्जी, संरचना प्रधान, एन्जिला सुब्बालगायतले महिला फुटबलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गरिसकेका छन् । उनीहरूको पदचाप पछ्याएर जेनिफर राना र प्रिया बस्नेतले नेपालको उमेर समूह फुटबलमा पाइला चाले ।
इलामले महिला फुटबलमा बोकेको अर्कोे गरिमा पहिलो राष्ट्रिय महिला टिम नै इलामको मैदानबाट तयार पारिएको हो । इलामको ठूलो टुँडिखेलमा भएको प्रतियोगिता नै नेपाली महिला फुटबल टिम तयार पार्ने आधार हो । सन् १९८६ मा हङकङमा भएको एएफसी वुमन च्याम्पियनसिपबाट नेपालले महिला फुटबलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइला चाल्यो । त्यो प्रतियोगिताबाट पहिलो पटक महिला खेलाडी छनोट गरिए । जसमा जुनु, संगीता र जमुनाले मौका पाए ।
रग्वीमा भविष्य खोज्दै
भित्रिएको छोटो समयै इलाममा रग्वीले फड्को मारेको छ । २०७९ सालमा रग्वी इलाम भित्रिएको हो । गंगाप्रसाद फियाक (बिजु) को नेतृत्वमा इलाममा रग्वी संघ गठन भएपछि गतिविधि हुन थालेका हुन् । २०७९ मंसिरमा काठमाडौंमा सम्पन्न यु-१८ एसियन रग्वी सेभेन्समा नेपालको राष्ट्रिय टोलीमा महिला तर्फका तीनजना इलामबाट थिए । पुरुषका दुईजना इलामका थिए ।
इलामका खेलाडीले सहभागितामात्र जनाएनन्, राष्ट्रिय टोलीको उपकप्तान भूमिकासमेत निर्वाह गरे । पुरुषतर्फ मनिष हिङमाङ र महिलाकी सुजा राईले उपकप्तान भूमिका पाएका थिए । विभागीय टोली त्रिभुवन आर्मीमा इलामको सूर्योदय नगरपालिका-९, पान्दामकी विशाका राई कप्तानको भूमिकामा छिन् । उनी नेपाली महिला राष्ट्रिय टोलीकी सदस्यसमेत हुन् । उनकै नेतृत्वमा नवौं राष्ट्रिय खेलकुदमा आर्मीले स्वर्ण जितेको थियो ।
इलामको चुलाचुली गाउँपालिका र माई नगरपालिकामा रग्वीका पालिकास्तरीय समितिसमेत छन् । माई नगर समितिको संयोजकत्वमा गतवर्ष जेठमा शुक्रबारे खेलमैदानमा यु-२० राष्ट्रिय रग्वी सेभेन्स सम्पन्न भएको थियो । जहाँबाट नेपालको राष्ट्रिय टोलीसमेत बनाइएको थियो ।
अन्य खेलमा पनि अब्बल इलाम
चेसमा नेपालबाट अन्तर्राष्ट्रिय आयोजकको मान्यता पाउने पहिलो व्यक्तित्व विदुर गौतमको गृहजिल्ला इलाम नै हो । उनकै पहलमा आठ वर्षअघि इलाममा १९औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा चौथो महिला राष्ट्रिय चेस च्याम्पियनसिप आयोजना भयो । जहाँ, नेपालका चर्चित फिडे मास्टरहरूको सहभागिता थियो । विदुरकै पहलमा गृहक्षेत्र मंगलबारेमा स्थापना भएको गजुरमुखी चेस क्लबले राष्ट्रियस्तरमा आयोजना हुने चेस प्रतियोगितामा इलामे खेलाडी सहभागी गराएको थियो । विदुरले आफ्नै लगानीमा स्वआमा टंकमाया गौतमको स्मृतिमा प्रदेशस्तरीय चेस आयोजना गरेका थिए ।
कोशी प्रदेश चेसको नेतृत्व इलामका सुरेन्द्र राईले गरिरहेका छन् । केन्द्रीय समितिमा इलामकै दीपेन राई उपाध्यक्ष छन् । क्रिकेट क्षेत्रमा हेमन्त राईले नेपाली उमेरसमूहको क्रिकेट खेलेका छन् । अहिले नेपाल क्रिकेट संघ ९ क्यान० मा कोशी प्रदेशको नेतृत्व गर्दै अर्जुन पौडेल केन्द्रीय सदस्य छन् । नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई सात वर्षसम्म नेतृत्व गरेकी विनिता बुढाथोकी र बास्केटबल खेलाडी विजय बुर्जाको गृहजिल्ला पनि हो इलाम ।
नेपाली राष्ट्रिय बास्केटबल टिमका कप्तान सधीश प्रधानको पनि सम्बन्ध इलामसँग छ । उनी फुटबलर धीरेन्द्र प्रधानका छोरा हुन् । प्रदेशमा हुने फुटबल, उसु, करातेलगायत विधामा इलामले उत्कृष्ट स्थान हासिल गर्दैआएको छ । देशका अन्य जिल्लामा संघ दर्ता भएर निष्क्रिय हुनेक्रम तीव्र हुँदा इलाका ११ संघले सक्रिय काम गरिरहेका छन् ।
२०७६ मंसिरमा सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुदमा इलाम स्थायी घर भएका छ खेलाडीले पदक प्राप्त गरे । जसमा, उसुकी जुनी राई र फुटबल छिरिङ गुरुङ १र१ स्वणर्, महिला फुटबलमा एन्जिला तुम्बापो सुब्बा १ रजत तथा बाँस्केटबलका विजय बुर्जा, बीच भलिबलकी विनिता बुढाथोकी र जुडोकी सुमित्रा राईले देशलाई कास्य पदक दिलाए ।
ओलम्पिक क्षेत्रमा समेत इलामले प्रमिला रिजाललाई पाएको छ । इलामको माई नगरपालिका-१०, चिसापानी लुम्बकी प्रमिलाले सन् २०१२ मा भएको लन्डन ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरिन् । ‘स्प्रिन्ट क्विन’ को उपमा पाएकी उनले २०६४ सालबाट लगातार पाँच वर्ष राष्ट्रिय प्रतियोगितामा च्याम्पियन छवि बनाइन् । एथ्लेटिकमा रोहित भट्टराईको परिवारले समेत महत्वपूर्ण योगदान दिएको छ ।
१९८५ को साग गेममा प्रतिनिधित्व गरेका रोहितकी श्रीमती सीता संग्रौला भट्टराई र छोरा सुमन भट्टराईले समेत साग गेम खेल्ने अवसर पाए । इलाम खेलकुद जगतमा धेरै उत्कृष्ट जिल्लाका रूपमा छ । कति इतिहास लेखिएका छन्, कति लेख्न छुटेका छन् । समयक्रमसँगै खोतलिँदै जानेछन् इतिहासका पात्र र सन्दर्भ ।
.