इलाम : विदेशबाट नेपाल आयातीत वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने मुख्य नगदे बाली चिया भने घटेको देखिएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ३१ करोड २२ लाख ५४ हजार रुपैयाँले चियाको निर्यात घटेको तथ्यांकले देखाएको हो। अघिल्लो आर्थिक वर्ष ०७९/८० मा ३ अर्ब ९३ करोड ७२ लाख ६६ हजार रुपैयाँको चिया निर्यात भएको थियो। तर गत आर्थिक वर्ष ०८०/८१ मा मा ३ अर्ब ६२ करोड ५ लाख १२ हजार रूपैयाँको निर्यात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकले जनाएको छ।
आर्थिक वर्ष ०७९/८० मा नेपालबाट १६ हजार ५ सय ९४ मेट्रिक टन चिया विभिन्न देशमा निर्यात भएकोमा गत आर्थिक बर्षमा १३ हजार ९ सय १६ मेट्रिक टन अर्थात् ७.९३ प्रतिशतले घटेको तथ्यांकमा उल्लेख छ। लागत अनुसार मूल्य नपाएपछि उत्पादकले चिया बिक्री नगरी स्टक राखेका कारण निर्यातमा कमी आएको सरोकारवाला बताउँछन्। नेपालबाट निर्यात हुने करिब ९० प्रतिशत बजार भारत हो। नेपाली चियाले औषतमा अन्तराष्ट्रिय बजारमा प्रति केजी २६० रुपैया पाउने गरेका छन्।
भारतले नेपाली चिया सस्तो मूल्यमा खरिद गरेर विश्व बजारमा आफ्नो ब्राण्डका रूपमा महँगो मूल्यमा बेच्दै आएको छ। पछिल्लो ५ बर्षमा आर्थिक बर्ष ०८०र८१ को निर्यात दोश्रो सबैभन्दा कम हो। आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ४३ करोड ४३ लाख रुपैयाँ बराबरको १२ हजार चार सय ९४ मेट्रिक टन चिया निर्यात भएको थियो। २०७७/७८ मा तीन अर्ब ७९ करोड ७१ लाखको ११ हजार नौ सय २० मेट्रिक टन चिया निर्यात भएको थियो।
यस्तै, आर्थिक बर्ष २०७९/८० मा ३ अर्ब ९३ करोड ७२ लाख ६६ हजार रुपैयाँको चिया निर्यात भएको थियो। भारत बाहेक नेपाली चिया जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेल्जियम, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, जापान चीन, अमेरिका, बेलायत लगायत देशमा निर्यात हुँदै आएको छ। तेश्रो देशमा करिब ५ प्रतिशत समेत निर्यात भएको छैन।
चियामा छैन प्रोत्साहनका कार्यक्रम
प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधा व्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चिया कमसल रहेको तथा मिसावटयुक्त रहेको जस्ता आरोप खेप्नुपरेको छ। यसले नेपाली चिया गुणस्तरमा अब्बल हुँदाहुँदै पनि अति नै न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताका कारण नेपाली चिया क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न नसकिरहेको सूर्योदय टी एसोसिएनका प्रवक्ता बुद्धभुषण योञ्जन बताउँछन्।
उत्पादन सुरु भएको १६० वर्ष नाघिसक्दा पनि नेपालमा चियाको उत्पादन तथा प्रशोधन प्रविधिसम्बन्धी विषयमा आवश्यक अनुसन्धानात्मक कार्य नहुँदा नेपालको आफ्नै चियाको जात एवं प्रविधि विकास हुन सकिरहेको छैन।
यस्तै चिया क्षेत्रमा आवश्यक बिजुली तथा सिँचाइ पूर्वाधारको कमी, भन्सार नाकामा निर्यात प्रवर्द्धनका लागि आवश्यक द्रुत गतिमा नतिजा दिनसक्ने अन्तर्राष्ट्रिय मापदण्डअनुसारको प्रयोगशाला नहुनु, अति नै न्यून विनियोजित स्रोत साधन, अन्य कृषिजन्य उद्योग सरह सहुलियत ऋण लगायतका सुविधाबाट नेपाली चिया क्षेत्र वञ्चित हुनुपरेको छ।

हालै अमेरिकाको लस भेगासमा आयोजित ‘विश्व चिया एक्सपो २०२४’ मा ‘उत्कृष्ट चिया’ को उपाधि जितेको सिद्धदेवी टी–स्टेट प्राइभेट लिमिटेडले विद्युतको समस्याका कारण खर्चिलो बन्ने भएपछि उत्पादन भएको चिया, कर्मचारीको तलब र खर्च नधान्ने हुँदा बन्द गर्नुपर्ने बाध्यता रहेको कम्पनीका मेनेजर एन्ड्रयु गार्डनरले बताए। कामदारलाई काम नदिएपछि बिहिबार मजदुर, ड्राइभर, सेक्युरिटी गार्ड, टिमेकरलगायतले अफिस परिसरमा ‘कि रोजगार देउ,कि विद्युत देउ’ भन्दै नेमप्लेटसहित धर्ना दिएका थिए।
झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा १५ हजारभन्दा बढी किसान चिया उत्पादनमा संलग्न छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालमा १४ हजार ७३२ चिया बगान छ। झापा र इलाम सबैभन्दा बढी चिया उत्पादन गर्ने जिल्ला हो। तर, चिया किसानलाई सरकारको सहुलियत दरको ऋण उपलब्ध छैन।चिया क्षेत्र सुधारका लागि ऋण नपाउँदा कतिपय किसानहरू विस्थापित हुँदै समेत गएका छन्।
‘२०५७ साल अघि चिया क्षेत्रमा धेरै राहत हुन्थ्यो। चिया रोपण, उद्योग स्थापना लगायतका धेरै कार्यमा ५० प्रतिशत अनुदान हुन्थ्यो।’ तत्कालीन चिया विकास निगममा चियाविज्ञका रुपमा काम गरेका चन्द्रभुषण सुब्बा भन्छन्, ‘चिया रोपणमा प्रोत्साहन हुन्थ्यो किसानहरूले उत्साहित भएर चिया रोप्न लाग्थे। चियासम्बन्धी सबै क्षेत्रमा कृषि विकास बैंकबाट सरल ब्याजदरमा ऋण उपलब्ध हुन्थ्यो। अहिले चियाले कृषि ऋण समेत पाउँदैन।’
२०७५ सालमा केन्द्रीय तथ्यांक विभाग र राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको संयुक्त अध्ययन अनुसार पाँच प्रतिशत मात्रै किसान तथा व्यवसायीले व्यावसायिक चिया खेतीका लागि ऋण लिएका पाइएको छ।