ताप्लेजुङ । फागुन १ देखि ३ गतेसम्म ताप्लेजुङमा मनाइने पाथीभरा महोत्सव तथा हिमालयन् गाइड्स पाथीभरा म्याराथनका लागि सदरमुकाम फुङ्लिङ रङ्गीचङ्गी बनाइएको छ ।
फुङ्लिङ बजारमा तुल, ब्यानर, स्वागतद्वार तथा ध्वजापतकाले रङ्गिन थालेको छ । नगरबासीले आ–आफ्नो क्षेत्र र टोलमा समूह बनाउँदै स्वतःस्फुर्त रुपमा नगरलाई सजिसजावट गरिरहेका छन् ।
मङ्गलबारबाट सुरु हुने महोत्सवका लागि आइतबार सम्ममा नगर क्षेत्रका अधिकांस भागलाई सजाई सकिएको छ भने बाँकी रहेको क्षेत्रमा सोमबार सजावटका कार्य सक्ने स्थानीयको तयारी छ ।
महोत्सव मूल समारोह समिति संयोजक डिल्लीजंग मादेनले महोत्सवको स्वागतका लागि स्वतःस्फुर्त रुपमा नगरबासीहरु लागि परेको जानकारी दिए। मादेनले नगरक्षेत्रका टोलबासी आफैंले तुल, व्यानर र ध्वजापतका लगाउनुका साथै ठाउँ–ठाउँमा स्वागतद्वार निर्माण भइरहेको बताए ।

कार्यक्रमस्थल नयाँ रणभीम गुल्मको खेल मैदानमा खाद्य परिकार, हस्तकला तथा सिल्पकला प्रदर्शनी कक्ष र औपचारिक कार्यक्रम स्थलको निर्माण कार्य सकिएको छ । महोत्सव मूल आयोजक समितिका सदस्यसचिव रणबहादुर कार्कीले महोत्सवका लागि सबै तयारी अन्तिम चरणमा पुगेको बताए ।
महोत्सवको पहिलो दिन कार्यक्रमस्थल तोक्मेडाँडा क्षेत्रबाट सुरु हुने कलश यात्रालाई सिद्धिडाँडास्थित चण्डेश्वर महादेव धाममा पुगेर टुङग्याउने गरी तयारी थालिएको छ ।
कलशयात्रा व्यवस्थापन उपसमितिका संयोजक युवराज गिरीले कलशयात्राका लागि तयारी सकिएको जानकारी दिए ।
उहाँका अनुसार तोक्मेडाँडाबाट सुरु हुने कलशयात्रा नगरको तल्लो भाग–वीरेन्द्रचौक–टुक्रे हुँदै सिद्धिडाँडासम्म पुग्नेगरी मार्ग तय गरिएको छ । टुक्रे बजार हुँदै गएको कलश यात्राको टोली माथिल्लो भागबाट पराजुली चौक हुँदै फर्कने बताइएको छ ।
कलशयात्रा पछि कार्यक्रम स्थलमा दिनभरका कार्यक्रम तय भएका छन् । बिभिन्न मनोरञ्नात्मक कार्यक्रमका साथ महोत्सवमा आउने आगन्तुकलाई स्वागत गरिने महोत्सव मूल आयोजक समितिले जनाएको छ । फागुन ३ गते बिहान म्याराथन प्रतियोगिता हुने छ । म्याराथन सहितका कार्यक्रमको अन्तिम दिन राष्ट्रपति बिद्यादेवी भण्डारीले तोकिएका पाथीभरा दूतहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम समेत तय भएको छ ।

यता साङ्गीतिक मनोरञ्जनका लागि कलाकार यम बराल सहित राष्ट्रिय लोक गायक÷गायिकालाई उपस्थित गराउने तयारी रहेको छ । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभीम गुल्मको आयोजनामा हुने कार्यक्रमको मुख्य प्रायोजक हिमालयन् गाइड्स टे«क्स एण्ड एक्सपीडीसन प्रालि काठमाडौँ रहेको छ ।
महोत्सवको पूर्वसन्ध्यामा सरसफाई
पाथीभरा पर्यटन महोत्सव नजिकिएसँगै ताप्लेजुङमा सरसफाई अभियान तीव्र पारिएको छ । आइतबार फुङ्लिङ नगरपालिकाको संयोजन तथा सोसल युथ गाईजको अग्रसरतामा फुङ्लिङ बजार क्षेत्रमा सफाइ गरिएको छ ।
नगरसँगै यहाँ रहेका मठमन्दिर तथा देवलहरुको सफाइ गरिएको फुङ्लिङ नगरपालिकाका योजना अधिकृत गणेश अधिकारीले जानकारी दिए । सरसफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीको सक्रियता रहेको थियो ।
उता पाथीभरा क्षेत्रमा पर्ने सेवारो चौकदेखि मन्दिर सम्मको पदमार्ग र आसपासका क्षेत्रमा पाथीभरा क्षेत्र विकास समिति साथै युवा आश फाउण्डेशनले संयुक्त रुपमा सरसफाई गरेका छन् ।
त्यस क्षेत्रमा ३७ जनाको टोली संलग्न रहेको सफाई अभियानमा मन्दिर जाने पदमार्ग र आसपास भएका प्लाष्टिकजन्य वस्तु साथै पेय पदार्थका बोतललाई सङ्कलन गरी नष्ट गरिएको पाथीभरा क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपानेले जानकारी दिए ।
दौडनलाई जुम्लाबाट ताप्लेजुङ
फागुन ३ गते हुने हिमालयन् गाइड्स पाथीभरा म्याराथनको खुल्ला तथा महिला हाफ म्याराथनमा सहभागिता जनाउन पश्चिम नेपालको जुम्लाबाट पाँच जना आएका छन् । जुम्लाबाट आउनेमा महिला हाफ म्याराथनमा दौडन तीन महिला र खुल्ला म्याराथनका लागि दुईजना पुरुष आइपुगेकाे महोत्सव मूल आयोजक समितिले जनाएको छ ।