नयाँबजार । इलामको माईजोगमाई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) को जारी ‘जनतासँग माओवादी विशेष रुपान्तर अभियान’ को समिक्षा गरिएको छ । पार्टीले गत १६ भदौदेखि सुरु गरेको अभियान अन्तरगत माईजोगमाई गाउँपालिकाको समिक्षा गरिएको हो । माओवादी केन्द्र गाउँपालिका कमिटीका उपाध्यक्ष झुलेन्द्र पौडेलको अध्यक्षता र केन्द्रीय सदस्य एवम् अभियान इन्चार्ज केपि बरालकोको प्रमुख आतिथ्यतामा बैठक गरी अभियानको समिक्षा गरिएको हो ।
समिक्षा कार्यक्रममा अभियान इन्चार्ज केपि बराल जिल्ला समन्वय समितिका अध्यक्ष बिजय खम्बु लगायतले अभियानको समिक्षात्मक टिप्पणी गरेका थिए । बैठकले माईजोगमाई गाउँपालिकामा अभियान प्रभावकारी रुपमा संचालन गर्नका लागि अझ सशक्त भएर लाग्ने निर्णय गरेको छ ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नारासाथ संचालन भईरहेको अभियानको क्रममा यतिबेला माओवादी नेताहरु टोलटोलमा पुगेसँगै समिक्षात्मक बैठकको अवसरमा विभिन्न पार्टी परित्याग गरि २५ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टी प्रवेश र समिक्षात्मक बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अभियान इञ्चार्ज केपि बरालले अहिलेसम्मको राजनीतिक परिवर्तनको नेतृत्वकर्ता माओवादी केन्द्र भएकाले अब अवस्था परिवर्तनका लागि तीन महिने अभियान संचालन गरिएको बताए । उनले जनताको आर्थिक अवस्था सुधारका लागि आर्थिक क्रान्ति र समाजवादी क्रान्ति सँगसँगै हुने बताए । बैठककमा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिजय खम्बुले व्यवस्था परिवर्तनका लागि पार्टीले अहिलेसम्म ध्यान दिएको र अब जनताको अवस्था परिवर्तनका बारेमा पार्टीले अभियान संचालन गरि सुझाव संकलनको काम गर्दै आएको बताए ।

बैठकमा अभियानको वडा इञ्चार्ज, अध्यक्ष, सचिव, पालिका पदाधिकारीको उपस्थिति रहेको थियो । बैठक पालिका सचिव देवी सिवाकोटीले संचालन गरेका थिए । १५ मंसिरसम्मका लागि तीन महिने अभियान सुरु गरेको माओवादीले एक महिना थप गरी १५ पुससम्मका लागि अभियान संचालन हुनेछ ।