इलाम । कोरोना माहामारीको अन्त्य भएपनि इलामका व्यापारिक केन्द्रहरुमा व्यवसायीक चहलपहल बढेको छैन । माहामारीका समयमा पेशाबाट विस्थापित भएका खुद्रा व्यवसायी पुन: व्यवसायमा फर्किन सकेको छैनन् भने अन्य व्यवसायीपनि मासिक खर्च धान्न सक्ने अवस्थामा पुगेका छ्र्रैनन् ।
माई नगरपालिका ४ निवासी नेत्र आचार्यले व्यापार गरेको २२ वर्ष भयो । हप्ताको ५ दिन हाट बजार धाउने आचार्यले कोरोना माहामारीपछि आफ्नो व्यवसाय पुरानो अवस्थामा फर्काउन सकेका छैनन् ।
हाटबजारमा दैनिक १० हजारको लत्ताकपडा बिक्रि गर्ने आचार्यले अहिले दैनिक ५ हजारको पनि बिक्रि हुँदैन । खगेन्द्र राईले कपडा व्यवसाय गरेको १५ वर्ष भयो । कोरोना माहामारी अघि दैनिक १५ हजारको कपडा बिक्रि गर्ने राईको पसलमा अहिले ५ हजारको बिक्रि हुँदैन । पसलबाट आम्दानी राम्रो नहुँदा राईलाई मासिक खर्च पुर्याउनै मुस्किल छ ।
कोरोना माहामारीको अन्त्य भएपनि बजारमा ग्राहाकको चहलपहल नहुँदा इलामका व्यवसायीको समस्या नेत्र आचार्य र खगेन्द्र राईको जस्तै छ । माहामारी नियन्त्रणका लागि लामो समयसम्म लकडाउन गर्दा कतिपय व्यवसायीले सटरको भाडा तिर्न नसकेर व्यवसायबाटै विस्तापित भएका थिए ।
माहामारीका बेला सटर भाडा तिरेर बसेका व्यवसायी पनि अहिले संकटमा छन् । दैनिक रुपमा हुने बिक्रिले सटर भाडा तिर्न पनि समस्या रहेको व्यवसायी पुनम सिटौला आचार्यले बताइन् ।
साप्ताहिक रुपमा लाग्ने हाटबजारमा मानिसको चहलपहल माहामारी अघिको तुलनामा कम रहेको व्यसायीको अनुभव छ । खुद्रा व्यवयास गरेर जिविकोपार्जन गर्ने व्यवसायीहरु अहिले त्यो पेशाबाट विस्तापित नै भइसकेको सूर्योदय नगर उद्योग बाणिज्य संघका महासचिव तोयानाथ भट्टराईले बताए ।
ग्राहाकको चहलपहल नहुँदा इलाम सदरमुकाम पनि प्राय : सुनसान हुने गरेको छ । इलामको सदरमुकाम इलाम, सूर्योदय नगरपालिकाको फिक्कल र माई नगरपालिकाको शुक्रबारे मानिसको बढी चलहपहल हुने बजार हुन् । तर यी बजारमा कोरोना माहामारिपछि मानिसको चहलपहल धेरै घटेर गएको इलाम उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण पौडेलले बताए । अहिले बजार आउने उपभोक्ताको संख्या नै कम भएको उद्योगी व्यवसायीको भनाइ छ ।