Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय क्षेत्र ढापपोखरीको काखमा कागे मेला (तस्बिरहरु)

पर्यटकीय क्षेत्र ढापपोखरीको काखमा कागे मेला (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • शुक्रबार, मंसिर १ २०८०


पर्यटकीय क्षेत्र ढापपोखरीको काखमा कागे मेला (तस्बिरहरु)

सन्दकपुर (जमुना) हरेक वर्ष इलामको सन्दकपुर गाउँपालिकामा हुँदै आएको कागे मेला यस वर्ष उत्साहाका साथ सम्पन्न भयो । कोरोना महामारीका कारण सुस्त भएको ऐतिहासिक कागे मेलाले यस वर्ष ग्रामीण क्षेत्रको अर्थतन्त्र नै चलायमान बनायो । इलामको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिका ५ को जमुनामा आयोजना हुने कागे मेलाले तिहारको बहार लिएर आउँछ र कागतिहारको दिन समापन हुन्छ ।

विगत ३७ वर्षदेखि हरेक वर्ष ठूलो फुटबल प्रतियोगिता र केही वर्ष अघिदेखि अन्तर्राष्ट्रिय आमन्त्रणसमेतमा फुटबल प्रतियोगिता कागे मेलामा हुँदै आएको छ । कागे मेला शुरुवाती दिनमा भानुदय खेलमैदानबाट शुरुवात भएको थियो । तर अहिले मेला नयाँ ठाउँमा लागेको छ । स्थानीय तोयानाथ भट्टराईले जुमनाको मुटुमा रहेको आफ्नो १४ रोपना जग्गा दान दिएपछि मैदान बनाएर त्यहि मैदानमा उल्लासका साथ मेला आयोजना गरिएको थियो ।

गाउँपालिकाले दान दिएको जग्गामा थप १० रोपनी जग्गा खरिद गरेर मैदान बनाएर कागे मेला र फुटबल प्रतियोगिता एक साथ हुँदै आएको छ । खेल मैदान ढापपोखरीको काखैमा छ । महिलाहरुको प्रतियोगिता कम हुने अवस्थामा कागे मेलाले बेला बेला महिलाहरुको फुटबल प्रतियोगितालाई पनि प्रोत्साहित गर्दै आएको छ । बेला बेला मैदानमा महिला र पुरुषतर्फ दुवैको फुटबल प्रतियोगिता हुने गरेपनि यस वर्ष पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको हो ।

माइभ्याली गोल्डकपपछि इलामकै प्रतिष्ठित यस प्रगियोगिताबाट जन्मिएका छिरिङ गुरुङ, दर्शन गुरुङ, लोकबन्धु गुरुङजस्ता खलाडीले राष्ट्रिय फुटबल टिममा स्थान बनाएका छन् । जसका कारण कागे मेलाले नेपाली फुटबल खेलमा योगदान गरेको सन्दकपुर ५ का वडा सदस्य कुमार गुरुङले बताए । नजिकैको ढापपोखरी, हरियाली चियाबारी, वरिपरिका डाँडाकाँडा र जंगलको चिसो हावामा रमाउँदै हजारौले यस वर्षको कागे मेलाबाट मनोरञ्जन लिएका छन् । कागे मेलाको नयाँ मैदानका साथ धापपोखरीले पनि मेलालाई साथ दिएको हो । स्थानीयले नै अनुदानमा दिएको ५५ रोपनी जग्गामा अहिलो धाढपोखरी पर्यटकीय गन्तव्य बनेको छ ।

ढापपोखरीमा पहिले बोटिङको सुविधा भए पनि अहिले त्यो सुविधा छैन । कागे फुटबल प्रतियोगितामा नेपाल र भारतका फुटबल क्लबहरुको सहभागिता हुन्छ । ढापपोखरी अनि चियाबारीमा यस वर्षको हजारौँ पर्यटकहरु रमाएका छन् । १० दिनसम्म लागेको मेलामा १० हजार बढी पर्यटकहरुको उपस्थिति रहेको वडाअध्यक्ष यज्ञ गुरुङले बताए ।
कागे मेलाको इतिहास
कागे मेलाको इतिहास पञ्चायत शासनकालकै बेला देखिको हो । सन्दकपूर ५ जमुनाको इङ्ला स्थायी घर भएका नेकपा एमालेका सचिव उमेश गुरुङ्गका अनुसार कागे मेला २०४२÷४३ सालबाट सुरु भएको हो । मेलाको संस्थापकको रुपमा तत्कालिन उप–प्रधानपञ्च खिमराज गुरुङ हुन् । तिहारको मनोरञ्जनको आयोजना गरौँ भन्ने योजना उनै उप–प्रधानपञ्चले योजना गरेका थिए । पञ्चायतको बेला सबै नागरिकको उपस्थितिमा जनश्रमदानबाट भानुदय माध्यमिक विद्यालयको प्राङ्गणमा खेल मैदान निर्माण भएको थियो ।

अनिवार्य श्रम गर्नुपर्ने नियमले गर्दा डाँडामा खेल मैदान निर्माण भएपछि २०४२ सालमा फुटबल शुरु भएको उमेश गुरुङ बताउँछन् । उनी भन्छन्–‘ तत्कालिन उप–प्रधानपञ्च खिमराज गुरुङ श्रीमति भद्रकुमारीको मृत्यु भएपछि शोकमा परे । उप–प्रधानमञ्च खिमराज गुरुङ खेलप्रेम भएकाले शोकलाई शक्तिमा बदल्न कागे मेलाको आयोजना गरेको हो ।’ औपचारिक रुपमा उप–प्रधानमञ्च खिमराज गुरुङले २०४३ सालबाट कागे मेलाको आयोजना गरेका थिए ।

त्यसबेला जिल्ला सदरमुकाम इलाम बजारमा मात्रै रनिङ सिल्ड फुटबल प्रतियोगिता हुँदै आएपनि पहिलो पटक दुई वर्ष लगातार एकै क्लब फुटबल प्रतियोगितामा जीत हासिल गरेमा सिल्ड पच हुने व्यवस्था रहेको गुरुङले बताए । इलाममा कमल सिल्ड र रनविर सिल्डको आयोजना हुन्थ्यो उनी भन्छन्–‘ सुन र चाँदी मिसाएर बनाएको सिल्ड गाउँमा प्रथम पटक नै जमुनाबाट भित्रिएको पाइन्छ ।’ रनिङ सिल्ड राखेर फुटबल प्रतियोगिता र मेलाको आयोजना भएकाले नेपालका विभिन्न क्षेत्र, भारतको सिक्किम र दार्जिलिङबाट सिल्ड हेर्नकै लागि मानिसहरु आउने गरेका थिए । चाडपर्वको बेला मेला लाग्ने भएकाले बिस्तारै प्रचारप्रसार भएको पाइन्छ ।

 

‘त्यतिबेला यसो भेला हुने, रमाइलो गर्ने, युवायुवती गानाबजाना गर्ने गर्दै गर्दा पनि मेलाको रुपमा विकसित भएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको भनाइ छ । तत्कालिन उप प्रधानपञ्च खिमराज गुरुङ उदार मनका र बालबच्चा भेला गरेर फुटबल खेलाउँथे । त्यसमाथि तिहारको रौनक लाग्दै गर्दा उनले यस्तो खेल गराउने गरेका कारण मेलामा उपस्थितिहुनेका संख्या पनि बाक्लो हुने गरेको अध्यक्ष गुरुङ स्मरण गर्छन् ।

खिमराज पञ्चायत कालमा उप–प्रधानपञ्च भएकाले गाउँमा उनको प्रभुत्व पनि राम्रो थियो । सन्दकपूर गाउँपालिका निवर्तमान अध्यक्ष उदय राईका अनुसार ‘त्यतिबेला यसो भेला हुने, रमाइलो गर्ने, युवायुवती लाच्ने गाउने गर्ने गर्दै गर्दा पनि मेलाको रुपमा विकसित भएको हो । मेलामा भेला भएका मानिसलाई खिमराजले फुटबल प्रतियोगिता गराउने गरेको इतिहास रहेको राईको भनाइ छ । जमुनामा फुटबलको सुरु यसरी नै भएको पाइन्छ ।

यसले पछि गएर मात्र कागे मेलाको नाम पाएको हो । त्यतिबेला खेल चाहिँ काग तिहार पछि मात्र हुन्थ्यो,’ वडाअध्यक्ष यज्ञ गुरुङ भन्छन्– ‘काग तिहारबाट सुरु हुने भएर कागे मेला हुन थालेको हो, तर अहिले काग तिहारको दिन यो मेलाको समापन हुने गरेको छ ।
पहिले मावु, जमुना, माइमझुवा, सुलुबुङ लगायतका ठाउँको क्लबको सहभागितामा खेल हुन्थ्यो । त्यस बेला दुई तीन दिन खेल गराएपछि प्रतियोगिता सकिन्थ्यो । तर अहिले चाहिँ प्रतियोगितामा जिल्लाभरिका धेरै टिम प्रतिस्पर्धामा हुन्छन् र १० दिनसम्म आयोजना भएको हो ।

त्यसैले काग तिहारपछि भाइटीकासम्ममा खेल नसकिने भएकाले यमपञ्चकको पहिलो दिन खेल सकिनेगरी मेला आयोजना हुने गरेको हो । भानुदय माध्यमिक विद्यालयको खेल मैदानमा लाग्दै आएको मेला र फुटबल प्रतियोगिता अहिले निर्माणाधिन धनमाया गजाधर भट्टराई रङ्गशालामा हुँदै आएको छ । स्थानीय सरकारको गठन भएपछि सन्दकपुर गाउँपालिकाले यो रङ्गशाला निर्माणको काम थालिएको थियो ।
कागेले जन्माएका फुटबलका राष्ट्रिय खेलाडी
नेपाली फुटबलको क्षेत्रमा क्लासिक डिफेन्डरको छवि बनाएका एन्फा एकाडेमीको पहिलो ब्याचका लोकबन्धु गुरुङ, छिरिङ गुरुङ हुँदै राष्ट्रिय लिगका उत्कृष्ट दर्शन गुरुङ सन्दकपुरकै हुन् । सेभेन साइड मैदानबाट फुटबल जगतमा उठेका उनीहरुको गाउँमा ११ जना खेल्न मिल्ने फुटबल मैदानको प्रयास हुँदैछ । सन्दकपुर–५ जमुनाका फुटबल प्रेमीहरूको सक्रियतामा अहिले खेल पर्यटन विकासका निम्ति इलाभेन साइड मैदानको काम गाउँपालिकाको पहलमा निर्माण शुरु भएको थियो ।

 

 

शुरुवाती चरणमा मैदान बनाउन गाउँपालिका र प्रदेश सरकारले लगानी थपेको छ । प्रदेश सरकारको १५ लाख र सन्दकपुर गाउँपालिकाको २० लाख रुपैयाँँ लागतमा गजाधर धनमाया रंगशालाको काम शुरुवात भएको थियो । अहिले २५ रोपनी क्षेत्रफलमा रंगशालाको कामलाई अघि बढाइएको हो । नेपाली कांग्रेसका नेता तोयानाथ भट्टराईसँग १५ लाख रुपैयाँँमा १८ रोपनी जग्गा किनेर रंगशाला बनाउने काम अघि बढाइएको थियो । पछि भट्टराईले ७ रोपनी जग्गा निःशुल्क दिएका थिए ।

रंगशाला निर्माणका लागि शुरुवाती चरणमा प्रदेश र स्थानीय सरकारबाट ३५ लाख रुपैयाँ, स्थानीय बासिन्दाबाट ८ लाख र फुटबल प्रेमीहरुबाट १ लाख ४५ हजार रुपैयाँ संकलन भएर काम भएको थियो । इलामको फुटबल इतिहास बोकेको कागे गोल्डकप स्थानीय भानुदय आधारभूत विद्यालयको खेलमैदानमा संचालन हुँदै आएको थियो । तर अहिले खेल मैदान निर्माणपछि सोही मैदानमा खेलकुद र मेला लागेको थियो ।

कागे गोल्डकपले खेलकुदको माध्यमबाट नेपाल–भारत सम्बन्धलाई समेत जोड्दै आएको छ । यो क्षेत्रबाट दार्जिलिङ नजिक भएको कारण जमुनाका खेलाडी फुटबल खेल्न जाने र महिनौंसम्म बस्ने गरेका छन् । जमुनामा प्रत्येक वर्ष तिहारको बेला लाग्ने कागे मेला र सो अवसरमा हुने फुटबलमा पनि भारतको दार्जिलिङ र अन्य क्षेत्रबाट धेरैजसो टिम आउने गरेका छन् ।

सन्दकपूर ५ का पूर्व वडाध्यक्ष जीतबहादुर साँवाका अनुसार ‘जमुना फुटबलको ब्रान्ड भएर पनि वडाको खेलमैदान नभएकोले विद्यालयको सानो मैदानमा हुँदै आएको थियो, तर यो रंगशाला निमार्ण सम्पन्न भएपश्चात विद्यालयको मैदानमा फुटबल खेलाउनु पर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार