इलाम । उन्नत जातका गाईपालनमा वृद्धि भएपछि इलामको फाकफोकथुम गाउँपालिकामा डेरी उद्योग स्थापना हुने क्रम बढेको छ । डेरी उद्योगमा स्थापना भएपछि स्थानीय युवा युवतीले गाउँमै रोजगारी अवसर पाएका छन् । फाकफोकथुम १ का प्रेम बहादूर बोहोराले डेरी उद्योग संचालन गरेको १० वर्ष भयो । २ सय लिटर दूध संकलनबाट शुरु भएको डेरी उद्योगमा अहिले ८ सय लिटरसम्म प्रशोधन हुन्छ । ३ जना युवाले प्रत्यक्ष रोजगारी पाएको डेरी उद्योगमा ४५ जना किसानले दूध बिक्रि गर्दै आएका छन् ।
फाकफोकथुम ७ को इन्दिरा डेरी उद्योगमा दैनिक ५ सय लिटर दूध प्रशोधन हुन्छ । डेरी उद्योगमा २ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । गाउँमै रोजगारीका अवसर दिने फाकफोकथुम गाउँपालिकामा मेरिसा र इन्दिरा डेरी उद्योग मात्रै होइनन् । व्यवसायीक रुपमा गाई पालन हुँदै आएको फाकफोकथुमा दूध उत्पादनमा वृद्धि आएसँगै प्रशोधनका लागि डेरी उद्योग खुल्ने क्रम बढ्दो छ ।
दूध प्रशोधनबाट घिउ र छुर्पी तयार हुन्छ । डेरी उद्योग स्थापना हुने क्रम बढेपछि ग्रामीण क्षेत्रमा रोजगारीका अवसर पनि थपिएका छन् ।
गाउँका युवा युवतीले डेरी उद्योगमा रोजगारीसँगै सीप पनि सिकिरहेका छन् । डेरी उद्योग खुल्ने क्रम बढेपछि पशुपालनमा पनि युवाका आकर्षण बढेको छ । फाकफोकथुम गाउँपालिकाको मुख्य आयश्रोत अहिले पशुपालन भएको हो । फाकफोकथुम गाउँपालिकामा १ सय ४५ वटा डेरी उद्योगहरु दर्ता भई संचालनमा रहेका छन् । दर्ता नभएका डेरी उद्योग ४० वटा बढी रहेका छन् । एक डेरी उद्योगमा २ जनादेखि ५ जनासम्मले रोजगारी पाएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए । डेरी उद्योगमा गाउँपालिका, प्रदेश र संघीय सरकारले डेरी प्रवद्र्धन कार्यक्रम, प्रविधि हस्तान्तरण र सीप मुलक तालिम प्रदान गर्दै आएका छन् । डेरी उद्योगमा उत्पादित घ्यु र छुर्पी नेपालको आन्तरिक बजारसँगै भारत र युरोपियन देशमा पनि निर्यात हुने गरेको छ ।