Local Sandesh आइतबार, कार्तिक २३ २०८३
  • ट्रेण्डिङ :

डम्बरदेवी मावि चमैतामा आफ्नो मान्छेलाई नियुक्त गर्न सुचना लुकाएको आरोप

डम्बरदेवी मावि चमैतामा आफ्नो मान्छेलाई नियुक्त गर्न सुचना लुकाएको आरोप

  • सन्देश सम्वाददाता
  • बुधबार, पौस ४ २०८०


डम्बरदेवी मावि चमैतामा आफ्नो मान्छेलाई नियुक्त गर्न सुचना लुकाएको आरोप

फिक्कल । इलामको देउमाई नगरपालिका–१ चमैतामा रहेको डम्बर देवी माध्यमिक विद्यालयमा प्रधानाध्यापक र विद्यालय व्यवस्थपान समितिका अध्यक्षले आफु खुशी शिक्षक नियुक्ति गरेको आरोप लागेको छ । उनीहरु शिक्षक नियुक्तिका लागि खुलाएको आवेदन लुकाएर आफ्नो मान्छेलाई जागिर खुवाएको आरोप छ ।  स्थानीयले परिक्षाको दिन मात्र बोर्डमा सुचना राखिएको भएपनि हाल उप्काएर फालेको आरोप लगाएका छन् ।

सुचना लुकाएपछि विद्यालय स्वास्थ्य स्वयमसेवक, नगर अनुदान शिक्षक र नीजि श्रोतबाट एक÷एक जनाको मात्र निवेदन परेको भन्दै उनीहरुलाई नै नियुक्ति दिइएको छ । स्वास्थ्य स्वयमसेवीकामा अन्जना राई, नगर अनुदानमा पुष्पा कार्की र नीजि श्रोतबाट सुजता राईको मात्र निवेदन परेकाले उनीहरुलाई नगरमा परिक्षा गरेर नै नियुक्ति दिइएको प्रधानाध्यापक दिपेन्द्र पोखरेलले बताए । उनले आफुहरु माथि आएको आरोप निराधार रहेको समेत बताए ।

पोखरेलले विद्यालयले ७ दिने सुचना निकालेर नोट बोर्ड, वडा कार्यालय र नगर शिक्षा शाखामा जानकारी गराएको बताए । ‘२० गते सुचना निकालेर २७ गते परिक्षा गरिएको हो । प्रत्येक विधामा एक÷ एक जनाको मात्र फर्म आएको छ । ’ उनले भने ‘ विद्यालय स्वास्थ्य स्वयम सेवक पुङफुङको हुनुहन्थ्यो टाढा भएर राजीनामा दिएको हो । स्थायी सरह नभएर १५ हजार सुविधा लिने गरि हो ।’

यता वडाध्यक्ष मीनराज श्रेष्ठको भनाईसंग प्रधानाध्यापक पोखरेलको भनाई मेल खाँदैन् । श्रेष्ठले वडामा मंसिर ७ गते सुचना टास गरिएको बताए । उनले १५ दिने सुचना निर्णय गरेर वडामा एक प्रति पठाएको बताए । ‘ मंसिर ६÷७ गते विद्यालयको निर्णय अनुसार १५ दिने सुचना भएकाले वडामा पठाइएको थियो । सोही अनुसार टाँस गरेका छौ ।’ उनले भने ‘विद्यालयको सुचना अनुसार शिक्षा शाखाले तोकेको मितिमा परिक्षा गर्दा आवेदन परेको १÷१ जना मात्र हुनुहुन्थ्यो । सधै फेसबुकमा आउथ्यो यसपालिका किन आएन् भनेर मलाई पनि प्रश्न आएको थियो । वडाको सुचना पार्टीमा टासिएको जानकारी गराए ।’

उनले एक दिन अघि मात्र सुचना पार्टीमा टास गरिएको भन्ने आरोप मात्र भएको बताए । यसअघि विद्यालयले आफ्ना सुचना एवम कार्यक्रमहरु फेसबुक पेज मार्फत सार्वजनिक गर्दै आएको थियो । तर स्वास्थ्य स्वयमसेवीका (विद्यालय नर्स) र शिक्षक आवश्यकताको सुचना फेसबुक पेजमा हालेको पाइएन् । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले मनोमानी गरेको भन्दै शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर राईले हस्ताक्षर गर्न अस्विकार गरे ।

उनले आफुलाई मिटिङ बसेर शिक्षक नियुक्ति बारेमा कुनै जानकारी नभएको बताए । ‘ मिति हालेर मिति हालेर विज्ञापन खोल्ने निर्णय गर्नुभएछ । मिटिङ कहिले बस्यो भन्ने थाहा पनि थिएन् । नियुक्ति दिनका लागि मिटिङ बोलाएपछि गए ३ जनाले परिक्षा गर्ने सही गर्नुभएको रहेछ ।’ उनले भने ‘ अरुले सहि गरेको देखिन् । त्यसलाई मैले छलफलको बिषय बनाए प्रधानाध्यापकबाट तत्काल निर्णय गर्नुपर्ने भएकाले सुचना गर्न नपाएको जवाफ दिनुभयो । चित्त नबुझेपछि सहि गरेका छैन् ।’

थप जानकारीका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क राईलाई ९८०६०२४६५१ मा फोन सम्पर्क गर्दा उठाएर समेत काटे । त्यसपछि पटक पटक सम्पर्क गर्दा फोन उठेन् । यस बारेमा नगर शिक्षा शाखा प्रमुख रुपेन्द्र प्रसाद न्यौपानेसंग बुझ्दा उनले नगर अनुदानको परिक्षा मात्र नगरपालिकाले गर्ने बताए । उनले विद्यालय नर्स र नीजि श्रोतको शिक्षकको बारेमा थाहा नभएको बताए ।

‘ नगरपालिकाले अनुदान दिएर नियुक्त गर्ने शिक्षकको बारेमा मंसिर पहिलो साता विज्ञापन खुलाउन अनुमती दिएको हो । नगर अनुदानको शिक्षक नियुक्तिको परिक्षा पनि विव्यस अध्यक्ष, वडाध्यक्ष र प्रधानाध्यापकको रोहबारमा गरिन्छ । ’ उनले भने ‘विद्यालय नर्सको स्वास्थ्य शाखाले पठाउने हो परिक्षा लिने पनि स्वास्थ्य शाखाबाट नै हो । नीजि श्रोतको विद्यालयले आफैले कुन हिसाब राख्ने हो हामीले चासो राखेको हुँदैन् ।’

स्वास्थ्य शाखा प्रमुख विष्णु भट्टराईले विद्यालयले आवेदन खोलेपछि सहभागी भएकाहरुको परिक्षाबाट विद्यालय नर्स पठाएको बताए । उनले आवेदन खोलेकोमा एक जना मात्र सहभागी भएकाले परिक्षा गरेर नै उत्तिर्ण भएपछि पठाइएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार